पाँच किलो सुनसहित युवक पक्राउ
त्रिशूली, नुवाकोटः नेपाल-चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकावाट वुधबार अवैध सुनसहित एक युवक पक्राउ परेका छन् ।
तातोपानी नाका पहिरोका कारण बन्द भएपछि रसुवागढी नाकावाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले नियमनमा कडाई गरेको छ । रसुवागढी नाकास्थित टिमुरे गाविस वडा नं. १ मा नियमति चेक गर्ने क्रममा दिउँसो मोटरसाइकलमा आइरहेका रसुवाकै गत्लाङ गाविसका २५ वर्षीय वीरेन लामालाई प्रहरीले पाँच किलो अवैध सुनसहित पक्राउ गरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक मुकुन्दराज खरेलले जानकारी दिए ।
लामाले २२० पल्सरको एयर फिल्टरमा लुकाएर ल्याएका थिए । थप अनुसन्धान कार्य भइरहेको घटनास्थल पुगेका रसुवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइले बताए । प्रहरीले विशेष सुचनाका आधारमा सुनसहित युवकलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएको सुन तीन करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । आठ महिना अगाडि पनि रसुवागढी नाकावाट ६ केजी सुनसहित रसुवाकै टिमुरे गाविस वडा नं. ५ का २५ वर्षीय कुङजाङ तामाङ पक्राउ परेका थिए ।