आफ्नै प्रतिबद्धताविरुद्ध दलहरू

आफ्नै प्रतिबद्धताविरुद्ध दलहरू

कहिले अख्तियार प्रमुख लोकमानविरुद्ध महाभियोग प्रस्ताव, कहिले संविधान संशोधन त कहिले स्थानीय निकाय निर्वाचनको राग अलाप्ने, तर काम केही नगर्ने सरकार र दलीय नेतृत्व यतिबेला दरबार हत्याकाण्डको प्रतिवेदन खोजीतर्फ केन्द्रित भएको छ । उनीहरूको यस किसिमको व्यवहार देख्दा लाग्छ, सरकार दृष्टिकोणविहीन मात्र होइन, हतास एवं आत्मसुरक्षाको भावनाबाट ग्रसित हुन पुगेको छ ।

किनभने सरकार जनपक्षीय अभियान सञ्चालनको लागि जनअभिमत प्राप्त अग्रदस्ता हुने गर्छ । तर जब त्यही दस्ता संकुचित स्वार्थपूर्तिको फेरमा परेर आफ्नो जिम्मेवारीबाट विमुख हुन पुग्छ, त्यतिबेला त्यसले जनसमर्थन मात्र गुमाउँदैन, ऊ सरकार हुँ भन्ने नैतिक अधिकारबाट समेत च्युत हुन पुग्छ । त्यसैगरी राजनीतिक पार्टी पनि जनभावनाको प्रतिनिधित्व गर्दै त्यसको परिपूर्तिको लागि प्रयत्नशील हुनेहरूको सञ्जाल हुने गर्छ, जुन सञ्जाल निश्चित आदर्श एवं मूल्यहरूद्वारा निर्देशित हुन्छ ।

तर जब त्यही सञ्जाल आदर्श एवं मूल्यविहीन हुन पुग्छ, त्यतिबेला त्यसले प्रदर्शन गर्ने जनपक्षधरता खोक्रो आडम्बरमा परिणत हुन पुग्छ । अनि त्यस्तो पार्टी र ठगहरूको झुन्डबीच निकै कम भिन्नता बाँकी रहन्छ । नेपाली समाज यतिबेला यसै किसिमको स्थितिबाट गुज्रिइरहेको छ । जहाँ लोकतन्त्र, अग्रगमन र समाजवादको झन्डामुनि लुटतन्त्र, राष्ट्रिय आत्मसमर्पणवाद र अराजकताले प्रश्रय पाएको छ । जुन कुरोले नेपाली जनतालाई फेरि वर्तमान स्थितिको विकल्प खोज्न बाध्य तुल्याएको छ ।

जहाँसम्म विकल्पको खोजीको कुरा छ, नेपाली जनताले विगत ६६ वर्षदेखि त्यसकै खोजीमा संसदीय-निर्दलीय, राजतन्त्रात्मक-गणतन्त्रात्मक, धर्म सापेक्ष-निरपेक्ष, एकात्मक-संघात्मक, निरंकुशतन्त्र-प्रजातन्त्र र लोकतन्त्र सबैखाले विकल्पहरू अपनाइसकेका छन् । तर केही अपवादजन्य अवस्थाबाहेक सबै विकल्पप्रति उनीहरूको समान भोगाइ रह्‍यो । यसो हुनुको पछाडि दुई मूल कारण रहेका छन् । प्रथम, व्यवस्था परिवर्तन भए पनि पात्रहरू परिवर्तन हुने गरेका छैनन् ।

