चन्द्रागिरि आर्थिक विकासको कोसेढुंगा
काठमाडौः चिनियाँ कम्युनिस्ट पार्टीका सचिव टाङ लियाङ्चीले चन्द्रागिरि केबलकार नेपालको आर्थिक विकासका लागि कोसेढुंगा भएको बताएका छन् ।
अनौपचारिक भ्रमणका क्रममा उनले चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्यबाट आफू अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजना निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीव्रता पाउने विश्वास व्यक्त गरे । टाङको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गरेका थिए ।
उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन, सिनो हाइड्रोका वरिष्ठ इन्जिनियर फागजुनलगायत दुई दर्जन चिनियाँ विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएका पूर्वाधारहरूका बारेमा जानकारी दिँदै चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र रहेको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक समृद्धि र त्यसबाट सिर्जित अवसरको सदुपयोग नेपालको निजी क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गरेका थिए ।