छाउपडी गोठमा राख्ने परिवारलार्इ सामाजिक बहिष्कार गरिने
मंगलसेनः अछामको गाज्रा गाविसमा मंगलबार बसेको सर्वपक्षीय बैठकले महिनावारी भएको बेला महिलालाई छाउपडी गोठमा राख्ने परिवारलाई सामाजिक रूपमा बहिष्कार गर्नुका साथै गाविसबाट प्रदान गरिने सबै सेवा सुविधाबाट वञ्चित गरिने निर्णय गरेको छ ।
गाविस सचिवसहित योजना तर्जुमा समिति छनोट गर्न मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । शनिबार राति गाज्रा गाविस ७ की १५ वर्षीया रोशनी तिरुवाको गोठमै ज्यान गएपछि गाविसका सबै सरोकारवाला तातेका छन् । गत वर्ष गाविसका सबै वडामा अनुगमनपश्चात् असोज ९ गते गोठ मुक्त घोषणा गरिएकोमा पुनः गोठ निर्माण हुनु दुःखद भएको निश्कर्ष निकाल्दै बैठकले सबै वडामा रहेका गोठ तत्कालै भत्काएर सबैलाई महिनावारी हुँदा घरमै राख्न अनुरोधसमेत गरेको छ ।
यस्तै मंगलबार मंगलसेनमा बसेको महिला अधिकारकर्मीको बैठकले सर्वोच्व अदालतले कुरीति घोषणा गरे पनि सरकारले छाउपडी कुप्रथासम्बन्धी कानुन नबनाएकाले कानुन बनाउन माग गर्दै सर्वोच्व अदालतमा रिट हाल्ने, सबै प्रकारका कुरीति कुसंस्कार अन्त्य गर्न सरकारसमक्ष विशेष कार्यक्रम सञ्चालन गर्न माग गर्नेलगायतका निर्णय गरेको छ ।