पहेलो रङ नलगाए घरकाे नक्सापास रोक्का
भैरहवाः सिद्धार्थनगर नगरपालिकाले घरको बाहिरी भित्तामा पहेलो रङ नलगाउनेको घर नक्सापास नगर्ने भएको छ । उक्त निर्णयलाई नगरपरिषद्बाट पास गराउने तयारी भइरहेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिए ।
नगरभित्रका बजार एवं बस्तीका घरमा समान रङ प्रयोग गर्न नगरबासीलाई प्रेरित गर्ने उद्देश्यले यस्तो अभियान थालिने उनले बताए । ‘घरभित्र जुनसुकै रङ लगाए पनि बाहिरी भागमा पहेलो रङ नलगाउनेको घर नक्सापास हुँदैन’, रेग्मीले भने, ‘नयाँ निर्माण हुने र पुराना घरमा पनि रङ लगाउनुपर्ने गरी निर्णय हुँदै छ ।’
नगरपरिषद्बाट रङको अन्तिम टुंगो लगाउने र कडाइका साथ कार्यान्वयन गरिने उनले बताए । नगरपालिकाले त्यसका लागि वडा भेलाहरू सम्पन्न गरिसकेको जनाएको छ । नगरपालिकाको यो अभियानप्रति भैरहवाबासी सकारात्मक देखिएका छन् ।
छतछतमा बुद्धको झन्डा
प्रत्येक घरका छतमा बुद्ध झन्डा फराउने अभियान पनि थालिएको छ । भैरहवाको मुख्य बजार बैंकरोडबाट उक्त अभियान सुरु गरिएको हो । बैंकरोड बजारका घरका छतमा मंगलबार बुद्धको झन्डा फहराएर अभियान सुरु गरिएको छ। बाह्य तथा आन्तरिक पर्यटक भैरहवा आउँदा बुद्धको झल्को गराउन सिद्धार्थनगरका प्रत्येक घरमा झन्डा गाड्ने काम पनि थालिएको छ ।
भैरहवा मर्निङ ग्रुपको समन्वयमा पहिलो चरणमा बैंकरोडका घरमा बुद्धको झन्डा राखिएको हो । झन्डामा पाँच रङ छन् । नीलो, पहेंलो, रातो, सेतो र कलेजी रङका कपडाका टुक्रा जोडेर बुद्धको झन्डा बनाइएको छ ।