डिसेम्बर चटारोले राजधानीका तारे होटल भरिभराउ

डिसेम्बर चटारोले राजधानीका तारे होटल भरिभराउ

एनजीओआईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनावरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलसहित राजधानीबाहिरका सबै होटल तथा लजका बैठककक्ष एनजीओकर्मीका कारण भरिभराउ छन् ।

अहिले राजधानीका तारे होटलसहित राजधानीबाहिरका होटल तथा लजका सबै बैठक कक्ष आईएनजीओएनजीओका बैठक तथा सेमिनारजस्ता कार्यक्रम आयोजना भइरहेकाले आफूहरूलाई भ्याइनभ्याई भएको होटल सञ्चालकको भनाइ छ ।

नेपालगन्ज

द्वन्द्वपीडित चन्द्रकला उप्रेती डिसेम्बर लागेपछि व्यस्त छिन् । बेपत्ता परिवारकी उप्रेती केही दिनअघि मात्र स्नेहा होटलमा सञ्चालन भइरहेको द्वन्द्वपीडित महिलाको पाँचदिने तालिममा सहभागी भइन् । 'द स्टोरी किचन' नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको यो तालिम अगाडि इन्सेकको कार्यक्रममा सहभागी भएकी थिइन् उनी । 'दिनकै व्यस्त छु, कहिले कसले बोलाउँछ कहिले कसले, जानैपर्‌यो', धम्बोजीकी उनले भनिन्, 'बोलाएजति कार्यक्रममा जानसमेत पाएकी छैन ।'

गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) का कार्यक्रमले गर्दा डिसेम्बरमा उप्रेतीझैं देशैभरि थुप्रैको व्यस्तता बढ्छ । तिनले वर्षको अन्तिम महिना गोष्ठी, समीक्षालगायत कार्यक्रम गर्छन् । एनजीओआईएनजीओको यो शैली आर्थिक वर्ष सकिने असारमा सरकारी अड्डाले बजेट सक्न गर्ने चटारोभन्दा फरक छैन ।

गैरसरकारी सस्था महासंघ बाँकेका अध्यक्ष प्रमोद रिजाल ६ दिनदेखि सिद्धार्थ भ्यु होटलमा 'एक्सन एड' का पार्टनर संस्थाको समीक्षा बैठकमा व्यस्त छन् । बजेट सक्नुपर्ने भएकाले एनजीओआईएनजीओका धेरै कार्यक्रम अंग्रेजी वर्षको अन्तिम महिनामा हुने गरेको उनी बताउँछन् । 'कार्यक्रम डिसेम्बरमा सक्नैपर्छ, नत्र सन्देश नराम्रो जान्छ, पैसासमेत फिर्ता जान्छ र घट्छ पनि', उनी भन्छन्, 'अगाडि सक्नुपर्ने कार्यक्रम पनि गर्न नसकेको भए सकिहाल्नुपर्ने हुन्छ ।'

डिसेम्बरमा मौसम पनि अनुकूल हुने भएकाले धेरै कार्यक्रम हुने गरेको एनजीओकर्मीहरू बताउँछन् । यतिबेला नेपालगन्जका तारेदेखि सामान्य होटलसम्म सबै भरिभराउ छन् । होटल सिग्नेट कृष्णाका सञ्चालक दीपेन्द्र अग्रवाल दिनहुँजसो गैरसरकारी संस्थाका कार्यक्रम भइरहेको बताउँछन् । होटल व्यवसायी संघ बाँकेका महासचिव भीम कँडेलका अनुसार डिसेम्बर लागेपछि यहाँका होटल 'प्याक' छन् । नेपालगन्जमा आधा दर्जन तारेसहित ७ सय होटलरेस्टुरेन्ट छन्, जहाँ डिसेम्बर लागेपछि कुनै न कुनै संस्थाका कार्यक्रम भइरहेकै छन् । मध्यपश्चिमका साथै सुदूरपश्चिममा काम गर्ने ठूला संस्थाका कार्यक्रम यहीं हुन्छन् ।

