बाबुआमाले दोस्रो बिहे गर्दा बालबालिकाको बिचल्ली
ताक्लुङ (गोरखा): ताक्लुङ १ डाँडेगाउँकी पुतली चेपाङ अहिले ६ वर्षकी भइन् । उनी अहिले एकछाक खोलेफाँडो र अर्को छाक पिँडालु खाएर टार्छिन् । 'बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं', उनकी ७२ वर्षीया बज्यै धनमाया भन्छिन् ।
घुँडा टेकेर टुकुटुक हिँड्ने उमेरकी पुतलीलाई छोडेर आमा अर्कै पतिको साथ लागिन् । आमा हिँडेको केही दिनपछि बुबा एकबहादुरले कान्छीआमा भित्र्याए । जन्मेकै वर्ष बुबाआमाविहीन बनेपछि पुतली बाजेबज्यैको घरमा हुर्किरहेकी छन् ।
किताब-कापी बोकेर स्कुल जाने यो उमेरमा उनी बज्यैको साथमा बनमासा घारीमा गाईबाख्रा चराउन जान्छिन् । 'स्कुल जान मान्दिनँ, त्यही भएर भर्ना पनि गरेको छैन', धनमाया भन्छिन्, 'म जहाँ गयो, त्यहीँ जान्छे । राति हामी बूढाबूढी टाँडमा सुत्छौं । यसलाई भुइँमा थांना ओछ्याइदिन्छौं । त्यहीँ लड्छे । जाडो छ । भएका थांना ओढाइदिन्छु ।'
कान्छीआमा ल्याएपछि बुबा छुट्टिएर पारिको डाँडामा घर बनाएर बस्न थाले । बुबाआमाले छाडेपछि पुतली मात्र होइन, उनका दुई दिदी र दुई दाई पनि अनाथ बने । अहिले यी अनाथ बालबालिकाको बिचल्ली भएको छिमेकी बताउँछन् । 'बाबुआमा नभएपछि यिनीहरूको बिचल्ली भयो', स्थानीय अमृत चेपाङ भन्छन् 'बाजे ७१ वर्षका भए । त्यही पनि रोगी छन् । बज्यै ७२ वर्षकी छन् । ती बूढीले घरभित्र र बाहिरको सबै काम गरेर पाँचजना नातिनातिनीको स्याहार कसरी गर्न सक्छिन् र ? बिचल्ली छ ।' खान लाउन नपाएपछि पुतलीका नौ र दस वर्षका दुवै दाइहरू काम खोज्दै मुग्लान पसे । दिदीहरू एउटा कालको, अर्की बालविवाहको सिकार बनिन् ।
उनका दुवै दाइहरू भारतको हिमाञ्चलमा छन् भन्ने खबर आएको छ । 'भबे (जेठो) गएको तीन वर्ष भो, मोटे (कान्छो) यही वर्ष गएको हो', बज्यै धनमाया भन्छिन्, 'गरङ्जा माहिलाले भबेलाई ९ वर्षको हुँदा लगेको हो । मोटेलाई १० वर्षको हुँदा ।' भबेले गएदेखिको ३६ महिनामा २६ हजार रुपैयाँ कमाएर पठाएको उनले बताइन् । बाल श्रम बेचेर कमाएको २६ हजार बज्यै र कान्छीआमा लिएर छुट्टिएका एकबहादुरले आधाआधा बाँडेर लिए ।
ताक्लुङ १ ढाँडेकी सानुमाया चेपाङ अहिले आठ वर्षकी भइन् । उनका बुबा उमरबहादुरले ६ जनाको परिवार भारी बोकेर पालिरहेका थिए । तीन वर्षअघि सडकमा हिँडिरहेका बेला ट्रकले हानेर उमरबहादुरको मृत्यु भयो । घटनाको ६ महिना नबित्दै पाँच सन्तानलाई बेवारिसे बनाएर सानुमायाकी आमा नयाँ श्रीमान्को साथ लागिन् । अहिले उनका दुई दिदी र दुई दाइको समेत बेहाल छ । 'यी सबैलाई यो मंगलेले स्याहार सुसार गरेको छ', १५ बर्से मंगलबहादुरलाई देखाउँदै स्थानीय अमृत चेपाङले भने, 'आफैंलाई अभिभावकको खाँचो छ तर दुई बहिनी र एक भाइको अभिभावक बन्नु परेको छ ।'
