नेपाली कविताका स्कुल

नेपाली कविताका स्कुल

नेपाली कविता परम्पराका एक विशिष्ट मोड हुन्, भूपी शेरचन । शास्त्रीय छन्दको पारम्परिक पिँजडाबाट बाहिर निस्केर मुक्त छन्दको पखेटा हाली उड्न सिक्दै गरेको नेपाली कवितालाई उनले वेग दिए । एकातिर नारा र सपाट वर्णन, अर्कोतिर प्रयोग र क्लिष्ट प्रस्तुतिको उल्झनमा कविता धरमर भइरहेको त्यो सन्दर्भमा भूपीले दैनिक जीवनबाट टिपेर बिम्ब दिए, भोगाइका दृश्यलाई प्रतीक बनाए, कटाक्षको लाली लगाए ।

परिणामः सरल र सरस बान्कीमा सजिएको नेपाली कविता व्यंग्यको पुट पाएर साधारणजनको ओठ-ओठमा झुन्डिन पुग्यो । त्यसो त भूपी आफैं एकभित्र विविध भएर बाँचे । भूपेन्द्रमान शेरचन 'सर्वहारा'देखि देब्रे भूपी हुँदै दाहिने भूपी भएर संसारबाट बिदा भएका उनी नेपाली कविताको बेग्लै स्कुल हुन् ।

त्यही स्कुलमा हुर्केर आज अन्य कविहरू स्थापित भइरहेछन् । उनै भूपीको जन्मजयन्तीको सन्दर्भमा यहाँ भूपी स्कुलकै एक सशक्त कवि श्यामल र समालोचक ऋषिराम भुसालका निबन्ध र पहिलो पटक पाण्डुलिपि मासिकको २०७१ असारको अंकमा प्रकाशित उनका कुनै संग्रहमा पनि नभएका तीन कविता प्रस्तुत छ ।-सम्पादक

 

भूपीको बढ्दो सान्दर्भिकता

श्यामल

भूपी शेरचन आफ्नो समयका सबैभन्दा बढी लोकप्रिय र प्रभावशाली कवि थिए । सहजै बुझ्न सकिन्छ, त्यस लोकप्रियता र प्रभावका पछाडि आम मानिसप्रतिको उनको निष्ठा र गहिरो काव्यिक अन्तर्दृष्टि नै थिए । उनले नेपाली लोकजीवनको आन्तरिक र बाह्य लयात्मकतालाई सृष्टि गर्ने जीवनको गतिशीलता र विडम्बनालाई अनि तिनका आशा र निराशालाई राम्ररी आत्मसात् गरेका थिए ।

उनले यसअघिका कुनै कविले पनि ध्यान नदिएका नेपाली समाजका लाहुरे-लाहुरेनीको विसंगत जीवनप्रणालीलाई काव्यमा प्रतिष्ठा दिएका थिए । प्रवासी नेपालीहरूले प्रवासको व्यथा लेख्ता लाहुरेलाई आफ्ना लहरीमा वा कथा किस्सामा ल्याए पनि र गन्धर्वहरूले आफ्ना सूर र सारंगीमा लाहुरे र उसका आफन्तजनका विडम्बनापूर्ण मनोदशा व्यक्त गरे पनि लाहुरेको विडम्बनापूर्ण जीवनलाई पहिले कसैले पनि भूपीले झैं बौद्धिक बहसमा ल्याउन सकेको देखिन्न । उनले काठमाडौंको छातीमा उभिएको घण्टाघरलाई पेन्सनमा निस्केको बुढो लाहुरे बनाइदिए ।

उनी स्थानीयतालाई विश्वसँग जोड्ने यस्ता सर्जक हुन्, जसले मुस्ताङको सानो कुलोजस्तो लेते खोलालाई चीन, लाओ र भियतनाम हँदै दक्षिणी चीन सागरमा खसेर प्रशान्त महासागरमा जोडिने एसियाकै सबैभन्दा लामो र करोडौं जनताको जीवनप्रणालीसँग जोडिएको मेकोङ्ग नदीको धारसँग जोडिदिए ।

