रोडवेज यातायातको अनलाइन टिकट
काठमाडौं: रोडवेज यातायातले अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ । पश्चिम नेपालका पर्वत र बागलुङ जिल्लामा स्तरीय सेवा दिइरहेको रोडवेज यातायातले अनलाइनमार्फत टिकट काट्न सकिने बनाएको हो । रोडवेज टुर्स एन्ड ट्राभल्स प्रालिले सञ्चालन गरेको एसीयुक्त स्तरीय गाडीको टिकेट अनलाइनबाट काट्न सकिने भएको हो ।
नेपालमा अनलाइनबाट बसको टिकेट दिइरहेको बससेवा डटकमले रोडवेज यातायातका टिकेट पनि उपलब्ध गराउने रोडवेज टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक उमेश केसीले बताए । यात्रुलाई टिकेट काट्न काउन्टरसम्म पुग्ने झन्झट नहोस् भनेर बससेवासँगको सहकार्यमा अनलाइन टिकेटिङ सुरु गरिएको केसीले बताए ।
रोडवेज यातायातले सञ्चालन गरेका गाडी नेपालमै सबैभन्दा स्तरीय भएको कम्पनीको दाबी छ । एसीयुक्त गाडीभित्रै मिनी बार, बाथरुम, वाइफाइलगायत सुविधा छन् । केसीले यात्रुलाई अत्याधुनिक सुविधा दिनुका साथै सुरक्षाका लागि जीपीएस प्रविधिसमेत लागू गर्न लागिएको बताएका छन् । बससेवा डटकमका साथै इसेवा, इसेवा जोन पोइन्ट तथा नजिकका साइबर कम्युनिकेसनबाट अनलाइन टिकेट काट्न सकिनेछ ।
बससेवा डटकमले नेपालका अधिकांश रुटमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिँदै आएको छ । रोडवेज ट्राभल्सका बस बिहान ६:३० बजे काठमाडौंबाट छुट्छन् भने बागलुङबाट पनि सोही समयमा बस सञ्चालन हुँदै आएको छन् । उक्त यातायातबाट बागलुङ, पर्वत, पोखरालगायत ठाउँका वासिन्दाले प्रत्यक्ष रूपमा सेवा लिनसक्ने कम्पनीले जनाएको छ ।