पैंचोका उत्पादन अब राजधानीमा
काठमाडौः पहाडी र उच्च पहाडी भेगमा उत्पादित पैंचो पसलका उत्पादन अब काठमाडौंमा बिक्रीवितरण सुरु भएको छ । ‘बसे पनि सहर गाउँकै खाने रहर’ मुल नाराका साथ पहाडी र उच्च पहाडी क्षेत्रमा रहेका कच्चा पदार्थ प्रयोग गर्दै उत्पादित सामग्री राजधानीमा बिक्रीवितरण सुरु गरिएको हो ।
मंगलबार राजधानीमा पत्रकारसम्मेलन आयोजना गरी कम्पनीले आफ्नो उत्पादनका बारेमा जानकारी गराएको छ । कार्यक्रममा कम्पनीका प्रबन्धनिर्देशक धु्रव न्यौपानेले राजधानीवासीलाई पनि ग्रामीण भेगका अर्गानिक, उच्च गुणस्तरका स्वादिला उत्पादन पुर्याउन राजधानीमा बिक्रीवितरण सुरु गरिएको बताए । पहाडको उच्च हावापानीमा उत्पादन भएका सामग्री मानव स्वास्थ्यका हिसाबले पनि सबैको आवश्यकता भएको न्यौपानेको भनाइ छ ।
पैंचो पसलले हाल विभिन्न आठ प्रकारका पैंचो अचार, पैंचो होल क्यान कर्न, पैंचो आँटा, पैंचो कोदोको पिठो, पैंचो टोमेटो केचअप, पैंचो जाम, विभिन्न प्रकारका जुसहरू, परम्परामा सीमित सिन्की मस्यौराजस्ता उत्पादन आफैं उत्पादन गरी बजारमा बिक्री गरिरहेको छ ।
यस्तै जुम्लाका सिमी, पहाडी जिल्लाको मकैको आँटो ९च्याँख्ला० जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तु प्याकेजिङ गरी बजारमा ल्याएको छ । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैंचोले पहिलोपटक व्यावसायिक उत्पादन गरेको पसलले जनाएको छ ।
पैंचो पसल परम्परामा सीमित भैसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवद्र्धन गर्ने लक्ष्य लिएर दुई वर्षअगाडि स्थापना भएको थियो ।
उपयुक्त बजारको अभावमा खेर गैरहेका गाउँका उत्पादनलाई बजारको पहुँचसम्म पुर्याउने मुख्य उद्देश्यका साथ खोलिएको पैंचो पसलले विगत एक वर्षदेखि गुल्मीको रिडीमा पैंचो प्रशोधन उद्योग स्थापना गरी स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको थियो ।
स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक दाललगायत खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्री गर्दै आएको पैंचो पसलले गत वैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २३ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको जनाएको छ । पैंचोले पहाडमा उत्पादन हुने तर त्यसै खेर गैरहेका खाद्य वस्तुलाई प्रशोधन केन्द्रका कच्चा पदार्थका रूपमा प्रयोग गरिरहेको छ ।
पैंचोले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० भन्दा बढी संकलन केन्द्रमार्फत किसानको कृषि उत्पादन लिइरहेको जनाएको छ । त्यस्तै कम्पनीले आगामी दिनमा सेवा विस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जालगायत जिल्लाका किसानसँग समेत पैंचोको परियोजना पुर्याउने लक्ष्य राखेको जनाएको छ ।