पृथ्वीजयन्तीमा सार्वजनिक छुट्टी: सरकारको निर्णय चाँडै
काठमाडौं: नौ वर्षअघिको गृह मन्त्रालयको निर्णय रद्द गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिवसलाई सार्वजनिक छुट्टी घोषणा गरी उनलाई सम्मान गर्नुपर्ने केही मन्त्रीको सुझावमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबैसँग परामर्श गरी उचित निर्णय लिने बताएका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकमा कांग्रेसका अर्जुननरसिंह केसी र प्रकाशशरण महतले पृथ्वीजयन्तीमा छुट्टी नदिनुले राष्ट्रनिर्माता र नेपाल एकीकरणप्रति उदासीनता देखाइएको अर्थ लाग्ने हुँदा तत्काल उचित निर्णय लिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
सहरी विकासमन्त्री केसीले आज आफूहरू नेपाल र नेपालीका नाममा मन्त्री हुन पाउनुमा शाहको योगदान रहेको उल्लेख गरेका थिए । उनले भने, 'राष्ट्रिय एकीकरणजस्तो विषयलाई लोकतान्त्रिक सरकारले ओझेलमा पार्नु राम्रो हुँदैन ।'
छलफलका क्रममा एक मन्त्रीले डेलिगेसन आएको भरमा विदेशीलाई रिझाउने उद्देश्यले छुट्टी दिने, क्रिसमस छुट्टी दिइने तर राष्ट्रनिर्माताप्रति सम्मान नदेखाउनुले गलत सन्देश दिने तर्क राखेका थिए । गृहमन्त्रीले उक्त प्रश्नलाई हाँसोमा उडाएको मन्त्रिपरिषद् स्रोतको दाबी छ ।
परराष्ट्रमन्त्री महतले संघसंस्थाहरू 'डेलिगेसन' आएकै भरमा सार्वजनिक बिदा दिनुको उद्देश्य सरकारको नियन्त्रणमा राज्य नरहेको सन्देश दिनु होइन भन्ने प्रश्न राखेका थिए ।
नेकपा (संयुक्त) संसदीय दलका नेता एवं वातावरणमन्त्री जयदेव जोशीले मन्त्रिपरिषद्मा प्रस्तावसहित नभएर संयुक्त एजेन्डामा परार्मश हुँदा पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसमा पुस २७ मा सार्वजनिक बिदा दिनुपर्छ भन्ने आवाज उठेको बताए ।
उनले अन्नपूर्णसँग भने, 'हाम्रो मुलुकमा बिदा धैरै भएको हुँदा केही थप र केही कटौती गरौं भन्नेमा अनौपचारिक सहमति भएको छ । पृथ्वीजयन्तीका विषयमा बिदा दिनुपर्ने/नपर्ने भन्नेमा आगामी बैठकमा निर्णय हुनेछ ।'
पृथ्वीजयन्तीको छुट्टीबारे प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, 'म राजनीतिक स्तरमा समेत छलफल गरेर यस विषयमा अघि बढ्छु ।'
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं आपूर्तिमन्त्री दीपक बोहोराले आगामी मन्त्रिपरिषद् बैठकमा आधिकारिक रूपमै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सार्वजनिक बिदाको प्रस्ताव लैजाने बताए । मन्त्री बोहोराले बिहीबार अन्नपूर्णसँग भने, 'राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णयसमेत भएको उक्त एजेन्डा मन्त्रिपरिषद्बाट अनुमोदन गराउनु मेरो कर्तव्य नै हो ।'
आम नेपाली र सबै राजनीतिक दलबीच मुलुकको एकताका लागि शाहको योगदानका बारेमा भएको सकारात्मक सोचाइका कारण आफूले प्रधानमन्त्रीलाई यसबारेमा थप भनिरहनु पर्लाजस्तो नलाग्ने उनले बताए । २०६२/६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्रीस्तरको निर्णयबाट पृथ्वीजयन्तीलाई सार्वजनिक छुट्टीको सूचीबाट हटाएका थिए ।