एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
काठमाडौः नेपाल एसबीआई बैंक लिमिटेडले पेमेन्ट गेटवे फेज–दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ सेवा शुभारम्भ गरेको छ । उक्त सेवाको उद्घाटन नेपालका लागि भारतीय राजदूत रञ्जित रे र स्टेट बैंक अफ इन्डिया, अन्तर्राष्ट्रिय बैंकिङ विभागका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले संयुक्त रूपमा गरेका थिए ।
आफ्ना ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा दिने उद्देश्यले बैंकले यी सेवा सञ्चालनमा ल्याएको हो । पेमेन्ट गेटवे फेज-दुईअन्तर्गत भारतमा रहेका नेपालीले तत्काल नेपालमा पैसा पठाउन सक्नेछन् । अहिलेसम्म भारतबाट नेपालमा नगद पठाउने उपयुक्त तथा सुरक्षित माध्यम नहुँदा नेपाली कामदारले सास्ती व्यहोर्नुपरेको थियो । बैंकको नयाँ सेवाले ग्राहकलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।