नेपालगन्जमा एक्सन एड, प्लान नेपाल, युनिसेफ, सेभ द चिल्ड्रेन, हेफर इन्टरनेसनल, यूनएनडीपी, विश्व खाद्य कार्यक्रम, हेलेन केयरलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यालय छन् । त्यस्तै इन्सेक, सिविन, आरआरएन, फियान नेपाल, माइती नेपालजस्ता राष्ट्रिय गैरसरकारी संस्थाका क्षेत्रीय कार्यालयसमेत यहीं छन् । गैसस अध्यक्ष रिजालका अनुसार ५० बढी क्षेत्रीय तथा जिल्लास्तरका गैरसरकारी संस्था नेपालगन्जमा छन् ।

कर्मकाण्डी कार्यक्रम
डडेल्धुरा

दातृ निकायबाट सहयोग प्राप्त सुदूरपश्चिम पहाडका एनजीओलाई बजेट सक्न भ्याइनभ्याइ छ । एकपछि अर्का संस्थाका कार्यक्रम भइरहेकाले सदरमुकामका होटललज व्यस्त छन् । संघसंस्थाले वर्षको अन्तमा आएर बजेट सक्न कार्यक्रम गर्दा उपलब्धीविहीन हुनुका साथै पारदर्शी नहुने सरोकारवाला बताउँछन् । 'सरकारी कार्यालयलाई असार मसान्त लाग्छ भने गैरसरकारी संस्थालाई डिसेम्बर लागेको छ,' एक गैरसरकारी संस्थाका कर्मचारीले नाम नबताउने सर्तमा भने, 'वर्षभरि फुर्सदिला रहेका संघसंस्था पनि डिसेम्बरमा बजेट सक्न जुर्मुराएका छन् ।'

वर्षभरि नै संघसंस्थाले विकासे काममा चटारो देखाउँदा उपलब्धि हुन्थ्यो भन्ने कल्पना कुँवर बजेट सक्नकै लागि गैरसरकारी संस्थाले सदरमुकाममा बोलाएर कार्यक्रम गरिरहेको बताउँछिन् । सदरमुकामका होटलको सट्टा गाउँघरमै कार्यक्रम लक्षित हुनुपर्ने भए पनि त्यो हुन नसकेको उनले बतइन् । गैरसरकारी संघसंस्थाका कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको र सदरमुकाममै तालिम, गोष्ठी आदि कर्मकाण्ड पूरा गर्नमै सकिने भनेर आलोचित छन् ।

पहिले सञ्चालन गरिएका कार्यक्रमको उपलब्धि लेखाजोखा मापन गरिनुपर्ने उल्लेख गर्दै बगरकोट–५ का राजबहादुर महता भन्छन्, 'संघसंस्थाका कार्यक्रम आमजनतासमक्ष पुगिरहेका छन् या छैनन्, त्यसको सरकारी पक्षबाट निगरानी तथा निरीक्षण हुनु जरुरी छ ।'

पछिल्लो समयमा जिल्ला सदरमुकामका होटल संघसंस्थाका कार्यक्रमले भरिभराउ भएको होटल दि ग्रिनल्यान्डका योगेन्द्र रावलले बताए । गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष टेकराज पाण्डेयले भने उद्देश्यमूलक काम भइरहेको दाबी गर्दै यसलाई डिसेम्बरको चटारो भन्न नमिल्ने बताए । 'सरकारी संघसंस्थाको असार मसान्तजस्तै एनजीओको डिसेम्बर हो,' उनी भन्छन्, 'खातापाता बन्द हुने भएकाले सबैलाई हतार हुन्छ, तर चटारो भन्न मिल्दैन ।'

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा पाँच सय गैरसरकारी संस्था दर्ता छन् । गैरसरकारी संस्था महासंघमा ८० वटा संस्था आबद्ध छन् ।

