यसरी फैलियो इसाई धर्म

यसरी फैलियो इसाई धर्म

पन्ध्रौं/सोह्रौं शताब्दीमा युरोपीय जातिमा विशेष गम्भीर जागृति पैदा भयो । प्राचीन युनानको ग्रिक ल्याटिन सभ्यताका ज्ञान/विज्ञान हराएजस्ता भएका थिए र त्यहाँ एक किसिमको अज्ञानता छाएको थियो । त्यस बेला एसिया महाद्वीपमा इस्लाम धर्मको बोलवाला थियो । विशेषतः स्पेनी, पोर्चुगाली इसाईहरूको मुसलमानहरूसँग ठूलो शत्रुता थियो ।

युरोपेलीहरू यिनै मुसलमानमार्फत भारतवर्षसँग व्यापार सम्बन्ध कायम गर्थे । समुद्री मार्गबाट भारतवर्ष पत्ता लाउन पाए, यति लामो स्थलमार्गबाट खतरा मोलेर बैरी देशका माध्यमबाट व्यापार कारोबार गरिरहनुपर्ने थिएन भनेर युरोपेलीहरू छटपटाइरहेका थिए । यसैकारण भारत पत्ता लगाउन भनेर ठूलाठूला जहाज चढेर समुद्री मार्गबाट पूर्व लाग्थे । आउँदाआउँदा अफ्रिका महाद्वीप कति छ/कत्रो छ भन्ने अन्दाज नहुँदा ती नाविक त्यहाँ आइपुगेर ठोकिन्थे ।

परन्तु भारतवर्षको वैभव ऐश्वर्यको आकर्षणले तानिएका युरोपवासी जति हन्डर खाए पनि, जति नष्ट भ्रष्ट मृत भए पनि हार खाँदैनथे । युनानीलाई पृथ्वी गोलो छ भन्ने थाहा थियो । एक जना कोलम्बस नामक महानाविक स्पेनकी महारानी इसाबेलले दिएको जंगी जहाजमा चढेर साथीसंगातीसाथ पश्चिम दिशातिर लागे । पश्चिमबाट तल घुमेर पनि त पूर्व भारत पुगिएला भनेर । एटलान्टिक महासागर पार गरेर सं. १५४९ मा अमेरिकाको माथि पुगे । यही हो भारत भनेर बसे । पछि त्यसको नाम वेस्ट इन्डिज 'पश्चिम भारत' भन्ने रह्यो । अमेरिका पत्ता लगाउने यिनै भए, युरोपेलीको आवागमन त्यहाँ त्यसै बेलादेखि सुरु भयो ।

त्यसको पाँच वर्षपछि भास्कोडिगामा नामक अर्का पुर्चगाली महानाविकले अफ्रिका महाद्वीप परिक्रमा गरी बल्लबल्ल भारतको पूर्वी तट क्यालिकटमा आफ्नो जहाज उतारेर कोठी खोले । अनि क्रमैले भारतका पश्चिमी तटमा पनि पुर्तगालीका धेरै नै व्यापारिक कोठी स्थापित भए । धनको ओइरो लायो । सँगसँगै इसाई धर्मको प्रचार सुरु भयो । एक हातले इसाई धर्म प्रचार गर्ने अर्को हातले धन सोहोर्ने काम गर्न लागे ।

धर्म प्रचार गर्न र व्यापार गरी धनसम्पत्ति उपार्जन गर्न पनि एसिया युरोपेलीका लागि अति उर्वर भूमि साबित भयो । पुर्तगालीको उत्तरोत्तर उन्नति देखेर धमाधम ओलन्देज डच आफ्ना असंख्य व्यापारिक माल लादेका जहाज भारतभरका बन्दरगाहमा उतार्न लागे । डचहरू समुद्री किनाराका देशमा सीमित रहेनन् । राजधानी पुगेर मुगल बादशाहको अनुमति लिएर आगरा, बडौदा, पटना, अहमदाबाद आदि ठूला सहरमा पनि व्यापारिक कोठी खोल्न समर्थ भए ।
अघि पुर्तगालीहरूले अरबीका ठूला व्यापारिक जहाज लुटेर आफ्नो व्यापारधन्दा बढाएका थिए । त्यसरी नै अहिले डचहरूले पुर्तगालीहरूकै जहाज लुटेर व्यापारलाई एकाधिकार गर्न चाहे ।

