रागिनी रङ

रागिनी रङ

सन् १९७८ । लखनउ । ललितकला पढ्न गएकी थिइन् रागिनी उपाध्याय । भारतको इलाहाबादमा रहेको गल्र्स स्कुलबाट हाइस्कुल सकेर । अझै देखेकी थिइनन् दुनियाँको सक्कली अनुहार । लखनउले एकाएक परिचित गरायो । बाटोघाटोमा, कलेजको क्लासदेखि चौरमा जहाँसुकै उरन्ठेउला केटाहरूले जिस्क्याउँथे ।

नेपालकी यी आँटिली केटी शिर निहुराएर लुरुलुरु हिँड्ने खालकी थिइनन् । जुध्थिन् । प्रतिकार गर्थिन् । पटकपटक कलेज प्रमुखसँग कम्प्लेन पनि गर्थिन् । चिफ भने चुप लागेर बस्ने सल्लाह दिन्थे । इलाहाबादको गल्र्स स्कुलमा स्वतन्त्रता भोगेकी रागिनीलाई एकाएक संसार साँघुरिएजस्तो लाग्यो । आफू बाकसमा बन्द भएझैं । अनि उनले आफ्ना भोगाइलाई चित्रमा उतारिन् ।

बाकसभित्र बन्दी महिला र बाहिर फणा उठाइरहेका काला सर्पहरू । ‘मैले आफैंलाई बाकसभित्र बन्द भएको महसुस गरेँ त्यति बेला ।' चित्र व्याख्या गर्दै रागिनीले सम्झिन् । अनि सर्पहरू ? कुनै बेला सर्पलाई निधारमा टाँसेर हिँड्ने यिनको सर्पबोध पनि बेग्लै छ । अर्थ लगाइन्, ‘सर्प इच्छाका प्रतीक हुन् । काला सर्पहरूले खराब इच्छालाई बुझाउँछन् ।' व्यभिचार बोकेका काला सर्पहरूबाट बाकसमा थुनिनु परेका महिलाहरूको चित्रले अझै पनि उत्तिकै अर्थ राख्छ किनभने फेरिएको छैन सर्पको रङ ।

जीवनको त्यो क्षणदेखि यो क्षणसम्म यसैगरी चित्रमार्फत जुधिरहेकी छन् रागिनी । त्यति बेला भर्खरकी युवती थिइन् । छोरी थिइन् । अहिले परिपक्व महिला भएकी छन् । र, व्यथित आमा । जिन्दगी कहाँ सोचेजस्तो छ र ?

‘जिन्दगी त जंगल हो', दार्शनिक बन्छिन् उनी, ‘अँध्यारो छ यो । बाटो खोज्दै हिँड्नुपर्छ । जंगलमा अँध्यारोमात्र छैन, यहाँ रंगीन सपना र हजार सम्भावना पनि छन् ।' यस्तै भावको चित्र नै बनाएकी छन् उनले उति बेलै लखनउमै पढ्दा, ‘रनिङ इन्टु द लाइफ अफ फरेस्ट' । ‘चराहरू उडानका प्रतीक हुन्, मयूर सपनाको विम्ब । जीवनको दौडमा सधैं हतारमा कुदिरहनुपर्छ । जंगलमा छिटो कुदिरहेको जस्तो देखिने घोडा यसैको प्रतीक हो', अथ्र्याइन् चित्र ।

जिन्दगीको यो जंगलमा धेरै कुदिन् उनी । देखिन् हजार सपना । खेलिन् रंगहरूसँग । जुधिन बाधा र विघ्नसँग । यी भोगाइलाई उतारिरहिन् क्यानभासमा । पोतिरहिन् रंगहरूले । बोलिरहिन् चित्रको मुख गरेर । उनको अथक् यात्राको सँगालो अस्ति भर्खर किताबका रूपमा आएको छ । ‘रागिनी उपाध्यायः अ लिडिङ मोडर्न नेपाली आर्टिस्ट' नाममा । मदन चित्रकार र बिना सरकारले तयार पारेको । तर, यो लेखनी किताब चर्चा होइन । यो त उनका रंगहरूमा छ्यापिएको जीवन अनुभूति खोतल्ने प्रयासमात्र हो ।
०००
छोरीलाई पढाउने चलन थिएन उति बेला । उनका बा फरक निस्किए । इलाहाबाद गल्र्स स्कुलको होस्टलमा राखिदिए । छोरीले पढोस् भन्ने चाहन्थे उनी । तर, छोरी भने पढाइमा सधैं कमजोर । न म्याथ आउने, न इकोनोमिक्स । ‘के गरेर खान्छे तिम्री छोरीले ? ' हरेक छोरी भेट्न गएका बालाई सिकायत गर्थे प्रिन्सिपल ।