धुलिखेलमा भ्याइनभ्याइ
बनेपा

धुलिखेलका होटल र रिसोर्टका पार्किङ आईएनजीओका चिल्ला गाडीले खचाखच छन्, रुममा पाहुना तिनकै कर्मचारी र सहभागी । डिसेम्बरमै आईएनजीओका समीक्षा गोष्ठी, छलफल, तालिममा करोडौं सकिँदैछ ।
जिल्लाका विकासे संस्थामा सामाजिक सेवाको भावनाभन्दा पनि पैसा कसरी कमाउने भन्ने प्रवृत्ति बढी देखिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा बताउँछन् । गैससले एकद्वार प्रणालीमा भन्दा आफूखुसी काम गर्ने गरेको उनको आरोप छ । 'ती पारदर्शी छैनन्, कामभन्दा हल्ला बढी गर्छन्,' उनले भने ।

चौमासिक र वार्षिक कार्यक्रमको प्रतिवेदन बुझाउनुपर्ने, बुझाउँदैनन् । सामाजिक संघसंस्था जिल्ला प्रशासन कार्यालयले दर्ता र नवीकरण गर्ने नीति सरकारको भए पनि दर्ता भएका संघसंस्थाको अनुगमन, मूल्यांकन र सहयोगका लागि कुनै संरचनाको विकास गरिएको छैन । दलित, महिला, बालबालिका, अपांग र जनजातिका क्षेत्रमा काम गर्ने उद्देश्य राखेर दर्ता भएका अधिकांश संघसंस्थाको बजेट सेमिनार र गोष्ठीमै सकिने गरेको छ ।

जिल्लाको गैरसरकारी संस्थाको तथ्यांकअनुसार हालसम्म एक हजार आठ सय ५० एनजीओ दर्ता छन् ।
कार्यक्षेत्र विकट गाउँमा देखाए पनि सदरमुकाममा कार्यालय राखी काम गर्ने दर्जनौंको संख्यामा गैरसरकारी संस्था छन् । संस्थाको उद्देश्यअनुसार जेजस्ता कार्यक्रम सञ्चालन भए पनि ती संस्था दुर्गम गाविसमा भने पुग्ने गरेका छैनन् ।

जिल्लामा हाल ११ आईएनजीओ समाजकल्याण परिषद्बाट अनुमति लिएर कार्यरत छन् । तिनले जिल्लामा आव २०७२७३ मा तीन अर्ब १५ करोड ९० लाख २९ हजार एक सय बजेट थियो । साउनदेखि ३२ वटा गैरसरकारी संस्थाले जिल्लाका विभिन्न क्षेत्रमा ४१ करोड ६२ लाख ८० हजार सात सय रुपैयाँको कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला विकास समितिकी एनजीओ शाखाकी अधिकृत माया बादेले जानकारी दिइन् । 'दर्ता गर्छन्, पछि सम्पर्कमा आउँदैनन् काम गरेनगरको थाहै हँदैन', उनले भनिन् ।

अधिकांश आईएनजीओहरूको कार्यावधि पाँच वर्षको छ । सहयोग रकम सदुपयोग भए अनुगमन गर्ने स्रोतसाधन छैन । बादेका अनुसार जिल्लामा महिलासम्बन्धी ३२, शिक्षामा ३०, स्वास्थ्यमा २७, कृषिमा नौ एनजीओ सक्रिय छन् ।

धुलिखेलका अधिकांश होटल गोष्ठी र सेमीनारले धानिएका छन् । राजधानीबाट ३० किलोमिटर दुरीमा रहेको धुलिखेलका अधिकांश होटलमा दिनहँजसो हुने सेमिनारगोष्ठी आम्दानीको मुख्य स्रोत हो । भूकम्पपछि एनजीओआईएनजीओको कार्यक्रमको बाढी आएकाले यहाँका होटल प्रायः भरिभराउ हुने गर्छ । काभ्रे होटल तथा रिसोर्ट व्ययसायी संघका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ श्रेष्ठका अनुसार वर्षमा पाँच महिना मात्रै पर्यटक आउने सिजन भएकाले होटल चलाउन गाह्रो थियो ।

