‘अब गुरुङलार्इ राष्ट्रपति र प्रधानमन्त्री पद टाढा छैन'
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन्।
तमू ल्होछार, २०७३ को उपलक्ष्यमा बिहीबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिता दिएको बताए ।
प्रधानमन्त्री दाहालले भने-‘वर्तमान सरकारको सम्पूर्ण ध्यान संविधानलाई सर्वस्वीकार्यता र अपनत्व गराउँदै निर्वाचन सम्पन्न गर्नमा नै केन्द्रित छ, यस कार्यमा सहयोग र साथ दिन म आम जनसमुदायलाई अपिल गर्दछु ।'
राष्ट्रिय एकताले मात्र सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सकिने बताउँदै उनले भने- ‘जातले भन्दा विचारले उत्पीडित जनताको अधिकार स्थापित गर्न सकिन्छ ।'
प्रधानमन्त्री दाहालले आफूले उत्पीडित वर्गका पहिचान र अधिकार स्थापित नभएसम्म राजनीतिक लडाइँ लडिरहने बताए ।
‘गणतन्त्र स्थापना भएपछि मधेसी समुदायबाट राष्ट्रको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा पुग्न सफल भएको, अहिले राष्ट्रको सर्वोच्च पदमा महिला, सभामुख पदमा जनजाति महिला, प्रधानन्यायाधीश महिलाले नेतृत्व प्रदान गरिरहनुभएको छ, यो नै समावेशीको उत्कृष्ट उदाहरण हो' उनले भने ।
‘अब गुरुङ समुदायबाट पनि राष्ट्रपति र प्रधानमन्त्री पद प्राप्त गर्ने दिन टाढा छैन,' उनले भने-‘गुरुङ जातिको पर्व तमू ल्होछार मनाउन सरकारबाट दिँदै आएको रकम दोब्बर पारिने छ ।'
कार्यक्रममा गुरुङ सुमदायबाट विद्यावारिधि प्राप्त गर्ने र सो समुदायको उत्थानमा काम गर्नेलाई सम्मानसमेत प्रदान गरिएको थियो ।
सोही अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खाना महोत्सवसमेत आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ, माओवादी केन्द्रका नेता देव गुरुङ, सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय एकताले नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । रासस