दोस्रो, पात्रहरू परिवर्तन भएको अवस्थामा पनि उनीहरूको चिन्तन र कार्यशैलीमा परिवर्तन देखा पर्ने गरेको छैन । यद्यपि जनता व्यवहारमा परिवर्तन चाहन्छन्, तर परिवर्तन विद्यमान नेतृत्वले अघिल्लो पुस्तालाई गर्ने दोषारोपणसम्म मात्र सीमित हुने गरेको छ । यसको उदाहरण हरएक परिवर्तनपश्चात्का पात्रहरूद्वारा प्रदर्शित व्यवहार हुने गर्दछ । हामीले देख्यौं, १०४ बर्से राणाशासन समाप्त पार्न संघर्ष गर्नेहरू राणाशासन समाप्तिपश्चात् देशलाई कुन दिशातर्फ उन्मुख तुल्याउने भन्नेबारेमा त्यति स्पष्ट हुन सकेनन् ।

उनीहरूले राणाहरूको विरोध र सत्ता स्वार्थलाई आदर्श ठान्न पुगे । जसले गर्दा दलहरूबीच द्वन्द्व सिर्जना हुन पुग्यो । दलीय द्वन्द्व र खिचलोबाट फाइदा उठाउँदै राजाले सत्तासीन दलभित्रकै पात्रहरू प्रयोग गरेर संसदीय व्यवस्थालाई नै उल्टाइदिए । देशमा संसदीय व्यवस्था असफल भएको दाबीसहित देशलाई माथिबाट लादिएको प्रजातन्त्र होइन, तलबाटै जनसहभागितामा आधारित राजनीतिक परिपाटी आवश्यक छ । त्यस किसिमको परिपाटी पञ्चायती प्रजातन्त्र नै हुन सक्छ भनी निर्दलीयता थोपर्ने राजाको प्रयासलाई व्यवस्था विरोधीहरूको मात्र नभई पञ्चहरूकै व्यवहारले असफल तुल्याइदियो ।

यसैक्रममा २०४६ को जनआन्दोलनपश्चात् पुनस्र्थापित दलीय व्यवस्थामा पनि यसका सञ्चालक एवं हर्ताकर्ताहरूले एकातिर पञ्चायत व्यवस्थाको तीव्र आलोचना गर्ने र अर्कोतिर आफूहरू पञ्चहरूकै जनविरोधी कार्यशैलीलाई पछ्याउँदै जान थाले । उनीहरूलाई यस कार्यमा पञ्चायत ढलेपछि दलीयता स्विकार्न बाध्य पञ्चहरूले निकै सघाए । जसले गर्दा संसदीय व्यवस्थाले पञ्चायतकै नयाँ संस्करणभन्दा भिन्न स्वरूप ग्रहण गर्न सकेन । संसद्वादी दलहरूको यस किसिमको कार्यशैलीले संसदीय व्यवस्थालाई निकै बद्‍नाम तुल्यायो ।

जुन कुराले माओवादी 'जनयुद्ध' हुँदै ०६२६३ को जनआन्दोलनको पृष्ठभूमि तयार पारिदियो । तर ०६२६३ को जनआन्दोलन नेपालको राजनीतिक इतिहासमा एउटा लक्षविहीन आन्दोलन थियो । जहाँ २००७ को आन्दोलन एकतन्त्रीय राणाशासनको अन्त्यको लागि थियो, २०४६ को आन्दोलन निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्यप्रति लक्षित थियो ।

तर ०६२६३ को आन्दोलनको राज्य पुनर्संरचना गर्दै समावेशी लोकतन्त्रको स्थापनाबाहेक राजनीतिक व्यवस्था निर्माण सम्बन्धमा कुनै घोषित सर्वस्वीकार्य लक्ष थिएन । थप निरंकुश राजतन्त्रको समाप्तिको कुरा थियो । तर यसबारेमा दलहरूका फरक-फरक व्याख्याहरू थिए । यसरी राज्य व्यवस्था सम्बन्धमा ठोश लक्षबिना सञ्चालित जनआन्दोलनको सफलतापश्चात् दलहरूले परस्पर सौदाबाजी गर्दै आआफ्ना ‍एजेन्डाहरू थप्दै गए ।

