हराउँदै पञ्चेबाजा
मुसिकोटः रुकुम आठबिसकोटका ७५ वर्षीय नरवीर शाहले ५९ वर्षअघि पञ्चैबाजा बजाएर धुमधामसँग विवाह गरेको उनलाई हिजोजस्तै लाग्छ । ३८ वर्षअघि जेठो छोराको विवाह पनि उनले त्यसरी नै गरे । तर, गएको मंसिरमा नातिको बिहेमा भने पञ्चैबाजा बजेन । जसले उनलाई खल्लो महसुस भयो । पछिल्लो समय गाउँमा पञ्चैबाजा र बजाउने कलाकर्मीको अभाव भएपछि यो लोप हुँदै गएको छ ।
गाउँभरि खोज्दा पनि भनेजस्तो पञ्चैबाजा र बजाउने मान्छे नपाएपछि उनी त्यसको तालमा रमाउन पाएनन् । उनले भने, ‘गाउँमा बाजा बजाउने संस्कृति हराउँदै जान थालेको छ ।' आठबिसकोटकै तरे दमाई एकताका चल्तीका बाजा बजाउनेमा गनिन्थे ।
त्यो बेला बाजा समूहको नाइके भएर अगुवाइ गरेका दमाइको समूहलाई छिमेकी गाविसबाट पनि बाजाका लागि निम्तो आउँथ्यो । उमेरले ७० वर्ष पुगेका दमाईले गाउँमा हुने विवाह–व्रतबन्ध, मेलापर्वमा बाजा बजाएरै जीवन धानेका थिए । उनी अचेल पनि बाजा त बजाउँछन् । तर, पहिलेजस्तो जोस, जागर र पहिलेका बाजा बजाउने साथी उनीसँग छैनन् । पाँचैजना छोराले बुवाको अनुसरण गरेर बाजा बजाउनभन्दा अरू नै पेसा थालेपछि उनको परिवारमा बाजा बजाउने उनी नै अन्तिम हुन् ।
पोखरा- ५ का तस्बिर नेपालीले पनि उमेरमा खुब बाजा बजाए । उनले तीन छोरामध्ये जेठो छोरालाई त्यो सीप सिकाए पनि तर छोराहरूले सिकेनन् । उमेरले अस्वस्थ्य भएका उनलाई आफ्नो परिवारमा यो पेसा गर्ने आफू नै अन्तिम हो जस्तो लाग्छ । भन्छन्, ‘बाले सिकाए र मैले गरेँ, मेरा छोराहरूलाई सिकाएँ, गर्न मानेनन् । हामी नै नभए कस्ले बजाउँला बाजा ।'
पञ्चैबाजा भन्नाले दमाहा, ट्याम्की, सहनाई, छिल्लर र नरसिंहालाई बुझिन्छ । यी पाँच बाजाको मिश्रित संगीतले सुख, खुसी र उत्साहको जनाउ दिने भएकाले नेपाली मौलिक बाजाहरूको यो धुन नै शुभ–संगीत मानिने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत तिलक गौतम बताउँछन् ।
खासगरी दमाई जातिले यो बाजा बजाउने चलन छ । हजुरबुवा र बुवा पुस्ताले बाजा बजाएर मौलिक संस्कृति धानेको भए पनि छोरा पुस्ताले यो बाजा बजाउन छोडेपछि र अरू जातिले पनि बजाउँदा हुन्छ भन्ने भावनाको विकास नहुँदा पञ्चैबाजा संस्कृति हराउन थालेको मुसिकोट नगरपालिकाका रविलाल नेपाली बताउँछन् ।