विश्व च्याम्पियन बनेकी नेपाली चेलीको प्रेरणादायी कथा

विश्व च्याम्पियन बनेकी नेपाली चेलीको प्रेरणादायी कथा

हिमाल, पहाड, जंगल, नदीनाला, पहिरो, हिउँ सबैको सामना गर्दै दौडिनुपर्ने खेललाई अल्ट्रा दौड भनिन्छ । सुन्दै पनि यो सजिलो लाग्दैन । तर, पूर्वपहाडी जिल्ला भोजपुरको सानो दुंगमामा जन्मिएकी मीरा राईले त्यो चुनौतीपूर्ण कामलाई सामान्य साबित गरिदिएकी छन् ।

दुर्गम गाउँ अनि जंगलको बीचमा उनको घर छ । टाकुराजस्ता ठाउँमा तीनवटामात्रै घर छन् । मोबाइलको नेटवर्क अहिलेसम्म पुगेको छैन । त्यही ठाउँमा गरेको संघर्षले उनलाई अल्ट्रा धावकमा विश्व च्याम्पियन बनाइदिएको छ ।

बाल्यकालमा समालेका कतिपय अनुभव उनलाई अहिले सम्झँदा निकै रोमाञ्चक लाग्छ । ‘एक घन्टा लामो बाटोबाट पानी ल्याएर खाना पकाउनुपथ्र्यो । गाईबस्तुलाई दिनुपथ्र्यो । कहिलेकाहीँ टाउकोबाट गाग्री उछिट्टिएर पानी भर्ने ठाउँसम्मै पुग्थ्यो', उनले स्मरण गरिन्, ‘एकातिर आमाले गाली गर्लान् भन्ने डर, अर्कातिर गाग्री कुच्चिएको पीर ।'

त्यतिमात्रै होइन जंगलमा घाँसदाउरा गर्दा हात काटिन्थ्यो, खुट्टा ठोकिन्थ्यो, चोटपटक लाग्थ्यो । त्यस बेला ती कुरामा पीडा महसुस भए पनि अहिले त्यही अभ्यासले उनलाई विश्व च्याम्पियन बनाउन सहयोग पुर्‍याएको हो ।

नेसनल जोग्राफीले आयोजना गरेको ‘एडभेन्चर अफ दी इयर' प्रतियोगिताको मनोनयनमा परेकी मीरालाई जिताउन धेरै नेपालीले प्रयास गरेका छन् । ‘विश्वका उत्कृष्ट १० खेलाडीमध्ये मेरो नाम पर्नु ठूलो उपलब्धि हो', मीराले भनिन्, ‘४४ दिन लामो भोटिङ आइतबार बन्द भएको छ ।

एक महिनापछि रिजल्ट आउँछ । समुद्रभित्र कुद्ने र डाँडाकाँडामा कुद्नेबीच प्रतिस्पर्धा देखिएको छ । मेरो नतिजा राम्रो आउने अपेक्षा गरेकी छु ।' ट्रायल रनिङ नेपाल, रेस अर्गनाइजर तथा करातेका गुरु ध्रुवविक्रम मल्लको विशेष सहयोगले आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ ।

अल्ट्रा रेसमा गएपछि मीराले छोटो समयमै नसोचेको सफलता पाएकी छन् । अहिले मीरालाई घुँडाको समस्याले पिरोलेको छ । घुँडाको बीचमा हुने नसा चुँडिएकाले चार महिनापहिला इटालीमा सर्जरी गराएकी उनले सर्जरीपछि नयाँ जीवन पाएको अनुभव गरेकी छन् । इटालीमा मीराको उपचारको व्यवस्था उनका गुरुले दिलाइदिएका हुन् । ‘सायद नेपालमा त्यो सर्जरी सम्भव थिएन । अहिले म दौडेको छैन तर अल्ट्रा दौडमा लाग्न चाहने बहिनीहरूलाई सिकाउँदैछु', उनले भनिन् ।

