एनआईसी एसियाको प्रायोजनमा महोत्सव
कुश्माः पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवलाई एनआईसी एसिया बैंकले प्रायोजन गर्ने भएको छ ।
आगामी माघ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रायोजन एनआईसी एसियाले गर्ने भएको हो ।
झन्डै एक महिनादेखि पर्वत सदरमुकाम कुश्मा बजारमा शाखा सञ्चालनमा ल्याएको बैंकले मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको हो । त्यस्तै प्रभु बैंक, ग्लोबल आईएमई बैंक लगायतसँग सहप्रायोजकको तयारी भइरहेको छ ।
पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवका लागि नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति पर्वत र कुश्मा नगरपालिका साझेदार छन् भने सह आयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, घरेलु तथा साना उद्योग विकास समिति पर्वत, कुश्मा बलेवा यान्त्रिक पुल, पश्चिमाञ्चल क्षेत्रका जिल्ला नगर उद्योग वाणिज्य संघ र पर्वतका ४७ गाविस छन् । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
हरेक तीन÷तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झन्डै दुई सय स्टल राखिनेछन् । दुई लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा चार करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सव अवलोकनका लागि ६० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ टिकट दर तोकिएको छ ।
समग्र पश्चिमाञ्चाल क्षेत्रको पर्यटन प्रवद्र्धन, जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार, जिल्लामा उत्पादित बस्तुको प्रवद्र्धन, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने महोत्सवको उद्देश्य छ ।
महोत्सवमा कालीगण्डकीमा र्याफटिङ, प्याराग्लाइडिङ, अस्ट्रिच प्रदर्शनी, नेपालकै अग्ला र लामा तीन वटा झोलुंगे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, अल्लोका कपडा, लोक्ताका नेपाली कागज, सुन्तलाको जुस, मह, जडिबुटी, अदुवा र लप्सीका परिकार मुख्य रहनेछन् ।
त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्लास्थित विभिन्न जनजातिका फरक÷फरक साँस्कृतिक कार्यक्रम, पश्चिमाञ्चलस्तरीय पुरुष भलिवल प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुला दौड, साहित्यिक कार्यक्रम, राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनका बिक्री तथा प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिनेछ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था पनि गरिनेछ ।
अहिले महोत्सवको तयारी तीव्र पारिएको छ । अहिलेसम्म ५० प्रतिशतभन्दा बढी तयारी सकिएको मुल संयोजक हरिओम शर्मा लामिछानेले बताए । उनका अनुसार स्थान छनोट, प्रायोजक तथा सहप्रायोजकको व्यवस्था, प्रचारप्रसार र स्टल बुकिङका काम भइरहेका छन् ।
उक्त महोत्सवबाट ४० लाख रुपैयाँ बचत गर्ने र उक्त रकमले कुश्मामा व्यवस्थित खेलमैदान तथा सिटी हल निर्माण गर्ने उद्देश्य राखिएको छ ।