कतिको वस्त्र बाँकी रहलाःकार्की(भिडियाेसहित)
काठमाडौः आफूमाथि भएको दुव्र्यवहारपछि अख्यिारका निलम्बित प्रमुख कार्कीले आफ्नो कर्तव्य निर्वाह गरेबापत दण्डित हुनुपर्ने अवस्था आएको बताउँदै भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपरे त्यसबेला कैयन सीमाहरू भत्कन सक्ने चेतावनी दिएका छन् ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रूपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याइन्छ भने सचेत नेपाली नागरिकका रूपमा भ्रष्टाचारविरुद्धको अभियान चलाउनु मेरो स्वाभाविक कर्म हुनेछ', कार्कीद्वारा जारी अपिलमा भनिएको छ, ‘त्यसबेला कतिको शरीरमा वस्त्र बाँकी रहला, समयले नै बताउनेछ ।'
आफूले राष्ट्रसेवकका रूपमा देश र जनताको सेवामा समर्पित भई कार्य गरिरहँदा विगतदेखि विभिन्न अवरोध र चुनौतीको सामना गर्नुपरेको पनि बताएका छन् । ‘पछिल्लो समयमा ममाथि नियोजित ढंगले लगाइएका लाञ्छना, आरोप र दोषारोपणका शृंखलाहरू मलाई हतोत्साहित गर्ने कुत्सित प्रयासका उपज हुन् भन्ने मलाई लागेको छ', कार्कीले भनेका छन् । लोकतन्त्र कसैप्रति पूर्वाग्रही नहुने र योग्यता र क्षमताको उच्च मूल्यांकन हुन्छ भन्ने विश्वास आफूलाई रहेको उनको अपिलमा उल्लेख छ ।
अख्तियार प्रमुखमा आफ्नो नियुक्तिकै दिनदेखि देशबाट अनियमितता र भ्रष्टाचार उन्मूलन गर्ने अठोट गरेको स्मरणसमेत उनले गराएका छन् । ‘हामीले यसरी सक्रियता दर्साउँदा जनता प्रसन्न भएकै हुन् र भ्रष्टाचारीहरू थर्कमान र निरुत्साहित पनि अवश्य बनेका हुन्', कार्कीले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई सघन र सशक्त बनाउन खोज्दा खास दलका नेता र कतिपय माननीय सांसदज्यूहरू केकति कारणले मेराविरुद्ध महाभियोगको बाण हान्न अग्रसर हुनुभएको हो, यो मैले बुझ्नसकेको छैन ।'
भिडियाे हेर्नुहाेस्
अख्तियारले निश्चित समूह वा क्षेत्रमाथि मात्र आँखा लगाएको भन्ने जनगुनासोलाई दृष्टिगत गरी आफूले अनुसन्धान, छानबिन र कारबाहीको दायरा फराकिलो बनाएको पनि बताएका छन् ।
अनुसन्धान र कारबाहीको दायरा विस्तार गरेसँगै आफूविरुद्धका गतिविधिमा तीव्रता आउनु र महाभियोग लगाउने प्रपञ्च रचिनु संयोगमात्र नरहेको अपिलमा उल्लेख छ । आफूविरुद्ध विदेशबाट फर्केलगत्तै छापामार शैलीमा महाभियोग ल्याइएको भन्दै सबै घटनाको इतिहासले मूल्यांकन गर्ने पनि उनको अपिलमा जनाइएको छ ।
‘स्वदेशमा आर्जित धन गैरकानुनी रूपले विदेशी बैंकमा जम्मा गर्ने र राज्यको प्रचलित कानुनविपरीत विदेशमा लगानी गर्नेहरूलाई कानुनबमोजिम कारबाही प्रक्रिया सुरु गरेर मैले के गल्ती गरें ? ' कार्कीको प्रश्न छ । उनले आफू महाभियोगको चक्रव्यूहबाट मुक्त हुने विश्वाससमेत व्यक्त गरेका छन् । ‘म यतिबेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरू खोल्न चाहन्नँ तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउनेछैन', कार्कीको चुनौती छ ।