बिजुलीको तार चुडिएर खस्दा १५ जना घाइते
वीरगञ्जः बाराको बड्की फुलवरिया गाविस ८ सनफुलवा टोलमा मङ्गलबार बिजुलीको तार चुडिएर खस्दा १५ जना घाइते भएका छन् ।
मंगलबार बिहान ११ हजार भोल्ट विद्युत प्रवाह भएको तार चुडिएर चार सय ४० भोल्टको तारमा झरेपछि विद्युत सर्ट भई करेन्ट प्रवाह हुँदा १५ जना घाइते भएका हुन् ।
करेन्ट लागेर स्थानीय २५ बर्षीया शान्तिदेवी यादव, ६५ बर्षीय रामनारायण यादव, ३५ बर्षीया सकुन्तला देवी, २८ बर्षीय भजमुल्लाह देवान, २९ बर्षीया शिवकुमारी देवी, ३५ बर्षीया प्रमिला देवी, ३० बर्षीया रिन्कु देवी, २८ बर्षीया मिरादेवीसहित १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये नौ जनाको कलैयास्थित जिल्ला अस्पतालमा र अन्य ६ जना घाइतेको सीमावर्ती भारतीय अस्पतालमा उपचार भइरहेको स्थानीय राधेचन्द्र यादवले जानकारी दिए ।
अत्याधिक करेन्ट प्रवाह भएका कारण ६५ जना स्थानीयको घरमा जडान गरिएका विद्युत मिटर, पानी तान्ने मोटर, फ्रिज, टेलिभिजन, बत्तीलगायतका जलेर नष्ट भएका छन् । क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
विद्युत प्राधिकरणले पुरानो तार फेर्न वेवास्ता गर्दा चुडिएर झरेको स्थनीय रामजनम साहले आरोप लगाए । यता विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख विनोद चौधरीले भने विद्युतीय पिन इन्सुलेटर पन्चर भइ तार चुडिएर खस्दा अनियन्त्रित करेन्ट प्रवाह भएको दाबी गरे ।