तिवारीलाई सहिद घोषणा गर्न प्रस्ताव
बुटवल: जिल्ला सुरक्षा समितिले सहिद घोषणा गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएपछि युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुधबार राति अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिपूर्व युवा संघ नेपालले प्रदेश विभाजन प्रस्तावविरुद्धको आन्दोलनमा सक्रिय भएकै कारण तिवारीको हत्या भएको भन्दै सहिद घोषणा गर्न माग गरेको थियो । जिल्ला सुरक्षा समितिको बैठकले युवासंघको मागअनुसारै गृह मन्त्रालयलाई प्रस्ताव पठाएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । समितिको निर्णयपछि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको शव पोस्टमार्टम गरेर साँझ पौने ५ बजे शवयात्रा निकालिएको हो । शवयात्रामा हजारौं नागरिक सहभागी थिए ।
शवयात्रासँगै पुष्पलाल पार्कमा भएको शोकसभामा एमाले उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल र युवा संघका केन्द्रीय अध्यक्ष शंकर पहारीले बोलेका थिए । पौडेलले तिवारीको हत्या क्रूरताको पराकाष्ठा भएको भन्दै यसलाई कमजोर रूपमा नलिन सरकारलाई आग्रह गरे । 'तिवारीलाई सहिद घोषणा गर्न ढिला गरे जनताले पर्खिनेवाला छैनन्,' उनले भने । अर्का उपमहासचिव भुसालले अपराधीलाई नछाड्ने बताए । 'कारबाही नभएसम्म झुक्ने छैनौं, अपराधीलाई कानुनी कठघरामा ल्याउनेछौं' उनले भने ।
युवा संघका अध्यक्ष पहारीले संशोधन प्रस्तावविरुद्ध भएको आन्दोलनमा सहभागी भएकै कारण तिवारीको हत्या गरिएको बताए । 'यो कुनै लेनदेन र ठेक्कापट्टाको विषयले भएको होइन', उनले भने, 'राष्ट्रियताको पक्षमा लाग्दा हत्या गरियो ।' बुधबार राति देवघाटमा तिवारीको अन्त्येष्टिसँगै रूपन्देहीको आमहडताल फिर्ता लिएको युवा संघले जनाएको छ ।
लामो तयारीमा हत्याः अनुसन्धान
तिवारीको हत्या 'लामो समयको तयारीपछि' भएको प्रारम्भिक निष्कर्ष अनुसन्धान टोलीले निकालेको छ । तिलोत्तमामा भेट्टाएको मोटरसाइकल नक्कली देखिएपछि हत्याको योजना केही महिनाअघि नै बनाइएको प्रहरीको दाबी छ । रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेले नयाँ मोटरसाइकल खरिद गरी, नम्बर प्लेट राखेर घटनामा प्रयोग गरिएको बताए । 'मंगलबार भेटिएको बाइक नक्कली पुष्टि भयो,' उनले भने, 'नयाँ बाइक किनेर हत्यामा प्रयोग गरिएको छ ।'
प्रहरीले बरामद गरेको मोटरसाइकलको नम्बर ओखलढुंगाका व्यक्तिको र रातो नभई नीलो रहेको पुष्टि भएको छ । प्रहरीले सोधपुछका लागि बुधबार पनि एक युवालाई नियन्त्रणमा लिएको छ । मंगलबार तीनजनालाई नियन्त्रणमा लिएको थियो । घटनाको दुई दिनपछि घटनास्थल आएको केन्द्रीय समितिले छानबिन सुरु गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वको टोलीले घरपरिवार, छिमेकी, राजनीतिक दलका नेताकार्यकर्ता, प्रहरी अधिकारीसँग घटनाबारे बुझिरहेको छ । प्रहरीले घटनामा देवदहकै मनोज पुनको संलग्नता बताए पनि चारैतर्फ अनुसन्धान गरिएको जनाएको छ ।