संविधान संशोधन प्रस्तावविरुद्ध राजधानीमा प्रदर्शन (भिडियोसहित)

संविधान संशोधन प्रस्तावविरुद्ध राजधानीमा प्रदर्शन  (भिडियोसहित)

काठमाडौं: संविधान संशोधन प्रस्तावको विपक्षमा रहेको प्रमुख प्रतिपक्ष एमालेलगायतका दलहरूसम्बद्ध युवा तथा विद्यार्थीले मंलबार राजधानीमा संयुक्त प्रदर्शन गरेका छन् । माइतीघरबाट विभिन्न नारासहित प्रदर्शन गर्दै उनीहरूले नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न गरेका थिए ।

विरोधसभामा एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिको उत्तेजनापूर्ण भाषणका कारण बुटवलमा एकजना देशभक्तिपूर्ण भाव भएका युवाको हत्या भएको आरोप लगाए । उनले एकजनाको हत्या हुँदैमा राष्ट्रिय स्वाभिमान बचाउने आन्दोलन नरोकिने चेतावनी दिए ।

'प्रधानमन्त्री र गृहमन्त्रीको उद्दण्ड र उत्तेजनापूर्ण भाषण आएको केही दिनमा एकजना होनहार देशभक्तिपूर्ण भाव भएका युवा दुर्गा तिवारीको गोली हानी हत्या भएको छ,' उनले भने, 'पदको दुरुपयोग गर्दै उद्दण्ड अभिव्यक्ति दिने प्रधानमन्त्री र गृहमन्त्रीलाई जनताले छाड्नेवाला छैनन् ।'

रावलले प्रधानमन्त्री दाहालले आफू अल्पमतमा पर्ने निश्चित भएको संविधान संशोधन प्रस्तावलाई संख्या पर्‌याउन ल्याएको भनेर जनतालाई ढाँटेको आरोप लगाए । 'तपाईंले ल्याएको संशोधन प्रस्तावको विपक्षमा एकतिहाइ बढी मत छ,' रावलले भने, 'अनि तपाईं यो प्रस्ताव संसद्बाट पास गराउन र संविधानका पक्षमा संख्या बढाउन ल्याएको भन्नुहुन्छ । यस्तो लफडा गणित तपार्इंले कुन विश्वविद्यालयमा पढ्नुभएको हो ? '

भिडियो हेर्नुहोस्

रावलले संविधान संशोधन प्रस्ताव विदेशी माटोबाट आएको आरोप लगाए । 'मैले यो संशोधन प्रस्ताव मधेसी मोर्चाका नेताले समेत विरोध गरेपछि कहाँबाट आएको होला भनेर सोचें,' रावलले भने, 'पछि संशोधन प्रस्ताव ठिक छ भन्दै भारतीय विदेश मन्त्रालयबाट विज्ञप्ति आएपछि म छर्लंग भएँ ।'

मधेसी मोर्चाका केही नेताले भारतीय दूतावासमा गएर भोज खाएपछि दूतावासले 'अहिले यति लिँदै गर्नुहोला, बाँकी पछि लिँदै जाने हो' भनेपछि मोर्चाका नेताहरू पनि त्यसैको पछि लागेको आरोप नेता रावलले लगाए ।

रावलले अहिले प्रदेश नम्बर पाँच पहाडबाट अलग गर्ने र बिस्तारै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि पहाडबाट अलग गर्ने नियतले प्रस्ताव आएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताए ।

मालेका महासचिव सीपी मैनालीले नेपाललाई भारतमा गाभ्ने ग्य्रान्ड डिजाइनमा संशोधन प्रस्ताव आएको बताए । उनले भने, 'जसरी फिजीमा भारतबाट जानेहरूलाई अंगीकृत नागरिकता दिएर त्यहाँका आदिवासीलाई अल्पमतमा पारियो, नेपालमा पनि त्यसै गर्न खोजिएको छ ।'

राष्ट्रिय जनमार्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपाललाई भारतमा गाभ्ने नेहरूको पालामा बनेको योजनाअनुसार अहिले यो प्रस्ताव आएको बताइन् । उनले भारतले नेपाललाई सके सिक्किम नसके भुटानजस्तो बनाउने षड्यन्त्र भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.