एक हजार सिरियाली सारिए
बेरुतः सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको अलेप्पो सहरबाट केही घण्टा विलम्ब भए पनि सोमबार थप एक हजारभन्दा बढी व्यक्तिलाई त्यहाँबाट निकालिएको एक चिकित्सकले जानकारी दिएका छन् ।
अलेप्पो सहरमा फसेका व्यक्तिलाई उद्धार गर्ने टोलीका प्रमुख तथा चिकित्सक अहमद दबिसका अनुसार महिला र बालबालिकासहित करिब एक हजार दुई सय व्यक्ति अलेप्पोको पश्चिमी सहरमा गाडी चढ्नका लागि आइपुगेका छन् ।
यद्यपि ‘द' सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विद्रोहीको कब्जामा रहेको अलेप्पोको उत्तर पश्चिम भागमा रहेका दुईवटा गाउँबाट करिब पाँच सय व्यक्तिलाई त्यहाँबाट सारिएको छ ।
वर्षौंसम्म जारी लडाइँपछि सिरियाली सरकारी पक्षले सिरियाको अलेप्पो सहरमा सम्पूर्ण भागमा नियन्त्रणमा लिएपछि त्यस सहरबाट हजारौं स्थानीय बासिन्दा र विद्रोही पक्षका व्यक्तिले अलेप्पो छोड्ने क्रममा जारी रहेको छ ।
सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । जारी गृहयुद्धका कारण २०११ देखि हालसम्मा मृत्यु हुनेको व्यक्तिको संख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले हालै जनाएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गत मंगलबार सार्वजनिक गरेको तथ्यांकमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र तीमध्ये ९० हजार सर्वसाधारण रहेका छन् । यस द्वन्द्वको कारण लाखौं व्यक्ति घाइते भएका छन् । युद्धका कारण लाखौं नागरिक आफ्नो देश वा विदेशका शरणार्थी जीवन बिताउन बाध्य छन् । —रासस/एएफपी