भूपीसँग किञ्चित संगत गर्ने अवसर नपाएका वा उनलाई देख्नसम्म पनि नपाएका युवा पुस्ताका कवि÷लेखकहरू मसँग प्रायशः उनको व्यक्तित्व र काव्यिक क्षमताबारे अनेकौं कोणबाट जान्न चाहन्छन् । एकातिर उनीहरू विभिन्न स्रोतबाट भूपीको कविताको शक्ति र उनले पाएको विरल लोकप्रियताबारे जानकार छन्, अर्कोतिर उनको शक्ति र सामथ्र्यका केही ईष्र्यालुहरूले उनलाई तुकवाज र उनका कवितालाई तुकबन्दी भनेर गरिरहेको टिप्पणी पनि सुनिरहेका छन् ।

भूपीको युगान्तकारी कवि व्यक्तित्वलाई खारेज गर्ने आसयसाथ केहीले गरिरहेको यस्तो कसरतले उत्पन्न गरेको भ्रमको परीक्षण गर्ने उपयुक्त सामग्रीको अभाव छ र उनका बारेमा प्रामाणिक रूपमा भनिदिने उनका खास खास मित्रहरू पनि दुनियाँबाट सशरीर बिदा भएका छन् वा जो जीवित छन् तर भूपीबारे इमानदारीपूर्वक बताउन चाहँदैनन् ।

भूपी त्यतिबेला झन् सान्दर्भिक हुँदै गएका छन्, जतिबेला देश (नारामा) गणतन्त्रमय छ तर गणबाट गणतन्त्रलाई छिनेर नवसामन्तहरूले उसलाई आफ्नो स्वार्थको झ्यालखानामा बन्दी बनाइरहेका छन् । दशकौं पहिले उनले कवितामा देखेका सपनाहरू उस्तै छन्:

सधैं-सधैं मेरो सपनामा
असंख्य युवती आमाहरू
मेरो अगाडि आउँछन् र बहुलाई झैं
'अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन'
भन्ने गीत गाउँछन् ।

हो, समकालीन नेपाली समाजले यस भयानक यथार्थको सामना गरिरहेको छ । के तपाईंलाई लाग्दैन, सशस्त्र युद्धमा हराएका छोराछोरीका आमा अझै यसैगरी आफ्ना छोराछोरीलाई फिर्ता गर भनिरहेका छन् ? के सशस्त्र युद्ध सुरु हुनुभन्दा कैयौंअघिदेखि यसरी सन्तान हराएका आमाहरूले राति सपनामा आएर कविले भने झैं 'र मलाई देखाई देखाइकन, सुँगुरका भद्दा गन्दा बच्चाहरूलाई झैं, आफ्ना अतिशय दूधले गानिएको स्तन चुसाउँछन्, अनि एक्कासि, छाती पिट्तै, कपाल लुछ्तै, मसँग आफ्ना हराएका छोराहरू माग्न थाल्छन्' भन्ने कारुणिक दृश्य सही होइन ?

काठमाडौंका सडकमा हराएका आफ्ना सन्तानको फोटो तिनै गानिएका दूध भएका छातीमा टाँसिहिँडेका आमाहरूलाई तपाईं हामी अझै देखिरहेका छैनौं त ? के यो हाम्रो समयको कुरूप दृश्य होइन ? यसरी २७ वर्षअघि भौतिक रूपमा अस्ताइसकेका कवि भूपी हाम्रो समाजमा अझ बढी सान्दर्भिक देखा पर्छन् ।

सरल शब्दमा तर कलात्मक गहन मानवीय सरोकारलाई कविता-रूप दिने अति विरल कविमा थिए, भूपी शेरचन । सरलता र गहनता विपरीतधर्मी प्रवृत्ति होइनन्, बरु यी घनिष्ट रूपमा गाँसिएका कलाको अनिवार्य पूर्व सर्त हुन् भन्ने मान्यता स्थापित गर्ने कवि गोपालप्रसाद रिमालपछिका सबैभन्दा समर्थ कवि हुन् उनी । त्यसैले बौद्धिकताका नाममा थोपरिएको क्लिष्टताका उनी घोर विरोधी त थिए नै, सरलताका नाममा कलाका आधारभूत सर्तहरूको अनुपालन नगर्ने प्रवृत्तिका पनि उनी बैरी नै थिए । यस्ता दुवै अभ्यासलाई कलाविहीन कसरत मान्दथे उनी ।

