‘राजनीतिक प्रतिशोधका कारण हत्या’
बुटवलः युवा संघ नेपालले रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या राजनीतिक प्रतिशोधको कारण नै भएको दाबी गरेको छ । प्रहरीले पुरानो रिसइवीका कारण हत्या भएको आशंका गरिरहेका बेला संघले हत्या कुनै रिसइवी, लेनदेन र ठेक्का-पट्टाले नभएको दाबी गरेको हो ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजीव पहारीले तिवारी राष्ट्रियताको पक्षमा उभिएकाले हत्या गरिएको दाबी गरे ।
नौ महिना पहिला मधेश आन्दोलन चर्किएका बेला तिवारीमाथि गोली हानिएको स्मरण गर्दै उनले अहिले प्रदेश बचाउने आन्दोलनको उत्कर्षमा गोली हानेर हत्या गरिएको बताए । ‘यो कुराले पुष्टि गर्छ तिवारीको हत्या आन्दोलनलाई कमजोर बनाउनका लागि गरिएको हो’ उनले भने ।
तिवारीको पुस ४ गते देवदहमा हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा स्थानीय मनोज पुनको संलग्नता भएको आशंकामा तस्विर सार्वजनिक गरेको थियो । ९ महिना अघिको हत्या प्रयासमा मनोजकै समूहको संलग्नता थियो ।
युवा संघका उपाध्यक्ष राजु गुरुङले नौ महिनाअघि पनि राजनीतिक कारण नै हत्या गर्न खोजिएको दाबी गरे । ‘त्यतिखेर हत्यामा संलग्न भएका ८ जनामध्ये ६ जना माओवादी पूर्व लडाकु थिए, अहिलेको घटनामा सोधपुछका लागि सामातिएकामध्ये १ जना माओबादी नै हो, उनले दाबीका साथ भने–‘मनोज पुनले नै हत्या गरेको भए पनि उसलाई चलाउने अर्काे नाइके छ ।’
उनले प्रहरीले घटनाको पुरै अनुसन्धान गर्नुपर्ने बताए । मनोज पुन ४ वर्ष यता एमालेमा नरहेको युवा संघले जनाएको छ । वाइसियल कार्यकर्ता रहेका मनोज बुटवलमा प्रचण्ड थैबको हत्यापछि तत्कालीन युथफोर्समा प्रवेश गरेका थिए ।
देवदह क्षेत्रमा काठ तस्करी, ढुंगागिट्टी तस्करीमा संलग्न र युवा संघकै कार्यकर्तालाई कुटपिट गरेवपछि क्षेत्रीय कोषाध्यक्षसहित साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको संघले जनाएको छ ।
युवा संघका सचिवालय सदस्य देवराज पोख्रेलले तिवारीलाई ठेक्का पट्टामा सहभागी नभएको दाबी गर्दै हत्याको घटनालाई डाइभर्ट गर्न हल्ला फिजाइएको बताए । युवा संघले तत्कालका लागि आन्दोलन स्थगित मात्रै गरेर प्रहरीको अनुसन्धानलाई हेरिरहेको जनाएको छ ।
संघले महासचिव किरण पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । यता, सरकारद्वारा गठित तीन सदस्यीय समितिले बिहीबार परिवारका सदस्यसहित युवा संघका नेता तथा कार्यकर्तासँग छलफल गरेको थियो । घटनास्थल देवदहमा परिवार संघको भेटमा समितिले १५ दिन भित्रै घटनाको छिनोफानो हुने प्रतिवद्धता जनाएको छ ।
समितिका संयोजक एआइजी विज्ञानराज शर्माले अनुसन्धान जारी रहेको बताए । शर्मा नेतृत्वको समिति बुधबार रुपन्देही आएको थियो । समितिले १५ दिन भित्र प्रतिवेदन बुझाउनेछ ।