देवघाटमा ज्योति बैंकको एटीएम सेवा
![देवघाटमा ज्योति बैंकको एटीएम सेवा](https://annapurnapost.prixacdn.net/media/albums/Jyoti-Bank-chitwan-1-585a24d8163809.95062612_f9qgeoq4T9.jpg)
काठमाडौः पवित्र धार्मिक तीर्थस्थल तनहुँ र चितवनको सिमानामा पर्ने देवघाटमा ज्योति विकास बैंकले पहिलोपटक एटीएम सेवा सुरु भएको छ । ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा बैंकिङ कारोबार सेवा दिने उद्देश्यका साथ बैंकको भरतपुर शाखाले देवघाटमा रहेको एक्टेसन काउन्टरमार्फत पहिलोपटक एटीएम सेवा सुरु गरेको हो ।
पाँच वर्षअगाडि पहिलोपटक देवघाटमा बैंकिङ कारोबार सुरु गरेको बैंकले सामाजिक उत्तरदायित्वसँगै ज्येष्ठ नागरिक र धार्मिक पर्यटकको सहजताका लागि एटीएम सेवा सुरु गरेको ज्योति विकास बैंक भरतपुर शाखाका प्रमुख तपेन्द्र बिष्टले बताए ।
उक्त एटीएम सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर, महेश संस्कृति गुरुकुलका प्राचार्य गुरूप्रसाद सुवेदी र देवघाट गाविसका सचिव बुद्धिप्रसाद भुसालले संयुक्त रूपमा गरेका छन् ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुँवरले सामाजिक सेवासँगै बैंकले ग्रामीण स्तर निम्नवर्गका जनताको सहजताका लागि बैंकिङ सेवा पहुँचमा पुर्याउन आफू तल्लीन रहेको बताए ।
एक अर्ब चुक्ता पुँजी नाघिसकेको बैंकले छिट्टै ६ वटा शाखा विस्तार गर्ने जानकारीसमेत बैंकका प्रमुख कुँवरले दिए । बैंकले हाल देशभरका विभिन्न २९ वटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)