माओवादी पार्टी होइन, आन्दोलन होः प्रचण्ड
धनगढीः प्रधानमन्त्री एवम् (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी मात्र नभएर आन्दोलन पनि भएको बताएका छन्।
माओवादी केन्द्रको सात नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो ।’
उनले कसैले चाहेर पार्टी सानो ठूलो हुन सक्ने भए पनि आन्दोलन परिवर्तनका मुद्धा रहेसम्म कायम रहने बताए । ‘युगान्तकारी परिवर्तनका मुद्धा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ,’ प्रचण्डले भने, ‘हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । माओवादी कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो ।’
प्रचण्डले माओवादी एकतामा समेत जोड दिएका छन् । ‘आजको आवश्यकता माओवादी धाराको एकता नै हो । क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ,’ उनले भने, ‘मैले सबै माओवादी धाराका नेताहरुसँग कुरा गरिरहेको छु । माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु ।’
उनले सरकार संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दे भने, ‘हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन, एकतावद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ ।’
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले संगठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गरे।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेता लेखराज भट्ट, कृषिमन्त्री गौरीशंकर चौधरी, नेताहरु खगराज भट्ट, जोखबहादुर महरा, लक्ष्मणदत्त जोशी लगायतको उपस्थिति थियो ।