कमल थापाले पार्टी एकताको रहस्य यसरी खोले

कमल थापाले पार्टी एकताको रहस्य यसरी खोले

भक्तपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माणसँगै नेतृत्व गर्न दुई राप्रपाबीच एकता गरिएको बताएका छन् ।

पार्टीले बिहीबार भक्तपुरको टौमढीमा आयोजना गरेको मध्यमाञ्चलस्तरीय वृहत आमसभालाई सम्बोधन गर्दै एकीकृत राप्रपाका अध्यक्ष थापाले राष्ट्रवादी प्रजातान्त्रिक शक्तिले नै देशको नेतृत्वसमेत गर्ने बताएका हुन् ।

ठूला दलहरुको कारण मुलुकमा विदेशी शक्तिहरुको चलखेल र प्रभाव बढेको भन्दै उनले ठूला दलहरुको विकल्पको रुपमा राप्रपा अघि आउने दावी गरे ।
दुई पार्टीबीच विभिन्न मतभेद बाँकी भए पनि मुलुकको अखण्डता, स्वतन्त्रता र राष्ट्रिय एकता अक्षुण्ण राख्न पार्टी एकीकरण गरिएको उनको भनाइ थियो।

‘दुई राप्रपाबीच धेरै मतभेद बाँकी थिए तर मुलुकको स्वतन्त्रता, अखण्डता र राष्ट्रिय एकता बचाउनुपर्ने बाध्यताले पार्टी एकता गर्नु परेको हो’, अध्यक्ष थापाले स्पष्टीकरण दिए, ‘सत्ता स्वार्थले पार्टी एकता गरेका होइनौं । पार्टी एकता गरिँदा पनि हामीले हिजोको सिद्धान्त, विचार र मल्यमान्यतालाई बिर्सेका छैनौं ।’

नेता थापाले संविधानसभाको नाउँमा मुलुकमा जातीयको आधारमा संघीयताको बिजारोपण गरिएको धारणा राखे । उनले संविधानसभाकै आडमा मुलुकमा विखण्डनको आवाज उठेको र विदेशीलाई अंगीकृत नागरिकता दिने राष्ट्रघाती काम भएको सुनाए ।

ठूला दलहरुको अकर्मण्यता र असफलताले मुलुक अन्योलको दलदलमा फसिरहेको उनको भनाइ थियो । ‘सत्तामा जान विदेशीहरुको आशिर्वाद चाहिने खालको ठूला दलहरुको आत्मसमर्पणवादी सोचले मुलुक नै रहने कि नरहने अवस्थामा पु¥याएको छ’, अध्यक्ष थापाले भने, ‘जसले गर्दा राष्ट्रियता संकटमा परेको छ । धार्मिक, सांस्कृतिक, भाषिक एकता खलबलिएको छ । तर ठूला दलहरु कोठे बैठक गरेर जालझेल र भागबन्डामै मस्त छन् ।’

उनले संविधानअनुसार २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संघको निर्वाचन हुने सम्भावना क्षीण बन्दै आएको बताए । राजनीतिक अस्थिरताले आर्थिक अवस्था जर्जर अवस्थामा पुगेको भन्दै उनले मुलुकमा राजनीतिक स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

कार्यक्रमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्पपछिको पुनर्निर्माणमा उदासीन भएको भन्दै सरकारको आलोचना गरे ।

सरकारमा मन्त्री रहेका आफ्ना नेताहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा नेता राणाले जाडो बढेसँगै भूकम्प पीडितहरुको जीवनयापन कठिन बनेकाले पुनर्निर्माणलाई तीव्र बनाउन ध्यानाकर्षण गरे ।

पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्रको नाउँमा ठूला दलहरुको लुटतन्त्र र भागबन्डाले मुलुक आक्रान्त बनेको धारणा राखे ।

त्यस्तै कार्यक्रममा पार्टीका महामन्त्री एवं भूमिसुधारमन्त्री विक्रम पाण्डे, आपूर्तिमन्त्री दीपक बोहरा, सहमहामन्त्री भुवन पाठक, केन्द्रीय सदस्यहरु दिनेश श्रेष्ठ, रवीन्द्रप्रताप शाह, रामेश्वर थापा, नायिक रेखा थापा, गायिकाद्वय मीरा राणा र कोमल वलीलगायतले अबको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्ने दावी गरे ।

कार्यक्रमा नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाह र राप्रपा भक्तपुरका प्रर्वअध्यक्ष स्व. सुरेन्द्रप्रताप शाहको तस्बिरमा माल्यार्पण गरिएको थियो । त्यस्तै कार्यक्रमअघि भक्तपुरका विभिन्न ठाउँमा निकालिएको र्याली टौमढीमा समापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.