धनीलाई मात्र उच्च शिक्षाको पहुँच हुनु हुँदैनः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीलाई मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
बिहीबार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रचण्डले आर्थिक हैसियत भएका विद्यार्थीलाई मात्र उच्च शिक्षाको पहुँच हुन नहुने बताउँदै भने, ‘यस आवश्यकतालाई त्रिविले पुरा गर्ने अपेक्षा गरेको छु ।’
समारोहमा प्रमुख अतिथिको रुपमा पुगेका संस्कृतिविद् डा. सत्यमोहन जोशीले शिक्षाको घाम सर्वत्र लाग्नुपर्छ भन्ने नारालाई झारा टार्न मात्र शिक्षण संस्था खोल्न नहुने बताए ।
‘यहाँं धनी वर्गले सन्तानलाई धेरै लगानी गरेर पढाइरहेका छन् । तर गरिब वर्गका छोराछोरीले पनि उत्तम शिक्षा प्राप्त गर्ने व्यवस्था हुनुपर्छ’ जोशीले भने, ‘आज विश्वविद्यालयमा पनि तिनै धनी वर्गका सन्तानले मात्र प्रवेश पाएका छन् । गरिब वर्गका प्रतिभावान सन्तानले पनि अर्थ अभावले प्रवेश पाउन सकिरहेका छैनन् ।’
समारोहमा शिक्षामन्त्री तथा सहकुलपति धनीराम पौडेलले दीक्षित विद्यार्थीलाई देशबाट मैले के पाएँ भन्दा पनि के दिएँ वा के दिँदैछु भन्ने भावना राख्न अनुरोध गरे ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाँले आउने दिनमा विश्वविद्यालयले अझ बढी क्रियासिल भएर मुलुकको उच्च शिक्षाको प्रवद्र्धनमा लाग्ने बताए ।
बिहीबार स्नातक, स्नातकोत्तर र पिएचडी उपाधि प्राप्त गरेका ८३ हजार चार सय २५ जना दीक्षित भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा आयोजित दीक्षान्त समारोहमा भने ९ हजार ७ सय ३४ जना मात्र उपस्थित थिए ।