त्यसैले मसँगका कतिपय भेट र अन्तरंग संवादमा उनले महाकवि देवकोटाको प्रतिभाको विराटतालाई स्वीकार गर्दागर्दै पनि उनका कतिपय कृतिमा कलाको निर्वहन हुन नसकेको बताएको मलाई राम्रै सम्झना छ । उनी जीवनवादी थिए, उज्यालोका प्रशंसक थिए, र अन्धकारका कट्टर दुश्मन । उनी आम मानिसका आशा, सपना र सरोकारलाई कविताको आत्मा बनाउँथे ।

जर्मन कवि बर्तोल्त ब्रेख्त र नेपाली कवि भूपी दुवै गतिशीलताका उन्नायक हुन् । ब्रेख्तले 'गाडीको पांग्रो बदल्दा'मा आफूलाई कतै जानु नभए पनि उत्साहपूर्वक पांग्रो बदलिरहेको हेरेका थिए, किनकि पांग्रो जीवन अर्थात् गतिको प्रतीक थियो । किनभने जीवनवादी कविहरू गतिलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण तत्त्व मान्छन् । भूपीको 'जीवनको अँध्यारो सडकमा' सफलतालाई साइकलको डाइनामोबाट बल्ने बत्ती मानिएको छ ।

साइकलको पाइडललाई खुट्टाले घुमाएपछि बत्ती बल्छ तर जब खुट्टा थाक्छ र पाइडल चल्न रोकिन्छ, बत्ती निभ्छ । जीवनको अँध्यारो सडकमा यात्रा गर्न चाहिने उज्यालो गतिले नै दिने हो । यसर्थ गतिमान्ले नै यस दुनियाँमा सफलता प्राप्त गर्छ भन्ने भूपीलाई जीवनविरोधी कलाका नेपाली अभियन्ताहरूले रुचाउने कुरै भएन । तिनले, स्वभाववश, साइकलजस्तो आम मानिसको गतिलाई प्रतिनिधित्व गर्ने प्रतीकलाई नै खारेज गर्ने धृष्टता गर्छन् किनभने तिनलाई लाग्छ स्वयं रचनाकारले नै फुकाउन नसक्ने शब्द गुम्फनमा कतै काव्यको उत्कृष्ट गुण र अर्थात् बौद्धिकता निहित रहेको हुन्छ ।

भूपीलाई तुकबाज भन्ने केही मानिसहरूसँग पनि बेलामौकामा मेरो बहस चल्छ । तिनले उदाहरणका रूपमा तलको छोटो, सरल तर गहन कवितामा प्रयोग भएका 'चलिरहन्छ', 'बलिरहन्छ', 'रुक्छ' र 'भुक्छ' जस्ता शब्दलाई लिएर यस्तो धारणा बनाएका हुन्छन् तर यिनले कति अर्थपूर्ण र प्रभावशाली किसिमले कविले दिन चाहेको सन्देशलाई वहन गरेका छन् र पाठकको ग्रहणशीलतालाई कुन हदसम्म कवितातर्फ आकर्षित गर्न सकेका छन् भन्नेतिर किञ्चित ध्यान दिन चाहेका हुँदैनन् ।

भूपीका सबैजसो कवितामा नेपाली समाजको लय परम्परालाई गम्भीरतापूर्वक लक्ष्य गरिएको हुन्छ र तुकान्तमा रहने त्यस्तो लयले कविताको प्रभावकारितालाई धेरै हदसम्म बढाएको हुन्छ । भूपीले अनौपचारिक कुराकानीमा पनि संवादलाई रोचक बनाउने स्वभावका कारण यस्ता तुकान्तको प्रयोग गर्ने हुनाले यस्तो गलत धारणा बनाउन सहयोग गरेको हुनु सम्भव छ-

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनामोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ

हो, भूपीले महान् बन्ने उपक्रममा सयौं, हजारौं कविता लेखेर नेपाली कविताको दराज भरेनन्, रिमाललेझैं थोरै तर प्रभावशाली कविताको माध्यमबाट पाठकमाझ त्यस दराजको प्रतिष्ठा र आकर्षण बढाए । उनले आफ्ना कवितामा समकालीन समयका विडम्बनालाई प्राथमिकता दिए, नयाँ भाषा दिए र नयाँ लय दिए । तर त्यो कथ्य, भाषा र लयको जरामा नेपाली समाजको आत्मा थियो । उनका समकालीन कुनै पनि कविमा यस्तो प्रकारको प्रभावोत्पादक भाषा र लय दुर्लभ थियो । नेपाली समाजको यति सूक्ष्म चिरफार अनि नेपालीका आकांक्षाहरूको यति सटिक कलात्मक प्रस्तुति उनका समकालीन कविहरूमा पाउनु दुर्लभ थियो ।

