खाली खुट्टै दाैडिएकी सीमाले जितिन् कास्य
इटहरीः ठूला प्रतियोगिताको खासै अनुभव नबटुलेकी कैलाली टीकापुरकी १५ वर्षीया सीमाकुमारी चौधरीले देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामा पदक जित्ने अठोट गर्दा उनकै घरपरिवार र प्रशिक्षकले समेत विश्वास गरेका थिएनन् ।
यसअघि विद्यालय स्तरका प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गरेकी सीमाले धेरैको अनुमानविपरीत सोमबार आफूभन्दा अनुभवी प्रतिद्वन्द्वीलाई पछि पार्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा कांस्यपदक चुमिन् ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण ‘स्पाइक सु' सम्म किन्ने पैसा नभएपछि इटहरी रंगशालाको ‘सेन्डर ट्र्याक' मा सोमबार खाली खुट्टा नै ओर्लिएकी सीमाले महिला आठ सय मिटर दौडमा अविश्वासिलो प्रदर्शन गर्दै सुदूरपश्चिमाञ्चलका लागि कांस्यपदक जितिन् । विभागीय टोलीहरूको दबदबा रहेको ट्र्याक एन्ड फिल्ड स्पर्धामा कांस्यपदक जित्न सीमाले दुई मिनेट ३१.६२ सेकेन्ड समय खर्चिइन् ।
उक्त स्पर्धामा निर्धारित दूरी दुई मिनेट १९.४२ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईले स्वर्ण र दुई मिनेट २५.५६ सेकेन्डमा दौड सक्दै आर्मी क्लबकै सानुमाया कार्कीले रजतपदक जिते ।
‘प्रतियोगितामा सहभागी हुन आउँदा नै दोस्रा वा तेस्रा हुन्छु भन्ने विश्वास थियो', पदक जितेपछि पनि खुसीयाली मनाउनुभन्दा बढी लजालु देखिएकी सीमाले अन्नपूर्णसँग भनिन् । सीमाले पदक जित्दा उनीभन्दा बढी उनका प्रशिक्षक र सुदूरपश्चिमाञ्चल टोलीका सदस्य खुसी देखिन्थे । टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिरमा कक्षा नौमा अध्ययनरत सीमाको राष्ट्रिय खेलकुद प्रतियोगितामा यो पहिलो सहभागिता हो ।
टीकापुर राजीवपुरकी किशोरी सीमाका बुबा इन्द्रबहादुर चौधरी पेसाले घर बनाउने मिस्त्री हुन् । बाबुछोरीका अतिरिक्त उनको घरमा आमा र १३ वर्षीय भाइ छन् । बुबाको सानोतिनो कमाइबाट सीमाको चार सदस्यीय परिवार पालिएको छ ।
छोरी खेलकुदमा सक्रिय भएकोमा सीमाका बुबाआमालाई गर्व नै लागेको छ तर आर्थिक समस्याकै कारण उनीहरूले चाहेर पनि सीमाका लागि ‘स्पाइक सु' किनिदिन सकेका छैनन् । आफ्नो परिवारको आर्थिक अवस्था राम्ररी बुझेकी सीमाले पनि यसका लागि बाबुआमालाई कहिल्यै कर गरिनन् ।
‘एथलेटिक्स खेल्दा लगाउने जुत्ता महँगो हुन्छ । त्यो किन्ने हाम्रो हैसियत छैन । अनि मलाई दौडन जुत्ता किन्नु आवश्यक पनि छैन', उनी भन्छिन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य जितेपछि उनको मनोबल निकै बढेको छ । आफूले ‘ठूलो प्रतियोगिता' मा पदक जितेको कुरा उनी छिटोभन्दा छिटो बाबुआमालाई सुनाउन चाहन्छिन् तर समय मिलेको छैन । ‘अब म अरू प्रतियोगितामा पनि यस्तै खेलेर थुप्रै पदक जित्न चाहन्छु', उनले भनिन् ।
खेलमा मात्र होइन, सीमा अध्ययनमा पनि उत्तिकै अब्बल छिन् । उनको विद्यालयले उनलाई निःशुल्क छात्रावासमा बस्ने, अध्ययन गर्ने र खेलको अभ्यास गर्ने व्यवस्था मिलाइदिएको छ । उनी पनि आभारी छिन् आफ्नो विद्यालय व्यवस्थापनप्रति । ‘यो सफलतामा मेरो परिवार, विद्यालय, गुरुहरू र साथीभाइ सबैको उत्तिकै योगदान छ ।
म सबैलाई धन्यवाद भन्न चाहन्छु', बोल्नसमेत लजाउने सीमा भन्छिन् । चार कक्षामा पढ्दासम्म सधैं दोस्रा वा तेस्रा हुने सीमाले त्यसयता कहिल्यै दोस्रा हुनुपरेको छैन, सधैं पहिला । बिहान चार बजे उठेदेखि उनको दिनचर्या सुरु हुन्छ । उनले अध्ययन र खेल दुवैलाई उत्तिकै महत्व दिएकी छन् । ‘आमाबुबाले खेलकुद र पढाइ दुवैमा ध्यान दिन भन्नुहुन्छ । म उहाँहरूलाई निराश पार्दिनँ', सीमा भन्छिन् ।
भविष्यमा कुशल खेलाडी बन्ने आफ्नो सपना रहेको उनी बताउँछिन् । उनको खेलयात्रा भने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै अगाडि बढेको हो । त्यसपछि जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिता हुँदै उनी नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुदसम्म आइपुगेकी हुन् ।