कार्कीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुरु
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु गरेको हो ।
रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्र लगायतले बहस गरेका थिए ।
उनीहरुले कार्कीको नियुक्ति संविधान विपरीत भएको बताए । शुक्रबार ११ बजेदेखि सुरु हुने गरी बिहीबार सुनुवाइ सकिएको छ ।
कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका थिए । खारेज भइसकेको अधिवक्ता अर्यालको रिट निवेदन सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
नेपाल बार एसोसिएसनको ६०औँ दिवस परेको भन्दै कार्कीविरुद्धको मुद्दा सार्नका लागि अधिवक्ता भीमआर्जुन आचार्य, माधव बस्नेत, कुमार रेग्मी, सुशील पन्त, कृष्ण सापकोटा, आनन्दराज लम्सालले निवेदन दिएका थिए तर आजको सुनुवाइ स्थगित भएन ।
यसअघि कार्कीको पक्षका अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका कारण सुनुवाइ स्थगित भएको थियो ।
कार्कीका पक्षबाट बिहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गरेका छन् । शुक्रबार विपक्षको तर्फबाट बहस हुनेछ । कार्कीको नियुक्ति संविधानसम्मत भए/नभएको सुनुवाइपछि निर्णय आउनेछ ।