रेडक्रसका स्वास्थ्य गतिविधि विस्तारित हुने
काठमाडौः नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत उपकरणसहितको फिल्ड अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।
त्यस्तै आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स, प्राथमिक उपचार, रक्तसञ्चार, मनोसामाजिक सहयोगलगायत सामान्य अवस्थामा बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनका गतिविधि नेपाल रेडक्रसले समन्वयात्मक तरिकाले विस्तार गर्ने जनाएको छ ।
चितवनमा सुरु भएको नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यसम्बन्धी गतिविधिको तीनदिने वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । समीक्षाका क्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिले रेडक्रसले सञ्चालन गरेका एम्बुलेन्स, रक्तसञ्चार, खानेपानी, सरसफाइ, अन्धोपन निवारणजस्ता विविध क्षेत्रका गतिविधिको प्रशंसा गरेका छन् ।
आगामी ६ महिनाभित्र काभ्रे, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा उपस्वास्थ्य चौकी पुनर्निर्माण गरिने संस्थाले जनाएको छ । त्यस्तै प्राथमिक उपचारका लागि मोबाइल एप्लिकेसन बनाइने, बढ्दो सडक दुर्घटनालाई ध्यानमा दिई पैदलयात्रु, चालक, यात्रु र बालबालिकालाई लक्षित शैक्षिक गतिविधि सञ्चालन गरिने संस्थाले जनाएको छ ।