‘मधेसका जनता मधेसी दलप्रति आक्रोशित छन्’
वीरगञ्ज: नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसी जनता मधेसी दलहरुप्रति निकै आक्रोशित रहेको बताएका छन्।
वीरगञ्जमा शुक्रबार नेपाल सद्भावना पार्टी पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष झाले अहिले मधेसी दलले चाहेर पनि मधेसका सबै माग पुरा गराउन सक्ने अवस्था नरहेकाले मधेसी जनता मधेसी दलहरुप्रति आक्रोशित रहेको बताएका हुन्।
उनले संसदमा सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव अपुरो भएपनि तत्कालका लागि यो प्रस्ताव पास गराउन सकिए मधेसका केही माग सम्बोधन हुन सक्ने बताए। उनले भने,‘त्यही कारण अहिलेको संशोधन प्रस्तावलाई मान्ने कि नमान्ने भन्ने अन्यौलको अवस्थामा मधेसी दलहरु छन्।’
सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भएपनि सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले नै प्रस्ताव अगाडि बढाउन गम्भीरता नदेखाएको गुनासो उनले गरे। झाले भने,‘काँग्रेस र माओवादीले संशोधन प्रस्ताव संसदमा ल्याएर फालिदिएको जस्तो देखिन्छ। प्रस्ताव पारित गराउन जुन भूमिका सत्तारुढ दलहरुले खेल्नु पर्ने हो त्यो देखिएको छैन।’
उनले एमालेको प्रतिगामी र अलोकतान्त्रिक सोचका कारण मुलुक संकटमा परेको आरोप लगाए। मधेसी जनताको माग सम्बोधनमा एमाले सबैभन्दा ठूलो बाधक बनेको भन्दै उनले यदि अहिलेको संशोधन प्रस्ताव पास नभए तीन ठूला दल झन् ठूलो अप्ठ्यारोमा पर्ने चेतावनी दिए।