मीराले जुम्लाको सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपानेलाई तालिम दिँदै आएकी छन् । बुढा र न्यौपानेलाई हङकङमा लगेर गेम खेलाउन उनी सहयोगमा जुटेकी छन् । मीराको अनुभवमा गाउँतिर विश्वस्तरका प्रतिभा भए पनि अवसर पाइरहेका छैनन् । आफूलाई पनि अल्ट्रा रेसका बारेमा थाहा नभएको तर संयोगले अवसर पाएको उनको भनाइ छ । अल्ट्रा रेस निकै जोखिमपूर्ण हुन्छ ।

ठाउँठाउँमा लगाएको रिबन पछ्याउँदै, घडीमा म्याप हेर्दै दौडिनुपर्ने हुँदा अल्ट्रा धावक बन्न सजिलो छैन । घरि उकालो चढ्नुपर्ने त घरि ओरालो हानिनुपर्ने । हाई अल्टिच्युडबाट तल झर्दा धेरै गाह्रो हुन्छ । होसियारीपूर्वक परिस्थितिलाई सामना गर्न सक्नुपर्छ ।

तर, अल्ट्राधावक भाइबहिनीका लागि सरकारले राम्रो वातावरण मिलाइदिए धेरै नेपाली प्रतिभाले राम्रो परिणाम निकाल्ने उनको विश्वास छ । २७ वर्षीया मीराले विवाहका बारेमा केही पनि सोच बनाएकी छैनन् । ‘कसैसँग फिलिङ्स मिलेको छैन । न त म कोहीप्रति आकर्षित भएकी छु', उनले भनिन्, ‘अलि रफ स्टाइल देखेर होला, कसैले प्रेमप्रस्ताव राख्ने आँट पनि गरेका छैनन् । अहिले मेरो प्राथमिकता पनि करिअरमै छ ।'

जीवनमा चित्त नबुझेका केही पाटा पनि छन् उनका । पूर्वलडाकु हुनु त्यहीमध्येको एक हो । ‘बाल्यकालकै कुरा हो । अवसर सम्झेर कक्षा ७ पढ्दापढ्दै माओवादीमा लागेकी थिएँ । त्यसमा मेरो एउटा सपना थियो, गरिबीबाट मुक्ति अनि समाजका लागि केही गरौं भन्ने', मीराले स्मरण गरिन्, ‘त्यस बेला बिहान बेलुकाको छाक टार्न पनि गाह्रो थियो । पढ्ने वातावरण थिएन । भाइबहिनी सानै थिए । पछि पढौंला भनेर माओवादीमा लागेँ । दुई वर्षपछि शान्तिप्रक्रिया सुरु भयो । म सिन्धुली क्याम्पमा थिएँ । पछि त अयोग्य पो ठहर्‍यायो ।'

आफूजस्तो सबल मान्छेलाई अयोग्य भन्दा उनलाई चित्त त दुख्यो नै, सञ्चारमाध्यमले समेत वास्तविकता तोडमोड गरेर बारम्बार त्यही कुरा कोट्याइरहँदा उनलाई दुःख पनि लागेको छ । माओवादीमा लागेकोमा उनलाई कुनै पछुतो भने छैन । ‘धेरै कुरा सिक्ने अवसर पाएँ ।

नेपालभरका मान्छे भेटेँ । रमाइलोसँग जीवन बित्यो', उनले कारण खोलिन्, ‘तर म जे सोचेर माओवादीमा गएको थिएँ, मेरो घरपरिवारमा कुनै परिवर्तन देखिएन ।' शान्तिप्रक्रियामा आफूजस्तै अयोग्य ठहरिएका लडाकु महिलालाई अहिले साँच्चिकै समस्या रहेको उनले महसुस गरेकी छन् । ‘घरपरिवार छोडेर गएकाहरू न गाउँ फर्किन सकेका छन् न त अन्य अवसर नै पाएका छन् । यस्ता कुरामा सरकारको सहयोग चाहिन्छ ।'