डच पुर्चगालीहरूको एसियामा भएको व्यापार अभिवृद्धि देखेर/सुनेर ब्रिटिसहरूले पनि सं. १६५७ मा महारानी एलिजावेथको आदेशले इङ्ल्यान्डमा 'इस्ट इन्डिया कम्पनी' भन्ने नामी ठूलो व्यापारिक संस्था खोले । त्यसपछि भारत व्यापारमा उनका जहाज लगातार ओइरिन लागे । अंग्रेजहरू अरू युरोपीयभन्दा चलखेल गर्न साह्रै चतुर थिए । आरम्भमै सं. १६५७ मा नै बादशाहकी छोरीलाई रोग लाग्दा अंग्रेज डाक्टरले औषधि उपचार गरेबापत शाहजहाँले अंग्रेजलाई चुँगी भन्सार माफ गरिदिएर व्यापार गर्ने इजाजत दिए ।

साथै बंगालबाट पुर्तगाली निकालिए, त्यहाँ अंग्रेजी कोठी भरिए । अंग्रेजले इसाई धर्म प्रचार गर्ने अनुमति पनि पाए । अब अंग्रेजको बल दिनप्रतिदिन बढ्न लाग्यो । पछि ओलन्देजका कयौं जहाज पस्नै नपाउने भए । फ्रान्सले पनि भारतवर्षमा व्यापार गर्न कोठी खोलेको थियो । ब्रिटिस कम्पनीका अगाडि त्यो पनि अघि बढ्न सकेन । पछि विक्रमको उन्नाइसौं शताब्दीको सुरुदेखि त भारतमा इस्ट इन्डिया कम्पनीकै शासन सुरु भयो । शिक्षा, स्वास्थ्यमात्र उसको हातमा भएन, इसाई धर्म पनि खुलेआम प्रचारमा आउन लाग्यो । एक हातमा तरबार अर्को हातमा बाइबल बोकेर अघि बढेको ब्रिटिस साम्राज्यको प्रभाव विश्वमा फैलन लाग्यो ।

यसरी भारतवर्षमा इसाई धर्म सोझै बाटोबाट मुगलकालमा प्रवेश भएको देखिन्छ । नेपालमा भने इसाई धर्मलाई निषेध भएकाले सोझै तरिकाबाट नभएर अलि अघि बांगोटिंगो रूपबाट प्रवेश भएको देखिन्छ । त्यसको छोटकरी चित्रण यस्तो छः

नेपालमा सं. १६८५ मा जेब्राल नामका पादरी आएका थिए । त्यसपछि राजा प्रताप मल्लका पालामा सं. १७१८ मा रोमन क्याथोलिक मतका पादरी ग्रोबर र डोरविल नामक पादरी आए । यिनीहरू सोझै समुद्री मार्गबाट चीन गएका थिए इसाई धर्म प्रचार गर्ने उद्देश्यले । चीनभोटमा अंग्रेजलाई मन पराउँदैनथे । समुद्री राक्षस, राताटाउके भनेर सम्बोधन गर्थे । नेपालीहरू पनि फिरंगी कुइरे भन्दथे । चीनभोटमा धर्म प्रचार गर्न नपाएपछि ती पादरी नेपाल झरेका थिए । राजा प्रताप मल्लले यिनबाट एउटा दूरविन पाए र रोमन अक्षर पनि सिके । प्रताप मल्लले आफ्नो हनुमानढोका दरबारको शिलालेखमा चौध लिपि (मनुलिपि)का अक्षर लेखाएका छन् र आफूलाई धेरै लिपि एवं धेरै भाषाका जानकार सिद्ध गर्दै कविराज कवीन्द्र मानेका छन् ।

त्यसपछि केपुचिन पादरीको दलले कान्तिपुर र ललितपुरमा आफ्नो अड्डा जमाइसकेका थिए । यहीँबाट तिब्बत-ल्हासासम्म आफ्नो इसाई मत प्रचार गर्थे । पादरी होरेस् जुवाचिम आफ्ना आफ्ना चेलासाथ आएर आफ्नो मत प्रचार गर्दै नेपाल भारत आवतजावत गर्थे । भक्तपुरका अन्तिम राजा रणजित मल्लले बोलाएकाले जुवाचिम पुनः पटनाबाट आफ्ना चेलासाथ भक्तपुर आएर बसेका थिए । यी विदेशी साधुलाई औषधोपचार गर्ने भनेर रणजित मल्लले यिनलाई अनेक सुविधा दिएर राखेका थिए ।