किनभने तीमध्ये धेरै ढोंगी बौद्धिकताको चापले दबेर नेपाली समाजको आत्मासँग साइनो नभएका शब्द गुम्फनमा अल्झिएका थिए । सरलतामा गहन काव्यकला रिमालको कविता-रचनाको सबैभन्दा महत्त्वपूर्ण तत्त्व थियो भने विजय मल्लका कविता पनि रिमालको धारलाई बलियो तुल्याउने खाँबा थिए । त्यसपछिको कालखण्डमा २०१८ सालमा रूपरेखामा प्रकाशित कवितालाई शीर्षक बनाइएको 'घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६)' संग्रहका कविताले भूपीलाई रिमाल र विजयपछिका अति सजग र भिन्न कविको दर्जा दिन्छन् । २०३६ सालतिर यस लेखकसँगको भेटमा उनले आफूलगायतको नयाँ कवि पुस्तालाई 'देवकोटा र रिमालका स्वस्थ सन्तान' भनेका थिए । यसबाट देवकोटा र रिमालका अस्वस्थ सन्तान पनि यहाँ चलायमान थिए भन्न सकिन्थ्यो ।

भूपीले नेपालीहरूको स्वाधीनताका आकांक्षाहरूलाई बाँकी विश्वसँग जोडे र माछापुच्छ्रे हिमालको छायाँमा उभिएर मेकोङ्ग किनारको भियतनामी मुक्ति संघर्षलाई सलाम गरे । उनले काका हो चि मिन्हको बूढो र पातलो शरीरलाई आफ्नो गाउँको लेते खोलासँग तुलना गरे । अनि भनेः

र, मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ- 'लेते खोला'
तिमीजस्तै शान्त र दुब्लो
तर, जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठूला चट्टानहरूको पनि पाइला डग्मगाउँछ
र, बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरूले
आफूलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन् मेरो 'लेते खोला' !
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरूलाई ।

भूपीको विश्व मानवताको यस उद्घोषलाई कसले अन्यथा ठान्ला ? 'ती डलरको कात्रो बोकेर' हो चि मिन्हको 'देशमाथि आइलागेका बर्बरहरू'लाई भियतनामबाट मिल्काइदिएका थिए, भियतनामी लेते खोलाहरूले । भलै ती अहिले विभिन्न मुद्रामा अचेल पनि चलखेल गर्दैछन्, र नेपाललाई जातीय मुद्दामा फसाइरहेका छन् । ती हाम्रा जैविक र प्राकृतिक स्रोतलाई सोहोरेर हाम्रा हातमा हतियार भिडाइरहेका छन् । ती नयाँ परिधान र कलेवरमा मानवअधिकार र लोकतन्त्रको बहानामा द्वन्द्वको खेती गरिरहेका छन् ।

'को सक्छ निदाउन खरबारीमा मुढाहरू दन्किरहेको बेलामा !' आफूजस्तै एक मित्र एसियाली मुलुक अग्निकुण्डमा छटपटाइरहेका बेला कुनै पनि सचेत नेपाली निदाउन मिल्दैनथ्यो । त्यसैले भूपीले नेपाली समाजको उच्छ्वासबाट निस्केको सुक्तिमय पंक्तिको पुनराविष्कार गरे । उनले प्रत्येक गोल गोल मंगोल अनुहार भएकी आइमाइको बेइज्जतीमा नेपाली दिदीबहिनीलाई निर्वस्त्र देखे, भियतनामका बौद्ध विहारको विध्वंसमा स्वयम्भूको ज्ञानचक्षुमा आँसु उर्लिएको देखे । पाठकहरू, उनका समकालीन वा अघिका कुनै कविले यस्तो देखेका थिए त ? नेपाली कवितालाई एसिया र बाँकी विश्वको सरोकारसँग जोड्ने यस अहम् कलात्मक र वैचारिक प्रयत्नका लागि नेपाली कविता सदैव उनलाई स्मृतिमा राखिरहनेछ ।

नेपालले लुम्बिनीमा भियतनामी विहार बनाउन सघाउँदा, यस कवितालाई ध्यान दियो त ? के यो अहिलेको स्वाधीन भियतनामी जनताका लागि मोनुमेन्टल काव्य रचना होइन ? के समृद्धिको उकालो चढिरहेको भियतनामका लाखौं पर्यटकलाई भूपीको माछापुच्छ्रे, धौलागिरि, नीलगिरि र लेतखोलातिर तान्न सकिँदैन ?

