अमेरिकामा पनि लोकप्रिय
नेपाल बहुभाषी र बहुजातिको मुलुक भएकाले विभिन्न परिकार र संस्कृतिमा धनी छ । नेवारी खाना नेपालीहरूको उत्कृष्ट र धेरै परिकार भएको खानामा पर्छ ।
नेवारी समाजमा जतिसुकै आर्थिक रूपमा विपन्न परिवारमा पनि खानेकुराको एउटा न्यूनतम स्तर हुन्छ ।
त्यसैले हाल नेवारी खाना काठमाडौंलगायत देशका विभिन्न सहरमा लोकप्रिय बनिरहेको छ । मैले अमेरिका न्युयोर्कको ज्याक्सन हाइटमा पनि नेवारी खाजाको रेस्टुरेन्ट अत्यन्तै चलेको देखेको छु ।
काठमाडौंमा नेवारी खानाको रेस्टुरेन्ट अर्थात् नेवारी खाजा घर जताततै देख्न पाइन्छ । साधारणतया नेवारी खाजाघरको व्यवसाय घाटामा जाने व्यवसाय होइन किनभने खाना पकाउने ज्ञान र सीप नेवाहरूले परम्परागत रूपमा घरबाटै सिकेर आउँछन् ।
त्यो सीप बजारमा सिक्न अत्यन्त महँगो छ भने टिकाउन गाह्रो । नेवारी खानाप्रति आमधारणा पनि सकारात्मक छ । कम पैसामा पेट भर्ने स्वास्थ्यवद्र्धक भएकाले पनि नेवारी खाजा लोकप्रिय बन्दै गएको छ ।
नेवारी खाजाको परिकार नै धेरै भएकाले मुख फेरीफेरी खान पाइन्छ । तर यो व्यवसायको केही चुनौती पनि छ ।
जस्तैः
१. गैरनेवारले सञ्चालन गरेमा र खाजाको स्वादमा नेवारीपन दिन नसकेमा अप्ठ्यारो पर्नसक्छ ।
२. नेवारहरू खाना खुवाउन रुचि गर्ने भए पनि व्यावसायिक दक्षताका लागि खर्चको हिसाब राख्ने सीपमा कमजोर छन् ।
३. नेवारी खाजा भन्नासाथ आगो बलेको, धुवाँ उडेको, फोहोर भान्साकोठा र सुकुल ओछ्याएको भन्ने बुझाइ छ । सरसफाइ र आधुनिकीकरणको आवश्यकता छ ।
(साहित्यकार, नेपाल घरेलु तथा साना उद्योग संघका संस्थापक महासचिव)