यसरी दलहरूलाई एजेन्डा थप गर्न प्रेरित गर्ने वा दबाब दिनेहरूमा आन्तरिकभन्दा बाह्य पात्रहरूको प्रधान्यता रह्‍यो । जसले गर्दा त्यसरी थपिँदै गएका एजेन्डाहरूलाई समेटेर निर्माण गरिएको संविधानको स्वामित्व जनआन्दोलनकारी शक्तिहरूले नै लिन चाहेनन् । यसरी जनस्वामित्वको अभावमा संविधानमा राखिएका विषयहरूलाई कार्यान्वयनमा लैजाने सन्दर्भमा द्विविधा र अलमल सिर्जना हुनु स्वाभाविकै थियो ।

देशमा यतिबेला आफैंले तर्जुमा गरेको संविधानलाई इमानदारीपूर्वक लागू गर्ने पक्षमा कुनै एउटा पक्ष पनि रहेको पाइँदैन । सबैको जोड संविधानलाई आफ्नो स्वार्थसिद्धिको माध्यम बनाउने विषयमा मात्र रहने गरेको छ । जबकि संविधाननिहित स्वार्थपूर्तिको लागि नभएर राष्ट्र र जनताको बृहत् हितलाई जगेर्ना गर्ने हेतुले तर्जुमा गरिएको दस्ताबेज हो । यससँगै संविधान कार्यान्वयन सन्दर्भमा हामीकहाँ दुइटा प्रवृत्ति देखा परे । प्रथम, संविधानको गुणगान गर्दै त्यसलाई आफ्नो सुविधा र इच्छाअनुसार प्रयोग गर्दै जाने ।

दोस्रो, संविधानलाई आफ्नो स्वार्थसिद्धि हेतुले प्रयोग गर्न सकिने स्थिति भएन भने त्यसलाई अस्वीकार गर्दै जुन रूपमा पनि संशोधनको लागि तयार हुने प्रवृत्ति । यी दुवै संविधानवादको मान्यताविरोधी एवं संविधानलाई प्रयोजनरहित दस्ताबेजको रूपमा परिणत गर्ने प्रवृत्तिहरू हुन् । यस किसिमको कार्य सबै पक्षबाट हुने गरेको भए पनि सत्तामा पुग्नेहरूबाट अझ बढी हुने गरेको छ ।

हिजो आफू सत्तामा छँदा सत्ता स्वार्थकै लागि केपी ओलीले संविधानका कतिपय व्यवस्थाहरूको गलत किसिमले प्रयोग र अनावश्यक संशोधन गरेका थिए भने आज पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकारले ओलीको पदचिन्हलाई अझ झन् विकृत रूपमा पछ्याइरहेको छ । यसबाट विद्यमान दलीय नेतृत्वमा सत्ता स्वार्थको लागि जे पनि गरिदिने अनि मैले गरेको सबै ठीक, अरूले गरेको बेठीक भन्नेजस्तो हठी प्रवृत्तिको विकास हुन पुगेको देखिन्छ । थप रूपमा आफ्नो हठलाई परिपूर्ति गर्न विदेशी शक्तिको आडभरोसा खोज्ने कार्यले स्थिति झन् जटिल बन्न पुगेको छ, जुन कुरोको मार देश र जनताले खेप्नु परिरहेको छ । यसबाट जनताले 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने नेपाली उखान चरितार्थ भइरहेको महसुस गरेका छन् ।

दलहरूको यस किसिमको प्रवृत्ति कायम रहेसम्म देशको अवस्थामा सुधार आउने देखिँदैन । दलीय नेतृत्वबाट प्रदर्शित यस किसिमको व्यवहारले दलीय नेतृत्व कतिसम्म बेइमान छ भन्ने कुरासँगै ऊ सहजै सुध्रिँदैन भन्नेसमेत प्रकट गर्दछ । यस कुरालाई स्वयं दलहरूबीच २०६२ मंसिर ७ गते भारतको नयाँदिल्लीमा सम्पन्न बाह्रबुँदे समझदारीको बुँदा नम्बर ६ र ७ मा उल्लिखित कुराले राम्रोसँग प्रस्ट्याउँछ ।