तर, केही त थियो रागिनीभित्र पनि । देखाइदिइन् त्यो खुबी । ८ कक्षा पढ्दा जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर ठूलो सिल्ड स्कुल ल्याएपछि उनलाई हेर्ने दृष्टिकोण नै फेरियो । उनको त्यो खुबी चिनेकी थिइन् उनकी कला शिक्षिकाले । ‘तिनले मेरो दिमागमा कीरा हालिदिएकी थिइन्, फाइन आर्टको कीरा ।' त्यही किरा निकाल्न उनी लखनउ पुगिन् । घरमा जसोतसो बाआमालाई सहमत गराएर ।

पढाइका सुरुआती दिनहरू सजिला थिएनन् । छोरी पढाउने भनेर कुरा काट्थे मान्छेहरू । छोरीलाई पढाएपछि अनुहारमा फोहोर गर्दिन्छे भन्थे मुखैसामु । १६÷१७ की उनी रुँदै आउँथिन् बासँग । बा भन्थे, तिनीहरूको कुरा नसुन । मान्छे भनेका त हात्तीजस्तो हुनुपर्छ । हात्तीलाई स्याल, फ्याउराहरूले भुक्छन् तर टाढै बसेर । हात्ती कसैलाई वास्तै नगरी अगाडि लम्किरहन्छ ।

हात्ती जसरी नै लम्किन् उनी, कसैको परवाह नगरी । सन् १९९१ मा देहावसान भएका बुवालाई सम्झेर सन् १९९९ मा बनाइन् चित्र । सायद भन्न चाहन्थिन्, बा म तपाईंले भनेजस्तै हात्ती भएँ । चित्रमा नारी शरीर र हात्तीको मि श्रण गरिएको छ । हात्ती लम्किरहेछ । स्याल, फ्याउरा भुकिरहेछन् । डाहले जल्नेहरू आगो ओकलिरहेछन् ।

२० वर्षे छोरी गुमाउनु अप्राकृतिक नै लाग्दो रहेछ । ‘सपनामा छोरी आउँछे, रुन्छे । मलाई जानै मन छैन भन्छे ।' भक्कानो रोकेर भन्दा छाम्न सकिन्थ्यो उनको छातीमा दुखेको घाउ ।

हात्ती बन्न सजिलो कहाँ थियो र ? जिन्दगीको अँध्यारो जंगलमा घोडाजस्तो दौड्नुपथ्र्यो । पढाइ सकेर सन् १९८६ मा काठमाडौं आउँदा उनीसँग मात्र एउटा सुट्केस थियो । ‘सुटकेस अफ एजुकेसन' नाम दिइन् उनले । ‘त्यसमा सर्टिफिकेट र केही जोर लुगामात्रै थिए ।' बालकोटमा रहेको चिटिक्क परेको घरको ग्यालरीजस्तो कोठामा बसेर विगत सम्झिइन् उनले ।

सानो आँगन, सानो बगैंचा भएको सुन्दर घर । घरभित्र छिर्नासाथ जो कसैको मुखबाट ‘वाउ' फुस्किने गरी सजाइएका चित्रहरू । कुर्सी होस् वा टेबल, भित्ता होस् वा भर्‍याङ, बाथरुममा पनि कलाको स्पर्श । यो सुन्दर सिर्जना उनले आफ्नै कमाइले बनाएकी । चित्र कोरेरै ।

