खेलाडीसहितको विमान दुर्घटनामा सहयोग गर्नेलाई सम्मान
रियो दी जेनेरियोः नोभेम्बर महिनामा कोलम्बियामा भएको विमान दुर्घटनाका बेला उद्धारकार्यमा सहयोग गरेकालाई ब्राजिलमा भव्य सम्मान गरिएको छ।
ब्राजिल सरकारद्वारा शुक्रबार आयोजित सम्मान समारोहमा कोलम्बियाका ११ जनालाई सम्मान गरिएको हो ।
कोलम्बियाको दुर्घटनास्थल नजिकैका उनीहरुलाई दुर्घटनापछि उद्धार कार्यमा गरेको सहयोगको प्रशंसा गर्दै ब्राजिलका विदेशमन्त्री जोसे सेर्राले सम्मान गरेका हुन् ।
एलएमआई २९३३ चार्टर उडानमा कोलम्बियामा भएको साउथ अमेरिकन कपको अन्तिम खेलका लागि गएको ब्राजिलको फुटबल टोलीका खेलाडीहरू रहेका थिए ।
विमानमा चाकलदलका सदस्यसहित ७७ व्यक्तिको सवार थिए । तीमध्ये ७१ जनाको मृत्यु भएको थियो ।
गत २८ नोभेम्बरमा भएको दुर्घटनामा मृत्यु हुनेमध्ये कम्तीमा २० जना पत्रकार र अरु अधिकांश खेलाडी रहेका थिए ।
खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ । यसअघि भएका विमान दुर्घटनामा यति घेरै खेलाडी मारिएको घटना नभएको बताइएको छ ।
घटनास्थलबाट अरू छ जनालाई भने जीवितै उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये चार जना ब्राजिलका थिए । ती चार जनामध्ये तीन जना खेलाडी र एक जना पत्रकार थिए । उनीहरु सबै उपचार पछि घर फर्किएका छन् ।
घटनापछि उद्धारमा सहयोग गर्नेलाई प्रशंसा गर्न आफुसँग कुनै शब्द नभएको ब्राजिलका राष्ट्रपति मिचेल टेमेरले बताएका छन्। एजेन्सी