जनस्तरबाट वाञ्छित सजगता प्रकट नभएको र विदेशीहरूका काँधमा चढ्‍न पाएकै कारण यतिखेर राष्ट्रघाती एवं जनविरोधीहरूको हौसला बढेको छ । यसरी हौसिएर उन्मादमा मनपरी फलाक्दै गर्दा उनीहरू जनसमक्ष झन् नराम्रोसँग नांगिन पुगेका छन् । तर स्वाभिमानी जनहरूले पनि बुझ्नुपर्छ, आफ्नो सामुन्ने राष्ट्र एवं जनविरोधीहरूले उन्माद प्रकट गरिरहँदा पनि मौन बस्नु भनेको लाछी हुनु हो ।

त्यसमा दलहरूले 'विगतका गल्ती-कमजोरीहरूको आत्मालोचना गर्दै भविष्यमा गल्ती, कमजोरी हुन नदिन नेकपा (माओवादी) ले प्रतिबद्धता व्यक्त गरेको छ' (बुँदा ६) । 'सात राजनीतिक दलहरूले विगतमा संसद् र सरकारमा छँदा भएका गल्ती, कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती नदोहो‍र्‌याउने प्रतिबद्धता व्यक्त भएको छ' (बुँदा ७) भनी प्रतिबद्धताहरू व्यक्त गरेका थिए । नेपाली जनताले दलहरूद्वारा व्यक्त यिनै प्रतिबद्धता हेरेर अब दलहरू सुध्रिने छन् भन्ने विश्वासका साथ उनीहरूलाई ०६२६३ को जनआन्दोलनमा साथ दिएका थिए ।

दलहरूले जनतामाझ उल्लिखित प्रतिबद्धताहरू व्यक्त गरेका ११ वर्षहरू व्यतित भइसकेका छन् । यसबीच उनीहरूले संसद् र सरकारमा छँदा गरेका गल्ती नदोहो‍र्‌याउने कुरा त परै जाओस्, अझ भयंकर गल्तीहरू गरेर देश र जनतालाई उम्कनै नसक्ने खाडलमा जाकिदिएका छन् । उनीहरूले सत्ता स्वार्थको लागि जस्तोसुकै फोहोरी खेल खेल्ने र राष्ट्रिय सम्पत्तिमा लुट मच्चाउने कार्यमा मात्र आफूलाई सीमित नराखेर खुलारूपमा विदेशीहरूको दलाली गरिरहेका छन् । राष्ट्रिय ढुकुटीबाट तलब, भत्ता, सुविधा लिँदै सरकारले प्रदान गरेको सुरक्षा घेराभित्रबाट खुलेआम विदेशीको दलाली गर्ने र उसकै निर्देशनमा देश टुक्र्याउन पछि पर्दैनौं भन्नेसम्मका अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।

उनीहरूले यसो गरेर बाह्रबुँदेमार्फत जनसमक्ष गरेको सम्झौताको उल्लंघन गरेका छन् । यहींनेर प्रश्न उभिन्छ- के दलहरूलाई यसो गर्ने हक छ ? दलहरूले जनतासमक्ष गरेको प्रतिबद्धताविरुद्ध आचरण गर्दछन् भने जनताको के दायित्व बन्छ ? तर यसबारे प्रेस, नागरिक समाज कतैबाट पनि प्रश्न उठाउने गरेको पाइँदैन ।