कति बनाइन् चित्र ? कति खेलिन् रंगहरूसँग ? हिसाब गर्न एक दिनको फुर्सद निकाल्नुपर्छ । ‘तपाईं हामी बसेको ‘लो बेड'भित्र पनि मेरा सयौं मिनिएचर छन्' भन्दा छक्क पर्नुको विकल्प थिएन ।
जहाँ जहाँ गइन् चित्र कोर्नकै लागि गइन् । जति कोरिन् जिन्दगी उतारिन् । सन् १९८७ मा एक वर्ष बेलायत बसिन् । अध्ययनकै सिलसिलामा । घाम झुल्किन गाह्रो मान्ने बेलायतको कालो चित्र कोरिन् उनले । समुद्रका छालहरू पनि अन्धकारमा हराइरहेको देख्न सकिन्छ ती चित्रमा ।

त्यसपछि जर्मन गइन् । जापान गइन् । जहाँजहाँ गइन् त्यहाँको कलाको विशेषता पक्रिन् । त्यसलाई पूर्वीय संस्कृतिसँग घोलिन् । पश्चिमा रङ, प्रकाश र पूर्वीय मिथकको अनौठो मि श्रण भेटिन्छ उनका चित्रहरूमा । अमूर्तताभित्र मूर्त भाव र मूर्तजस्तो छनकभित्र अमूर्त दर्शन उनका चित्रमा भेटिने गुण हुन् । के मात्रै कोरिनन् उनले ? उनका चित्रहरूको सँगालोमा पसेपछि निस्कन गाह्रो पर्छ जोकोहीलाई पनि । तर, धैर्य चाहिन्छ रङ र रेखाहरूमा डुबुल्की हाल्ने ।
०००
यौवन छ उनको तस्बिरमा पोतिएको उज्यालो र गुलाबी । सन् १९९१ तिर तीनमहिने जापान बसाइका बेला उनी श्रीमान्सँग गहिरो प्रेममा थिइन् । भर्खरै गहिरिँदै गरेको प्रेम अनि टाढाको बसाइ, छटपटाहट चिठीमा आदानप्रदान हुन्थ्यो । प्रेमी अल्बर्ट ग्रेलाले हरेक दिन आठदस पेजको चिठी पठाउँथे । हैरान हुन्थे हल्काराहरू पनि । तिनै चिठी टिपेर बनाइन् चित्र । अक्षरैअक्षर, वाक्य नै वाक्य र उडिरहेको उन्मुक्त पन्छी ।

कतै झझल्को पोखिन् । ‘हरेकपटक काग कराउँदा आमाले सोध्नुहुन्थ्यो- के सन्देश ल्याइस् ? को आउँदैछ ? ' आमाको झझल्को आयो उनलाई, ‘एसएमएस र फोनले बोक्छन् अनेकन सन्देश ।' त्यसैले काग बनाएकी छन् उनले चिठीको आँखा र फोनको कान भएको ।

कलाकार न हुन्, सानो सानो प्रसंगले पनि छुन्छ । देश र समाजले नछुने त कुरै भएन । देशलाई नेताहरूले काटिरहेको देखिन् । र, बनाइन् मुसाहरू रोटी टुक्रा पारिरहेका छन् । रोटीमा देश भेटिन्छ । मुसा सबैले चिनेकै छन् ।

समाज भने सचेत छैन । भ्रष्टाचार भयो भन्छ । तर, कसैले धनसम्पत्ति जोड्नासाथ नमस्कार गरिहाल्छ । कसरी जोडेको सोधखोज गर्दैन । यो कमजोर चेतनालाई कोरिन् चित्रमा । मोटाएको सुँगुरलाई पूजा गरिएको छ । सुँगुरले ढाका टोपी लगाएको छ ।

अर्को एउटा चित्रमा देखिन्छ कालो टोपीभित्रबाट हेरिरहेको लाटोकोसेरो । लाटोकोसेरो लक्ष्मीको प्रतीक हो । किनभने पैसा पाएपछि मान्छे अन्धो बन्छ । कालो टोपी प्रतीक हो शासन र शासकको । शीर्षक छ, ब्ल्याक मनी । अर्थात्, कालो धन कालो टोपीमुनि छ ।

