मोर्चाको बैठकपछि आजै निर्णायक वार्ताको तयारी
काठमाडौं : मधेसी मोर्चाले संविधान संशोधन, निर्वाचन घोषणालगायतका विषयमा सरकारसँग निर्णायक वार्ता गर्न आज आफ्नो अडान सार्वजनिक गर्दैछ।
बिहीबार बसेको मोर्चाको बैठक शुक्रबार पनि बिहानदेखि जारी छ। बैठकपछि अपरान्ह १ बजे पत्रकार सम्मेलन गरेर मोर्चाले आफ्नो अडा र निर्णय सार्वजनिक गर्नेछ। संभवतः मोर्चाले शुत्रबार नै सरकारसँग निर्णयाक वार्ता गरेर टुंगोमा पुग्ने तयारी गरेको छ । सरकारले पनि मोर्चालाई वार्ताका लागि निम्ता दिइसकेको छ।
मोर्चामा सम्मिलित सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले भने, 'आजै हामी एउटा निर्णायक विन्दुमा पुग्छौं। सरकारसँग पनि अब हाम्रो निर्णायक वार्ता हुन्छ ।'
मोर्चाले संविधान संशोधनबिना चुनाव हुननसक्ने अडान राख्दै आएको छ। संविधान संशोधन नगरीकन चुनाव घोषणा गरे बहिष्कार गर्न रणनीति मोर्चाले बनाएको छ। संविधान संशोधनअघि नै चुनाव गर्ने तयारीमा सरकार केही लचिलो देखिएपछि मोर्चाले बैठक बसेर दबाब दिन थालेको हो ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बुधबारको बैठकले स्थानीय चुनाव घोषणा गर्ने बारेमा आन्तरिक छलफल गरी एक साताभित्र टुंगोमा पुग्ने निर्णय गरेपछि मोर्चा थप शसंकित भएको हो। संशोधन नगरीकन चुनाव घोषणा गरे मोर्चा पुनः आन्दोलनमा जाने चेतानवी दिएको छ ।
सरकारले मंसिर १४ गते मधेसलाई सम्बोधन गर्न विधेयक दर्ता गराए पनि विपक्षीको अवरोधका कारण अहिलेसम्म संसद् त्यो विधेयक प्रवेश गर्न पाएको छैन। एमालेलगायतका आठ विपक्षीहरुले संविधान संशोधनअघि चुनाव घोषणा हुनुपर्ने अडान राख्दै मंसिर १६ गते संसद्मा निरन्तर अवरोध गर्दै आएका छन् ।