क्लिंकर उत्पादनमा लगानीको तयारी
काठमाडाैंः आरएमसी ब्रान्डमा पाइप (ब्ल्याक/जीआई), जस्तापाता, सिमेन्ट उत्पादन गरिरहेको घरानाले क्लिंकर उद्योगमा लगानी गर्ने भएको छ । पाँच वर्षयता थप लगानी नगरेका विष्णु अग्रवाल क्लिंकर उत्पादनमा ठूलो लगानी गर्न तम्सिएका छन् ।
दैनिक एक हजार दुई सय टन क्षमताको प्लान्ट लगाउँदा चार अर्ब ५० करोड रुपैया“जति लगानी हुन्छ । एक हजार आठ सय टन क्षमताको प्लान्ट बनाउने भए सात अर्ब रुपैयाँ लगानी हुन्छ । दुईमध्ये कति क्षमताको प्लान्ट लगाउने छलफल भइरहेको उनले बताए ।
क्लिंकर उत्पादन गर्न कम्पनीले केही वर्षअघि नै पाल्पामा चुनढुंगा खानी लिइसकेको छ । खानीसम्म पुग्ने बाटो बन्दैछ । प्लान्टका लागि बुटवलमा जग्गा किनिसकेका छन् । क्लिंकर किनेर ग्राइन्डिङमात्र गर्ने उद्योग अब विस्तारै विस्थापित हुने उनको निष्कर्ष छ । मुलुकमा चुनढुंगाको खानी पर्याप्त भएको क्लिंकर उद्योगको एकदम सम्भावना छ ।
ग्राइन्डिङ गर्ने उद्योग क्रमशः क्लिंकर उत्पादनमा लगानी गरिरहेका छन् । क्लिंकर उत्पादन नगरे ग्राइन्डिङ गर्ने उद्योगको बजार क्रमशः क्लिंकरसमेत उत्पादन गर्ने उद्योगले लिइदिने अवस्था छ । स्वदेशमा क्लिंकर उद्योगलाई प्रोत्साहन दिन सरकारले क्लिंकर आयातमा भन्सार महसुल बढाउँदै लगेको छ ।
फेरि आयातित क्लिंकरबाट उत्पादित सिमेन्टभन्दा स्थानीय क्लिंकरबाट उत्पादित सिमेन्टमा उपभोक्ताको विश्वास छ । क्लिंकरको उत्पादन लागत केही घटाउन सके निर्यातको पनि सम्भावना रहेको उनी बताउँछन् ।
पाइप र जस्तापाता उल्लेख्य परिमाणमा भारत निर्यात गर्नुका साथै घरेलु बजारमा पनि राम्रै उपस्थिति जनाएको आरएमसी झन्डै पाँच वर्ष थप लगानी नगरी चुपचाप बसेको थियो । यो अवधिमा उसले आक्रामक प्रवद्र्धनात्मक कार्यक्रम पनि गरेन । काठमाडौंको पुरानो व्यापारी परिवारका श्रवण अग्रवाल तीन दशकअघि साझेदारीमा राजेश हार्डवेयरमार्फत फलामजन्य उद्योगको व्यापारमा प्रवेश गरेका थिए ।
झन्डै २२ वर्षअघि राजेश हार्डवेयरबाट अलग भएर उनले राजेश मेटल क्राफ्ट स्थापना गरी पाइप उत्पादन थालेका थिए । सांसद रहेका श्रवण व्यापारबाट करिब अलग भइसकेका छन् । दुई छोरा राजेश र विष्णुले व्यापार समालेका छन् ।
ऋणको बोझ नबढाउने निष्कर्ष निकालेर केही वर्ष थप लगानी गरेको विष्णु बताउँछन् । यो अवधिमा बैंकको ऋण घटेको छ । थप लगानी नगरी ऋण तिर्नमा ध्यान दिएकाले यतिबेला कम्पनीको बैंक ऋण र बजारमा डिलरसँग उठाउनुपर्ने रकम बराबर भएको छ । ‘यस हिसाबले कम्पनी ऋणमुक्त भएको छ', उनी भन्छन् ।
उनका अनुसार विज्ञापनमा प्रशस्त खर्च गरे पनि कारोबार बढाउन उधारोमा उदार भएर बजारमा सामान नदिई कारोबार (टर्न ओभर) बढ्दैन । ‘यसैले हामीले आक्रामक प्रवद्र्धनात्मक कार्यक्रम गरेनौं', उनी थप्छन् । आक्रामक बजार प्रवद्र्धन गर्दा कतिपय व्यवसायी उधारोको ‘ट्र्याप' मा फसेको उनी बताउँछन् ।
‘फलामजन्य उद्योगमै कसैकसैको ४÷५ अर्ब रुपैयाँ उधारो उठाउन बाँकी रहेको सुनिन्छ', उनी थप्छन् । बाहिर पढेर व्यापारमा आउने तयारीमा रहेका छोराछोरीलाई ऋण तिर्न र उधारो उठाउने तनाव दिन नचाहेको उनी बताउँछन् ।