थिममा काम गर्न रुचाउँछिन् रागिनी । नारी उनका थिम हुन् । उनीहरूको संघर्ष उनका रङ र रेखाहरूमा आउँछन् । ‘द वुमन' शीर्षकमा कामधेनु गाईको चित्र कोरेकी छन् । पुच्छर मयूरको अर्थात् उडान छ महिलासँग । शरीरमा छ चरा अर्थात् छन् रंगीन सपनाहरू । स्तनमा कमलको फूल अर्थात् आमा जस्तोसुकै भए पनि आमा हो । ‘चाहे त्यो नगरवधु होस् वा आदर्श नारी', प्रस्ट पार्छिन्, ‘हिलोमा फुले पनि कमल त स्वच्छ नै हुन्छ नि । आमा पनि त्यस्तै हो ।' तर मुखमा ताल्चा ठोकिएको छ र घाँटीमा झुन्डिएको छ साँचो । अर्थात् महिला हो ! तिम्रो मुक्तिको साँचो तिमीसँगै छ ।
०००

यसैगरी नै बोल्छिन् रागिनी चित्रहरूमा । रागिनी राग भेटिन्छ रङको संसारमा । जुधेकी छन् उनी जिन्दगी र क्यानभाससँग । यही संघर्षले बनाएको छ अहिले ललितकला प्रज्ञाप्रतिष्ठानको कुलपति । नेपालकी पहिलो महिला कुलपति । तर, अचेल यिनको ओठमा उमंगको उठ्दो लाली भेटिँदैन । आँखा रसाइरहन्छ बारम्बार । एक वर्षको अन्तरालमा आमा र छोरी गुमाउनु पर्‍यो उनले ।

माया र खोला तल बग्दो रहेछ । उमेर पुगेकी आमा जाँदा रोइन् अवश्य तर छातीमा विस्मात बोकेर हिँडिनन् स्वीकारिन् प्रकृतिको नियमलाई । तर २० वर्षे छोरी गुमाउनु अप्राकृतिक नै लाग्दो रहेछ । ‘सपनामा छोरी आउँछे, रुन्छे । मलाई जानै मन छैन भन्छे ।' भक्कानो रोकेर भन्दा छाम्न सकिन्थ्यो उनको छातीमा दुखेको घाउ ।

यो घाउ उनले उतार्नेछिन् चित्रमा फेरि पनि । कस्तो हुनेछ त्यसको रङ ? ‘डार्क' भन्छिन् उनी । आमा र सन्तानको सम्बन्ध नाभीमै जोडिएको हुन्छ । अँध्यारो रङमा त्यो सम्बन्ध उतार्नेछिन् उनले । अनि प्रदर्शन गर्नेछिन् एउटा सिरिजमा । मनको व्यथा त कहाँ कसरी प्रदर्शन गर्न मिल्छ र ? उनका चित्रमा सायद सयौं अरू आमाले पनि भेट्नेछन् आफ्नै पीडा ।
०००

गुलावी जोवन । हात्तीजस्तो लम्काइ । जिन्दगीको अँध्यारो जंगलमा घोडाजस्तो दौडाइ । हजार रङ बोकेका रंगीन सपना । र, जीवनको यो प्रहरमा डार्क रङ पोत्नुपर्ने क्यानभास । ‘जिन्दगीको योजना बुन्न नसकिँदो रैछ ।' गहिरो उच्छवास भेटिन्छ उनका शब्दहरूमा । सानो चिटिक्क घरको मूलढोका ढप्काइरहँदा मनमा भने हुन्डरी मच्चिन्छ उनका आमाले बोलेका शब्दहरूको, ‘यो संसार त आखिर मृत्युभूमि न हो । मृत्यु बोकेर जन्मेका हुन्छौं हामी ।' सायद मृत्युकै क्यानभासमा पोतिरहेका हुन्छौं जिन्दगीका आफ्नै किसिमका रङहरू रागिनीले जस्तै हामी सबैले । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.