लोकमानले भने, मलाई कालोमोसो दल्ने अवोध कारिन्दा हुन्, तीनलाई छोडिदिनू
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह गरेका छन्। कार्कीले सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको भने सराहना गरेका छन्।
कार्कीले आफूमाथि दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको भन्दै उनीहरुलाई कारबाही नगरी रिहा गरिदिन प्रहरीलाई आग्रह गरेका हुन्।
शुक्रवार विज्ञप्ति जारी गरी कार्कीले आफूलाई कालोमोसो दल्ने ती युवा कसैका गोटीमात्रै भएको र आफूलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्रै बुझेको उल्लेख गरेका छन्।
‘हिरासतमा लिइएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटीमात्र हुन् र मलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यन्वयन गर्ने कारिन्दाका रुपमा मात्रै मैले उनीहरुलाई बुझेको छु,' कार्कीले उल्लेख गरेका छन्। उनले वास्तविक अपराधी पर्दा पछाडि भएको पनि बताएका छन्।
‘केही महिनायता आफ्नाविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदिएकाले पक्राउ परेका ती अबोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्दछु,'कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
कार्कीमाथि सर्वोच्च अदालतको मुद्दा फाँटभित्रै बिहीबार दिउँसो सवा चार बजे विप्लव माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढाले कार्कीमाथि हातपात गर्दै कालोमोसो दलेका थिए। कालोमोसो दल्ने शाही र बुढालार्इ प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो।
यो पनि पढ्नुस्: सर्वोच्च अदालतभित्रै लोकमानलार्इ कालोमोसो