पछिल्लो समय आन्तरिक पर्यटनसँगै संघसंस्थाको सेमिनार र गोष्ठी हुन थालेपछि १२ महिनै सहज तरिकाले होटल सञ्चालनमा छन् । धुलिखेलका होटलमा सेमिनार र गोष्ठी नभएको दिनै हँदैन । दैनिक २० देखि ३० वटासम्म सेमिनार एउटै होटलमा हँदै आएको छ । प्रेमकण्ठका अनुसार धुलिखेलका होटलहरूमा सेमिनार र गोष्ठीबाट वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । हरेकले दिनमा एकदेखि पाँचवटासम्म कार्यक्रम पाएका छन् ।

अरनिको होटल, धुलिखेल माउन्ट प्रिन्सेस, द्वारिकाज, धुलिखेल तालिम केन्द्रलगायतले सेमिनार र गोष्ठीलाई ध्यानमा राखेर रुम र कार्यक्रम हल थपेका छन् । बल्थलीसम्म पनि सेमिनार र गोष्ठी हुने क्रम बढेको छ । धुलिखेलदेखि बल्थलीसम्मका होटलमा सेमिनार प्याकेज रहेको छ । उनीहरूले आन्तरिक पर्यटन र सेमिनार बढाउन नेपाली संघसंस्थालाई र नेपालीका लागि आकर्षण गर्न केही रकम सहुलियतसमेत दिने गरेको व्यवसायीहरू बताउँछन् ।

डिसेम्बरमा एनजीओ सक्रिय
जनकपुरधाम

धनुषामा पनि एनजीओआईएनजीओलाई समीक्षा, मूल्यांकन, अभिमुखीकरण आदि कार्यक्रम गर्न भ्याइनभ्याइ छ । वर्षभरमा नामसमेत नसुनिएका सञ्चालित कार्यक्रमबारे डिसेम्बरमा चर्चापरिचर्चा हुने गर्छ । अंग्रेजी क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालन गर्ने एनजीओले डिसेम्बरमा आफ्ना कार्यक्रमको आन्तरिक प्रगति सर्वेक्षण र अभिलेखीकरण गरेर डोनर संस्थालाई बुझाउनुपर्ने हुनाले व्यस्त रहने जानकी महिला जागरण समूह (जवास) का कार्यकारी निर्देशक राजन नेपालले बताए ।

गैरसरकारी संस्था महासंघको धनुषा शाखामा आबद्ध ७५ वटा संस्थामध्ये जिल्लामा कार्यसम्पादन २५ वटा जतिले मात्र गर्दै आएका छन् । अधिकांश संस्था डिसेम्बरमा कार्यक्रमको प्रतिवेदन बनाउने, आन्तरिक समीक्षा र छलफल गर्ने काममा व्यस्त रहने गैरसरकारी संस्था महासंघ नेपाल धनुषाका अध्यक्ष धीरेन्द्रबहादुर सिंहले बताए ।
अधिकांश संस्थाले जिल्लाबाहिर कार्यक्रम गर्ने हुँदा यहाँका होटलले तिनको फाइदा पाएका छैनन् ।

राजधानीमा उस्तै
काठमाडौं

आईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनवरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलका बैठककक्ष भरिएका छन् । अहिले राजधानीका तारे होटलका सबै बैठक कक्ष आईएनजीओकै बैठक तथा कार्यक्रमले भ्याइनभ्याइ भएको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले बताए ।

उनका अनुसार आईएनजीओकै कार्यक्रमले गर्दा डिसेम्बर होटलको बिजनेस हुने सिजन हो । आईएनजीओका लागि अहिले पाँचतारे होटलका तुलनामा तीनतारे र चारतारे होटल अलिक आकर्षण हुने गरेको उनको भनाइ छ ।
शाहका अनुसार होटलको बिजनेस सिजनअनुसार हुने भए पनि अक्टोबरदेखि डिसेम्बसम्म आईएनजीओकै कार्यक्रमले होटलको बैठक कक्ष भरिने गरेका छन् ।

