तिवारी हत्या र प्रदेश विभाजनको विरोधमा बुटवलमा मोटरसाइकल र्याली
बुटवलः संयुक्त विद्यार्थी संघर्ष समिति रुपन्देहीले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या र प्रदेश नम्बर ५ लाई टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा मोटरसाइकल र्याली निकालेको छ।
संसदमा ५ नम्बर प्रदेशलाई विभाजन गर्ने तथा दुर्गा तिवारीलाई राजनीतिक प्रतिशोध साधेर हत्या गरेको विरोधमा शुक्रबार मोटरसाइकल र्यालीको आयोजना गरिएको संयुक्त विद्यार्थी संघर्ष समितिले जनाएको छ।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको मोटरसाइकल र्याली मिलनचोक, बसपार्क, ट्राफिक चोक, गोलपार्क कालिकानगर हुँदै योगीकुटीमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा ५ सय भन्दा बढी मोटरसाइकल सहभागी रहेका थिए।
कोणसभामा युवा संघका केन्द्रीय सदस्य धुव्र आचार्यले हत्यारा पक्राउ परी कारबाही नभएसम्म युवा संघको आन्दोलन जारी रहने बताए। तिवारी हत्यालाई आर्थिक लेनदेनसंग जोडिएर कहि कतै टिकाटिप्पणी भएपनि तिवारीको हत्या राजनीतिक प्रतिशोधले भएको दावी गरे।
त्यसैगरी अनेरास्ववियु केन्द्रीय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज सरोज पोखरेलले पहाड र तराईबीचको सम्बन्धलाई खल्बल्याउने गरी आएको संशोधन विधयेक फिर्ता हुनुपर्ने भन्दै त्यसविरुद्धको आन्दोलन जारी रहेको बताए।