सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार न्यौपाने र बोहोरालाई
काठमाडौः प्रेस काउन्सिल-सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार- २०७३ पत्रकार स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहोरालाई मरणोपरान्त संयुक्त रूपमा प्रदान गरिएको छ ।
सानिमा बैंकद्वारा प्रायोजित यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिन्छ । पुरस्कारको राशि पाँच लाख रुपैयाँ छ । गत मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, बैंकका ब्रान्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ-हरिवंश आचार्य तथा सानिमा बैंकका अध्यक्ष विनय श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरेको बैंकले जनाएको छ ।