तिवारीको शवयात्रासहित आज अन्त्येष्टि गरिने
बुटवलः युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको शवयात्रासहित बुधबार अन्तेष्टि गरिने भएको छ । अन्तेष्टि अघि अहिले बुटवलमा शव यात्राको तयारी गरिएको छ ।
सोमबार देवदहमा हत्या गरिएको तिवारीको शव सोही दिन साँझ लुम्बिनी अञ्चल अस्पतालमा लगिएको थियो । एमाले जिल्ला अध्यक्ष शिव सुवेदीले अहिले ११ बजे अस्पताल अगाडिबाट शवयात्रा शुरु हुने जानकारी दिए । शवयात्रामा एमालेका विष्णु पौडेल, घनश्याम भुसाल, युवा संघका केन्द्रीय अध्यक्ष राजिव पहारीसहितका नेताको सहभागिता रहनेछ ।
परिवारका सदस्यको स्वीकृतिमा तिवारीको शव तिनाउ नदिमा अन्तेष्टी गरिने छ ।
आज पनि रुपन्देही बन्द
हत्याको बिरोधमा युवा संघ रुपन्देहीले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण जनवीवन प्रभावित भएको छ । यातायात, कलकारखाना, शैक्षिकसंस्था, व्यापार व्यवसाय लगायतका सबै क्षेत्र ठप्प रहेका छन् ।
बुधबार बिहान स्थानीय युवाहरुले हत्यारालाई कारबाहीको माग गर्दै बुटबलमा प्रदर्शन गरेका थिए ।