लोकमानलाई कालोमोसो दल्ने दुई युवालाई सात दिन थुनामा राख्न अनुमति
काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि कालो मोसो दल्ने दुई युवालाई सात दिन थुनामा राख्न अनुमति दिएको छ।
म्याद थपका लागि शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको प्रहरीको टोलीलाई थप सात दिन थुनामा राख्न अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिए। प्रहरीले पक्राउ परेका शाही र बुढामाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।
कार्कीमाथि सर्वोच्च अदालतको मुद्दा फाँटमै पुगेर दुव्र्यवहार गर्दै कालोमोसो दल्ने नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढालाई प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो। शाही र बढालाई बिहीबार दिउँसो प्रहरीले सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो। प्रहरीका अनुसार सार्वजनिक अपराधको अभियोग प्रमाािण्त भए एक वर्षसम्म कैद सजाय हुनेछ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले भने आफूलाई सर्वोच्च अदालतभित्रै दुव्र्यवहार गर्दै कालोमोसो दल्ने कसैका गोटीमात्रै भएको भन्दै कारबाही नगरी रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन्। शुक्रवार विज्ञप्ति जारी गरी कार्कीले आफूलाई कालोमोसो दल्ने ती युवा कसैका गोटीमात्रै भएको र आफूलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्रै बुझेको उल्लेख गरेका छन्।