लोकमानविरुद्धको रिटमा सर्वोच्चमा आज पनि बहस
काठमाडौं : अख्तियार प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानकि भन्दै परेको रिट निवेदनमा शुक्रबार पनि सर्वोच्च अदालतमा बहस भइरहेको छ।
बिहानदेखि सुरु भएको सुनुवाइमा सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ । सहन्यायाधिवक्ता किरण पौडेलले कार्की र मन्त्रिपरिषद्को प्रतिरक्षमा बहस गरिरहेका छन् । सरकारी वकिलको बहस सकिएपछि कार्कीका निजी कानुन व्यवसायीले बहस थाल्ने छन् ।
वरिष्ठ अधिवक्ता महादेव यादव, बद्रीबहादुर कार्की, कोमलप्रकाश घिमिरेलगायतले कार्कीको तर्फबाट बहस गर्दैछन् । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको विशेष इजलासमा सुनुवाइ भइरहेको छ । कार्की र सरकारको तर्फबाट बहस सकिएपछि रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको पक्षबाट जवाफी बहस हुनेछ ।
रिट निवेदकका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्र लगायतले बहस गरेका थिए।उनीहरुले कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गरेका थिए।
कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन खारेज भइसके पनि त्यसलाई पुनरावलोकन गर्ने निर्णय सर्वोच्च अदालतले गरेको थियो ।