यसै सन्दर्भमा हालै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियताको विषयलाई लिएर सरकार एवं दलहरूको नेतृत्वलाई लक्षित गर्दै आफ्नो असन्तुष्टि प्रकट गरेका छन् । ज्ञानेन्द्रलाई पनि अन्य नागरिकलाई जस्तै राष्ट्र र जनताको पक्षमा चिन्ता गर्ने र आफ्नो कुरा राख्ने अधिकार छ । हो, उनले राजतन्त्र पुनस्र्थापना गर्ने षड्‍यन्त्रहरू गर्न पाउँदैनन् । तर ज्ञानेन्द्रको उक्त अभिव्यक्तिलाई लिएर प्रधान एवं उपप्रधानमन्त्रीले उनलाई तर्साउन दरबार हत्याकाण्डको प्रतिवेदन खोजी गर्ने कुरा सार्वजनिक गरेका छन् । यसले सरकारको कमजोर मानसिकतालाई प्रदर्शन गर्दछ ।

उनीहरूको यस किसिमको व्यवहारले दुइटा कुरा प्रकट गर्दछ । प्रथम, राष्ट्र टुक्र्याउँछौं भन्नेहरूलाई धाप मार्नेहरूले त्यस्ता कार्यको विरोध गरेबापत दरबार हत्याकाण्डको फाइल पल्ट्याउने कुरा गर्नुले उनीहरू राष्ट्रघातलाई दरबार हत्याकाण्डको छानबिनको विषय उठाएर ढाकछोप गर्न खोजिरहेका छन् भन्ने देखाउँछ । दोस्रो, निश्चय पनि दरबार हत्याकाण्ड मात्र नभएर मदन भण्डारी हत्याकाण्डको समेत छानबिन होस् भन्ने जनचाहना रहेको छ ।

तर के सरकारसँग यसो गर्ने आँट छ ? अहँ उनीहरूसँग यसो गर्ने आँट छैन । कारण यदि यी दुवै हत्याकाण्डको निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढ्‍यो भने उनीहरूले त्यसमा आफ्ना विदेशी प्रभुहरूको संलग्नता भेट्नेछन् । त्यसो भइदियो भने उल्टै त्यस तत्वले यिनीहरूको भ्रष्टाचार र जनहत्याका विवरण बाहिर ल्याइदिनेछ । अनि उनीहरू आफैं असुरक्षित हुन पुग्नेछन् । त्यसैले सरकारमा बस्नेहरू एवं बहुरंगी दलको नेतृत्वले दिने यस किसिमको घुर्की आफ्ना कर्तुतहरू छोप्ने र त्यसकै आडमा थप राष्ट्र एवं जनघाती कार्यहरू गर्ने षड्‍यन्त्र मात्र हुन सक्छ- छट्टु स्यालले चिल आयो भनी चल्ला टिपेजस्तै । त्यसैले स्वाभिमानी राष्ट्रवादी नेपालीहरू यस किसिमका हर्कतहरूबाट सजग हुनुपर्छ । यस्ता षड्‍यन्त्रहरूको भण्डाफोर गर्नुपर्छ ।

हुन त जनस्तरबाट वाञ्छित सजगता प्रकट नभएको र विदेशीहरूका काँधमा चढ्‍न पाएकै कारण यतिखेर राष्ट्रघाती एवं जनविरोधीहरूको हौसला बढेको छ । यसरी हौसिएर उन्मादमा मनपरी फलाक्दै गर्दा उनीहरू जनसमक्ष झन् नराम्रोसँग नांगिन पुगेका छन् । तर स्वाभिमानी जनहरूले पनि बुझ्नुपर्छ, आफ्नो सामुन्ने राष्ट्र एवं जनविरोधीहरूले उन्माद प्रकट गरिरहँदा पनि मौन बस्नु भनेको लाछी हुनु हो ।

विचार गरौं त, उन्मादी र लाछीहरू मात्र बाँचेको समाज कहीं कतै सभ्य समाजमा गणनायोग्य हुन सक्ला ? अनि के त्यसले राजनीतिक एवं आर्थिक विकासको यात्रा तय गर्ला ? त्यसैले राष्ट्र जोगाउन सबैले आआफ्नो ठाउँबाट सक्दो खबरदारी गर्नैपर्छ । जनसजगता र खबरदारीले नै धेरै कुरा ठाउँमा ल्याइदिनेछ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.