ओमको २९.२० प्रतिशत लाभांश पारित
काठमाडौः ओम डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट सेयर धनीहरूलाई २९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
गत शुक्रबार सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीको अध्यक्षतमा बसेको बैठकले वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित गरेको हो । बैंकले गत आवमा ११ अर्ब ८५ करोड निक्षेप संकलन गरेको थियो भने नौ अर्ब ९३ करोड कर्जा लगानी गरी २९ करोड ६५ लाख खुद मुनाफा गरेको थियो ।
बोनस सेयर वितरणपछि चुक्ता पुँजी एक अर्ब ३६ करोड पुग्ने बैंकले जनाएको छ । मनास्लु विकास बैंकसँग मर्ज भएपछि हकप्रद सेयर र बोनस सेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ५४ करोड पुर्याउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताएका छन् । साधारणसभाले बैंकको संस्थापकतर्फबाट चारजना र सर्वसाधारणतर्फबाट चारजना गरी आठजना सञ्चालक सर्वसम्मतिले निर्वाचित गरेको छ ।