दार्जिलिङमा पनि इसाई पादरीहरूको प्रवेश नेपालको जस्तै छ । चीन तिब्बतमा इसाई मत प्रचार गर्न गएका फ्रान्सेली क्याथोलिक सम्प्रदायका पादरीहरू जति गर्दा पनि असफल भएपछि फर्केर सुखिमको बाटो कालिम्पोङको नजिक रमणीय बस्तीमा ३०/३२ वर्षसम्म बसे । तिनले त्यहाँ बाइबलका राम्राराम्रा कथाको अनुवाद गरे र एउटा तिब्बत-ल्याटिन-फ्रान्सेली भाषाको शब्दकोष पनि तयार पारे । नेपालबाट निकालिएकामध्ये कतिपय बेतियाबाट दार्जिलिङ गएका थिए । बाइबलको पहिलो नेपाली अनुवाद तिनैले गरेका थिए ।

विसं १८०१ देखि गोरखाका राजा पृथ्वीनारायणले विजय अभियान प्रारम्भ गरेर विस्तारै नेपाल दुन घेर्न थाले । नाकाबन्दीताका पनि पृथ्वीनारायणले यी पादरीलाई घच्च दिएनन् । 'यी सात समुद्रपारदेखि आएका साधुसन्त हुन्' भनेर यिनलाई आउन/जान, सामान ल्याउन/लान छुट दिएका थिए । सो छुटको फाइदा उठाएर यिनीहरू भित्रभित्रै शाह राजाको विरोध गर्थे । मल्ल राजाले जति फाइदा दिएका छन् त्यति सुविधा हामीलाई गोर्खालीले किमार्थ दिँदैनन् भनेर इस्ट इन्डिया कम्पनीका अधिकारीलाई पोल लाउँथे ।

गोरखाली सेनाले घेरेर जयप्रकाशलाई आच्छुआच्छु पारी राखेका थिए । त्यस बेला उनले बैरागी साधुद्वारा ब्रिटिस कम्पनीका अधिकारीसँग सहायताको अपिल गरेर बेतियाका प्रतिनिधिकहाँ पत्र पठाएका थिए ।

काठमाडौं उपत्यका गोरखालीको नियन्त्रणमा पर्न गएमा हामीले कल्पना गरेको 'सल्ला योजना'बाट सदाका निमित्त हात धुनुपर्छ, गोरखाली सैनिकहरू बेतियाका हाम्रा गाउँसम्म लुट्न आउनेछन् । हाम्रो सैनिक सहायताले नेपालका मल्ल राजाहरू कृतज्ञ हुनेछन् र हामीलाई नेपालको बाटो गरी तिब्बत तथा चीनसम्म सञ्चार निमित्त सुविधा प्राप्त हुनेछ । 'सल्लायोजना' लागू गर्न बेतिया क्षेत्रको सुरक्षा गर्न पनि ढिलोचाँडो गोरखालीसँग निर्णायक लडाइँ नलडी सुख छैन । अहिले अनुकूल परिस्थितिमा तिनलाई परास्त गरिहाल्नुपर्छ । यस अभियानमा लाग्ने सम्पूर्ण खर्च मल्ल राजाहरू स्वयं बेहोर्न तयार छन् ।

भारतवर्षमा इसाई धर्म सोझै बाटोबाट मुगलकालमा प्रवेश भएको देखिन्छ । नेपालमा भने इसाई धर्मलाई निषेध भएकाले सोझै तरिकाबाट नभएर अलि अघि बांगोटिंगो रूपबाट प्रवेश भएको देखिन्छ ।