अभिभावक नहुँदा उनकी १३ वर्षीया बहिनीले विद्यालयको मुख देखिनन् । अरू भाइ बहिनीलाई पनि विद्यलाय जान कसैले भन्दैनन् । अभिभावक नहुँदा यी लालाबालाको वर्तमान मात्र होइन, भविष्य पनि अन्योलमा छ ।
ताक्लुङ १ ढाँडेगाउँकै भीमबहादुर चेपाङ १५ वर्षका भए । १० वर्षको उमेरदेखि उनले तीनजना बहिनीको लालनपालन र घर व्यवहार चलाउनुपर्ने अभिभारा आइपरेको छ । पाँच वर्षअघि वनबाट घाँसदाउरा बोकेर आउँदा बाटोमै लडेर उनका बुबाको मुत्यु भयो । बुबाको मृत्यु भएको डेढ वर्षपछि आमाले पनि नयाँ मान्छेसँग घरबार गरिन् । '१३ वर्षको केटाले पाँच वर्षकी सिर्जना र ६ वर्षकी सुमित्रालाई हुर्काउन कति गाह्रो भयो होला ? ' उनका कान्छाबुबा जितबहादुर भन्छन्, 'भुइँचालोले घर भत्काएको छ ।
कसले बनाइदिने यिनको घर? खानेबाटो केही छैन । आफ्नो जमिनबाट एकदुई बोरा मकै र एकदुई बोरा धान आउँछ । निमेक गरेर घर चलाइरहेको छ ।' टुहुरो भएपछि उनका दाइ पनि मुग्लान पसे ।
आमा अर्कैसँग जाने र बुबाले कान्छीआमा ल्याउनाले चेपाङ समुदाय कहिल्यै उँभो लाग्न नसकेको ठूला उमेरकाहरूले बुझेका छन् । 'आमा पोइल जासन्छन्, बाबुले अर्की ल्याइहाल्छन् । अनि बच्चालाई कसले शिक्षादीक्षा दिने, कसले सही बाटो देखाइदिने ? ', स्थानीय चन्द्रबहादुर चेपाङ भन्छन्, 'बच्चैदेखि सही बाटो हिँड्न नपाएपछि त्यो मान्छे बिग्रियो, बिग्रियो । हाम्रो चेपाङ समुदाय उँभो लाग्न नसकेको यही भएर हो ।' आफ्नी आमा पनि पोइल गएको र बाबुले अर्की आमा ल्याएपछि बेस्याहार भएर बाल्यकाल बितेको, पढ्न नपाएको उनको बुझाइ छ ।
सानैदेखि माया, ममता नबुझ्ने बालक ठूलो भएपछि बिग्रिने अर्का स्थानीय अमृत चेपाङको तर्क छ । आफूले पनि आमाबुबाको माया नपाएको भन्दै उनले यो परम्परा नरोकिएसम्म चेपाङको जीवनस्तर नउकासिने बताए । 'आमा सानैमा पोइल गइन् । कान्छीआमा ल्याएपछि बुबाले पनि छोडे', उनले भने, 'कान्छीआमाले खाना पनि नदिने, सानोतिनो कुरामा पनि कुट्थिन् । भविष्य बनाउने त्यो उमेरमा घरमा सँधै यस्तो भएपछि हामीले कसरी जीवन बनाउन? ', उनले भने । यो प्रवृत्ति अन्त्य गर्न उनले सरकारलाई गुहारेका छन् । सडक, बत्ती, खानेपानी जस्ता अति आवश्यक कुराको विकासभन्दा पनि सामाजिक चेतनाको खाँचो भएको उनको जोड छ ।
आमा पोइल जाने र बुबाले कान्छीआमा ल्याउँदा बालबालिकाको मानसिक अबस्था बिग्रिने, स्वास्थ्य अबस्था बिग्रिने, शैक्षिक अबस्था सबै भताभुङ्ग हुने चेपाङ अगुवा बताउँछन् । यो अबस्था अन्त्य गर्न समाजमा चेतना र जागरण फैलाउनुपर्ने उनीहरूको माग छ । 'बाजेको पालामा पनि यही चलन थियो, बुबाको पालामा पनि यही चलन र अहिले पनि यो चलन रहेकाले चेपाङ समुदायको भावी पुस्ता पनि यही अबस्था भोग्न बाध्य हुनेछन्', नेपाल चेपाङ संघका केन्द्रीय उपाध्यक्ष बिल चेपाङ भन्छन्, 'हाम्रो समाजलाई उँभो लगाउने हो भने बच्चादेखि नै उनीहरूको लालनपालन, पोषण, स्वास्थ्य, शिक्षाको विकास हुनुपर्छ ।'