केही न केही गर्ने जोशजाँगर पालेकी उनी सधैं अवसरको खोजीमा लागिरहिन् । सिन्धुलीबाट एसएलसी पास गरेर एग्रिकल्चर पढ्न थालिन् । जेटीए पनि पास गरिन् । उनलाई अझै धेरै पढ्न मन छ । उनको रुचिको विषय एग्रिकल्चर नै हो । समयले साथ दिए खेतीपातीको काम गर्ने, अग्र्यानिक खानेकुरा फलाउने, थोरै जमिनमा धेरै फलाउने उनको चाहना छ ।

आफू जन्मेको गाउँमा पानीको असुविधा भएकाले उनले पानी ल्याउने प्रयास पनि गरिरहेकी छन् । समयमा आफूले पढ्न नपाए पनि उनले आफ्ना दुईजना बहिनीलाई धनकुटा क्याम्पसमा पढाउँदैछिन् । मीराको प्रगति र नामबाट उनका आमाबाबु पनि अहिले साहै्र खुसी छन् ।

यसरी बने अल्ट्रा धावक

नेपाली सेनामा कार्यरत नातेदार दाइ कृष्ण गुरुङ र भीम गुरुङले सन् २०१४ मार्चमा एक दिन बिहान ६ बजे बोलाउनुभयो । यति बिहानै किन रहेछ भनेर भेटेँ। दौडिन बोलाउनुभएको रहेछ । त्यो पनि ५० किलोमिटर ।

नजिकै होला, एकछिनमा पुगिएलाजस्तो लागेर दौडिएँ तर होइन रहेछ । संयोग पनि कस्तो, त्यही दिन बाटोमा झरी र असिना पर्‍यो । काठमाडौंको शिवपुरीस्थित राष्ट्रिय निकुञ्ज हुँदै हात्तीवन पुग्नुपर्ने । तर, अठोटका साथ दौड पूरा गरेँ । त्यही दिनदेखि मेरो अल्ट्रा दौडको करिअर सुरु भयो ।

त्यो दौडपछि म मुस्ताङमा आयोजित ‘अन्तर्राष्ट्रिय अल्ट्रा प्रतियोगिता'मा सहभागी भएँ । त्यहाँ चर्चित अन्तर्राष्ट्रिय धावकहरू आएका थिए तर म विजयी बनेँ । त्यसपछि इटालीबाट आएका गुरुलाई अन्तर्राष्ट्रियस्तरका अन्य प्रतियोगितामा पनि भाग लिने चाहना व्यक्त गरेँ ।

मभित्रको क्षमता र दृढ संकल्प देखेर उहाँले चाँजोपाँजो मिलाइदिएकाले इटाली जाने मौका पाएँ । सन् २०१५ को सेप्टेम्बरमा त्यहाँ भएका दुईवटा गेम जितेर रेकर्ड बनाएँ । हङकङमा तीनवटा गेम जितेर एसियन च्याम्पियन बन्न सफल भएँ । अस्टेलियामा पनि भाग लिएँ तर कागजपत्र र भिसाका कारण त्यहाँ गएकै भोलिपल्ट दौडिनु परेकाले जेटलेक (ट्राभल सिक) भएर दोस्रोमात्रै बनेँ ।

फ्रान्समा ८० किलोमिटरको दौड जितेर विश्व वरीयतामा दोस्रो बनेँ । नर्वेमा भएको दौडमा आइसमा लडेर खुट्टामा समस्या भए पनि दोस्रो हुन सफल भएँ । स्पेनमा एक सय १० किलोमिटरको दौड १३ घन्टा तीस सेकेन्डमा पूरा गरेँ । खुट्टाको समस्या हुँदाहुँदै पनि प्रतियोगिता जितेँ । एभरेस्ट म्याराथुनसमेत जितेपछि नेसनल जोग्राफी च्यानलले ‘एडभेन्चर अफ दी इयर'मा मलाई समावेश ग¥यो । त्यो तहसम्म पुग्न मलाई सहगोग पु्र्‍उने सबैप्रति म आभारी छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.