यस्तो सिफारिससाथको अपिलपत्र बेतियाबाट पटना पुग्यो, पटनाबाट कलकत्ता गभर्नरकहाँ पुग्यो । त्यहाँ पहिले नाकाबन्दी हटाउने आदेश दिने र नहटाए युद्ध छेड्ने भन्ने सल्लाह भयो । सं. १८२४ वैशाखमा त्यसै धम्कीपूर्ण पत्र आयो । युद्ध अवश्यम्भावी भयो । २४ सय सैनिकसाथ कप्तान किनलक लड्न कसिएर आए । गोर्खालीले सिन्धुलीगढीबाट उक्लनै दिएनन् । खजान्ची वीरभद्र उपाध्यायको नेतृत्वका गोरखाली सैनिकको संख्या त्यति ठूलो थिएन तापनि जुक्ति बुद्धिले अंग्रेजी सैन्यलाई हेलैसँग परास्त पारी धपाए । यो युद्धमा गोर्खालीको विजय नभएको भए नेपालको स्थिति के हुन्थ्यो कल्पना गर्न सकिँदैन ।

यसको ठीक अर्को साल बिनायुद्धै कान्तिपुर सहर सर भयो । कान्तिपुर, ललितपुरका राजा सुइत्त भागेकाले युद्ध भएन । भक्तपुरमा चाहिँ अलिकति गडबड भयो । भक्तपुर सर हुनासाथ आफूले दिएको सुविधा दुरुपयोग गरी 'जयप्रकाशलाई थाम्नुपर्छ, हाम्रो धर्म जोगाउनुपर्छ, आजै सैनिक हस्तक्षेप गर्नुपर्छ भोलि नै गर्नुपर्छ, नभए हाम्रो बास रहँदैन, थामिँदैन, व्यापार बिजनेस उठ्छ' भनेर दिनदिनै हुटहुटी लगाई हिँड्ने यिनै धर्मध्वजी साधु कहलिएका पादरीमाथि पृथ्वीनारायणका आँखा लागे र राम्रै मुखले यिनलाई बिदा दिए । चेलाचपेटासहित ६० जनाजति थिए ।

ती बेतियामा गएर बसे । त्यहाँ बसेर पनि रिसका मुद्रा फेर्दै पादरी जिसेप्पीले गोरखाली राजालाई भएनभएका अनेकौं अप्टिक लाएर गाली गर्दै लेख लेखेर अंग्रेजी जर्नलमा छपाएका थिए । उनका अनुयायी चेलाहरूले यो क्रम अझै चालु राखेका छन् । अहिलेसम्म त्यही घोक्दैछन् । त्यसैलाई सखेडा मानेर गोर्खाली राजालाई मात्र होइन, गोर्खाली भाषा संस्कृति अवदानलाई बदनाम गरिरहेका छन् । दुई सय ३८ वर्षपछि फेरि त्यस्तै अर्का गोर्खाली ब्राह्मण जिसेप्पीका धर्म सम्प्रदायलाई ससम्मान सुसमृद्धिसाथ सुस्वागत गरेर कृतार्थ भएका छन् ।

म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सदस्य हुँदा आफ्नो परियोजनाअन्तर्गत अढाई दर्जनजति अनुसन्धानात्मक कृति तयार पारेको थिएँ । तिनमा पाँच भाषाका आठ कृति त अनुवादात्मकै थिए । यिनमा एक यिनै क्रिस्चियन पादरीहरूका भोट भारत नेपालको यात्रा यहाँ बस्ता लेखेका पत्रहरूको सँगालोको ढड्डाको एक खण्डको अनुवाद थियो । म पछि प्रज्ञाप्रतिष्ठानमा आउनेले तिनै मैले योजनामा तयार पारेका कृतिहरू आफ्नो पारी छाप्न लागे ।

जस्तो 'तिब्बती धर्मस्वामीको भोट भारत नेपालको यात्रा वर्णन' मेरै टेबुलमा तयार पारेको कृति रामदयाल राकेश र तारानन्द मि श्र मिलेर आफ्नो पारेर छापे । त्यस्तै राजाको अनुकूल हुन सकेका चित्तरञ्जन नेपालीले आफूजस्तै अवसर हेरी चल्ने चतुर तुलसीराम वैद्य र दिनेशराज पन्तलाई सम्पादक बनाएर मेरै योजनामा तयार पारेको 'ती पादरीहरूको यात्रावर्णन पत्र संग्रह'लाई आफ्नो पारी छापे । हाम्रो देशमा प्रतिलिपि अधिकार कानुन नहुँदा वा खुकुलो हुँदा विद्वान्को बौद्धिक परिश्रममा अनुसन्धानात्मक कृतिमा लामो हात गर्नेको बिगबिगी छ । बौद्धिक शोषणको पराकाष्ठा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.