आईएनजीओका लागि डिसेम्बर सबैभन्दा बढी 'पिक आवर' भएकाले पनि वर्षभरिको कार्यक्रमको समीक्षा गर्ने तथा प्रतिवेदन बनाउने समय हो । त्यसैले पनि होटलका बैठककक्ष भरिभराउ हुने गरेको शाहको बुझाइ छ ।
अहिले राजधानीका तीनतारेदेखि पाँचतारेसम्म होटलका बैठककक्ष आईएनजीओको बैठकले भरिएका छन् ।

वर्षभरिको कामको प्रगति विवरण बनाउनुपर्ने भएकाले होटलमा आउने र दिनदिनै सभा गर्ने काम सामान्य जस्तै भएको होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रह्लादराज कुँवरले बताए ।

हिमालय होटलमा चारवटा सेमिनार हल छन् । विगत एक महिनादेखि सबै हलमा आईएनजीओकै कार्यक्रमले प्याक छन् । उनका अनुसार होटलले दैनिक चारदेखि साढे चार सयजनासम्मलाई दैनिक सेमिनारसहितको सुविधा दिइरहेको छ । कक्टेल डिनरसम्मको कार्यक्रमको सेवाले होटललाई भ्याइनभ्याइ भइरहेको पनि उनको भनाइ छ ।

वार्षिक प्रतिवेदनका लागि मात्रै नभएर त्रैमासिक तथा अर्धवार्षिक प्रतिवेदनका लागि पनि होटलमै कार्यक्रम हुन्छन् । जिल्लाबाट आउनेलाई तालिम, रिफ्रेसमेन्ट कार्यक्रम होटलमै हुन्छ । आईएनजीओको कार्यक्रम होटलको आम्दानीको उपयुक्त माध्यम भएको होटल सांग्रिलाका ब्याङ्वेट सेल्स म्यानेजर जित लामाले बताए । उनका अनुसार सरकारी संस्थालाई दियो भने पैसा उठाउनै ढिलो हुन्छ । आईएनजीओलाई दिँदा समयमै पैसा आउने र कार्यक्रम व्यवस्थापन गर्न पनि सहज हुने होटल व्यवसायीको अनुभव छ ।

उनका अनुसार सांग्रिलामा सयभन्दा बढी एनजीओ र आइएजीओले वार्षिक रूपमै नियमित कार्यक्रम गर्ने गरेका छन् । एउटा संस्थाले वार्षिक आठ वटासम्म कार्यक्रम होटलमा गर्ने गरेका छन् । लामाका अनुसार सांग्रिलामा ५० जनासम्मको जम्मा दुईवटा सेमिनार हल छ । यो हल विगत दुई तीन महिनादेखि आगामी जनवरीसम्का लागि भरिभराउ छ ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालका अनुसार आईएनजीओको नेपालमा 'पेपर वर्क' मात्रै बढी तर व्यावहारिक काम भने कम हुने गरको प्रतिक्रिया दिए ।

उनका अनुसार पाँचतारे होटलमा कार्यक्रम गरेर पैसा सक्ने आईएनजीओकै कारण एनजीओ पनि त्यस्तै हुन् भन्ने आरोप लाग्ने गरेको छ । एनजीओले कुनै पनि पाँचतारे होटलमा कार्यक्रम गरेर पैसा सक्ने काम नगर्ने पनि लम्सालको दाबी छ ।

नेपालमा काम गर्ने एनजीओलाई बद्नाम गराउने आईएनजीओ नै भएको लम्सालको बुझाइ छ । समाजकल्याण परिषद्का अनुसार हाल नेपालमा दुई सय ५४ वटा आईएनजीओले नवीकरण गरेर काम गरिरहेका छन् ।
(नेपालगन्जबाट सुरेन्द्र काफ्ले, डडेल्धुराबाट वन्दना बम, काभ्रेबाट श्रीराम केसी, जनकपुरबाट मनिका झा र काठमाडौंबाट राजु बाँस्कोटाको रिपोर्ट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.