प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा
काठमाडौः प्रभु बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा शुक्रबार बसेको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७२÷०७३ को वासलात, नाफानोक्सान, नगद प्रवाह विवरणलगायत अनुसूची पारित गरेको जनाएको छ ।
सभाले विशेष प्रस्तावअन्तर्गत जारी तथा चुक्ता पँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजारबाट वृद्धि गरी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुर्याउन १० बराबर ४ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णयसमेत गरेको छ ।
बैंकले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको जनाएको छ । साधारण सभाले ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ ।
सञ्चालकमा संस्थापक सेयरधनीका तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने, रमेशसिंह खड्का, सर्वसाधारण सेयरधनीको तर्फबाट कुसुम लामा र दक्ष पौडेल निर्वाचित गरेको हो ।