केशरी, सरस्वती र कृष्णाको तीन-तीन स्वर्ण 

केशरी, सरस्वती र कृष्णाको तीन-तीन स्वर्ण 

इटहरीः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराई र कृष्णा चौधरी तथा नेपाल पुलिस क्लबकी केशरी चौधरीले आफ्नो स्वर्ण पदक संख्या तीनतीन पुर्‍याएका छन् । इटहरी रंगशालामा सोमबार भएको खेलमा सरस्वतीले महिला आठ सय मिटर दौड र कृष्णाले महिला दुई सय मिटर दौडमा स्वर्ण पदक जितेका हुन् । केशरीले भने महिला ट्रिपलजम्पमा स्वर्ण पदक हात पारिन् ।

सरस्वतीले निर्धारित दुरी पूरा गर्न दुई मिनेट १९.४२ सेकेन्ड समय खर्चिइन् । उक्त स्पर्धामा आर्मी क्लबकै सानुमाया कार्कीले रजत पदक हात पारिन् । उनले निर्धारित दुरी पार गर्न दुई मिनेट २५.५६ सेकेन्ड समय लगाइन् । सुदूरपश्चिमाञ्चलकी सीमाकुमारी चौधरी निर्धारित दुरी दुई मिनेट ३१.६२ सेकेन्डमा पार गर्दै तेस्रो भइन् ।

सरस्वतीले जारी प्रतियोगितामा पन्ध्र सय मिटर दौड र चार गुना चार सय मिटर रिले दौडमा पनि स्वर्ण पदक जितेकी थिइन् । २०६५ सालदेखि खेल्न सुरु गरेकी सरस्वतीले २०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुदमा भने सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गरेकी थिइन् । २३ वर्षीया सरस्वतीको घर डँडेलधुराको पोखरा हो ।

उनले ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पनि राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन् । रियो ओलम्पिकमा उनले १५ सय मिटर दौडमा चार मिनेट ३३ सेकेन्डको राष्ट्रिय कीर्तिमानसमेत बनाएकी थिइन् । त्यसअघि उक्त कीर्तिमान राजकुमारी पाण्डे (चार मिनेट ३४ सेकेन्ड) को नाममा थियो ।

सरस्वतीले सातौं राष्ट्रिय खेलकुदमा तीनवटा स्वर्ण पदक जित्दा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । ‘तीनवटा स्वर्ण पदक जित्दा निकै खुसी लागेको छ । त्रिभुवन आर्मी क्लबबाट मैले आफ्नो खेल तिखार्ने अवसर पाएँ, यो पदक त्यसैको प्रतिफल हो', उनले भनिन् । आठ सय मिटर दौडमा उनको उत्कृष्ट प्रदर्शन भने दुई मिनेट १३ सेकेन्ड हो ।

यसैगरी दुई सय मिटर दौडमा कृष्णाले निर्धारित दुरी २६.९० सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा २७.७२ सेकेन्डको समय निकाल्दै आर्मी क्लबकै संगीता मेचे दोस्रो र २७.७३ सेकेन्डको प्रदर्शनसहित मध्यपश्चिमाञ्चलकी प्रमिला थारू तेस्रो भए । जारी प्रतियोगितामा कृष्णाले यसअघि महिला एक सय मिटर दौड र महिला चार गुना चार सय मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन् ।

पुरुष आठ सय मिटर दौडमा पनि आर्मी क्लबकै सोमबहादुर कुमाल पहिलो भए । उनले निर्धारित दुरी दुई मिनेट ०२.४७ सेकेन्डमा पूरा गरे । उक्त स्पर्धामा आर्मीका जीवन चौधरी दोस्रो र एपीएफ क्लबका हिक्मत धामी तेस्रो भए । निर्धारित दुरी जीवनले दुई मिनेट ०४.७१ सेकेन्डमा र हिक्मतले दुई मिनेट ०४.८७ सेकेन्डमा पूरा गरे ।

यसैगरी पुरुष दुई सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका यमसाजन सुनारले बाजी मारे । उनले निर्धारित दुरी पार गर्न २१.७० सेकेन्ड समय खर्चिए । उक्त स्पर्धामा एपीएफ क्लबका आशीष चौधरी दोस्रो र आर्मी क्लबका आनन्द चौधरी तेस्रो भए । निर्धारित दुरी आशीषले २२.२२ सेकेन्ड र आनन्दले २२.२४ सेकेन्डमा पूरा गरेका थिए ।

महिला चार सय मिटर हर्डल्समा आर्मी क्लबकी दुर्गा देवकोटाले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरी एक मिनेट १०.१६ सेकेन्डमा पार गरिन् । उक्त स्पर्धामा एक मिनेट १०.६१ सेकेन्डको समय निकाल्दै एपीएफ क्लबकी सविता चौधरी दोस्रो र एक मिनेट १८.५० सेकेन्डको समयसहित पूर्वाञ्चलकी सविता श्रेष्ठ तेस्रो भए ।

यसैगरी पुरुष डिस्कस थ्रोमा पनि आर्मी क्लबकै विनोद राईले स्वर्ण पदक जिते । उनले ३५.४० मिटरको प्रदर्शन गरे । उक्त स्पर्धामा ३२.०३ मिटरको प्रदर्शनसहित एपीएफ क्लबका प्रेमबहादुर हुन्चिङले रजत र ३१.७५ मिटरको प्रदर्शनसहित नेपाल पुलिस क्लबका पुष्कल खड्काले कांस्य पदक जित्न सफल भए ।

महिलातर्फको ट्रिपलजम्पमा भने पुलिस क्लबकी केशरी चौधरीले बाजी मारिन् । उनले स्वर्ण पदक हात पार्ने क्रममा ११.७६ मिटरको प्रदर्शन गरेकी थिइन् । उक्त स्पर्धामा एपीएफ क्लबकी शिला चौधरीले रजत पदक हात पारिन् । उनले १०.५५ मिटरको प्रदर्शन गरिन् । आर्मी क्लबकी संगीता मेचे १०.४१ मिटरको प्रदर्शनसहित तेस्रो भइन् । केशरीले जारी प्रतियोगितामा यसअघि महिला हाइजम्प र लङजम्पमा स्वर्ण पदक जितेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.