प्रचण्ड र देउवाले मधेसी नेताहरुसँग भेट्दै
काठमाडौं : मधेसी दलहरुले संविधान संशोधनलाई संसद्मा पेस गराउन निर्णायक दबाब दिन शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि मधेसी दलका नेताहरु बालुवाटार जान लागेका हुन् । भेटवार्ताका लागि अपरान्ह चार बजेको समय तय भएको जानकारी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल बलदेवले जानकारी दिए ।
संविधान संशोधनलाई संसद्मा अड्काएर पुरानै संरचनाअनुसार चुनाव गराउने खेल भएको निश्कर्ष निकाल्दै मधेसी दलहरु यसलाई रोक्न दबाब दिन लागेका हुन् ।पुरानै संरचनामा चुनाव घोषणा भए मधेसमा फेरि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी मधेसी दलहरुले दिएका छन् ।
मधेसी मोर्चासहितको गठबन्धनसँग भएको तीनबुँदे समझदारीलाई सम्बोधन गर्न सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराए पनि एमालेलगायतका प्रतिपक्षीहरुको निरन्तर अवरोधका कारण संसद्मा विधेयक दर्ता हुन सकेको छैन । एमालेले संशोधनलाई रोकेर चुनावको तयारीमा लाग्नुपर्ने अडान राख्दै आएको छ ।