एसबीआई बैंकको फेवाताल सौन्दर्यीकरण परियोजना
काठमाडौः नेपाल एसबीआई बैंकले पोखरास्थित फेवातालको सौन्दर्य बढाउने काम सुरु गरेको छ । एसबीआई मुम्बईका नायब प्रबन्ध निर्देशक सिद्धार्थसेन गुप्ताले शुक्रबार पोखरामा फेवाताल सौन्दर्यीकरण परियोजना शिलान्यास गरेका छन् ।
बैंकले पोखरा उपमहानगरपालिकासँगको सहकार्यमा फेवातालको सौन्दर्यमा सुधार ल्याउन उक्त परियोजना थालेको हो । यसका लागि बैंक र उपमहानगरपालिकाबीच गत भदौमा एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौताअनुसार बैंकले फेवातालकिनारको फुट ट्र्याकमा कम्तीमा १३ वटा प्रतीक्षालय, शौचालय, पिउने पानी वितरण कक्ष, स्वदेशी तथा विदेशी पर्यटकका लागि बैंकिङ टर्मिनल (सीडीएमऔ-एटीएम-बैंकिङ युटिलिटी) निर्माण गर्नेछ भने फेवाकिनारलाई फूल तथा हरियालीले सुशोभित गर्नेछ ।
यसैबीच बैंकले बाराही घाटमा रहेको उद्धार टावरको जीर्णोद्धार तथा सजावटको काम सम्पन्न गरिसकेको जनाएको छ । यसरी आफूले निर्माण गरेका सम्पूर्ण संरचनाको रेखदेख तथा सरसफाइको काम आगामी पाँच वर्षसम्म बैंक आफैंले गर्ने र सम्पूर्ण खर्च पनि नेपाल एसबीआई बैंकले नै बेहोर्ने बैंकले जनाएको छ ।