भूपीले उहिल्यै भनेका थिए, 'यो हल्लै हल्लाको देश हो, खनिहेरे यहाँ हरेक घरका जगहरूमा हल्लैहल्ला पाइनेछ ।' तथ्यहरूमा नपसी, सत्यको निरूपण नगरी कसैले केही भनेको भरमा उतैतिर बतासिने हाम्रो प्रवृत्ति फेरिएको छैन । कुनै बेला हाम्रा कचहरी र संवादका हाम्रा चिया पसलहरू, हाम्रा गाउँका चौतारीहरू, हाम्रा देउराली र भन्ज्यांगहरू हल्लाखोरहरूका अखडामा रूपान्तरित हुँदै गएका छन् । हल्ला हाम्रो संस्कृतिको महत्त्वपूर्ण पाटो बन्दैछ । यसरी भूपीले हाम्रो नकारात्मक बन्दै गएको प्रवृत्तिबारे हामीलाई उहिल्यै सजग गराएका थिए । यस जीवन्त कविताले हामीलाई बारम्बार झस्काउनुपर्ने थियो, दुर्भाग्यवश, हामी झन् हल्लाखोर बन्दैछौं ।

भूपीले आफ्नो रचनात्मक जीवनमा कुनै भूगोल विशेष, नश्ल वा जाति विशेष, धर्म, वर्ण वा सम्प्रदाय विशेषलाई अधिक महत्त्व दिएनन्, साझा जातीयतालाई रोजे । उनका कवितामा व्यर्थको अहम्बोध कतै छैन । बरु तिनले अन्तरिक्षमा मरेको कुकुरको शोकमा गिर्जाघरमा रुँदो ढोंगी मानवतामाथि व्यंग्य गरे । मानवतालाई मेरो मानवता र तेरो मानवता भनेर साँध कोरेनन्, भियतनामी महिलाका अनुहारमा नेपाली नारी देखे ।

तिनले नारी सौन्दर्य र तिनले पाएको दुर्दान्त पीडाको बयान गरे । ती कथित रूपले तटस्थ बसेर कलाकारको दायित्वबाट च्यूत बन्न अस्वीकार गर्ने कवि हुन् । ती बिल्कुल पक्षधर कवि हुन् । तर, त्यो पक्षधरता आम मानिसको स्वत्वलाई उकास्ने र अमानवीय कृत्यलाई छुट दिन नमान्ने हदसम्मको हुन्छ । त्यसैले उनले धौलागिरि र सगरमाथालाई समान महत्त्व दिए, लेते र मेकोंगलाई समान रूपले बुझे, मन्दिर र देवतालाई व्यंग्य गरे, मानिसको चेतनालाई सर्वोच्च माने ।

'मैनबत्तीको शिखा'लाई भूपीको कविताकलाको उत्कर्ष बिन्दु मान्ने हो भने, 'हामी'लाई नेपाली समाजको समाजशास्त्रीय अध्ययनको सबैभन्दा उत्कृष्ट प्रस्थानबिन्दु मान्न सकिन्छ । यो त्यस्तो कविता हो जसले नेपाली समाजको मूल्यप्रणाली, अहम् बोध, स्वाधीनता प्रेमजस्ता महत्त्वपूर्ण पक्षहरूको विद्यमान ढोंगी चरित्रमाथि निर्मम प्रहार गर्छ र हामी स्वयंलाई चिन्न प्रेरित गर्छ । भन्नोस्, यो नेपाली राजनीतिक कविताको एक अब्बल दृष्टान्त हो । २०१७ सालमा रूपरेखामा प्रकाशित यस कविताले २०६० र ७० को दशकको वर्तमान नेपाली राजनीतिलाई झन् बढी सम्बोधन गर्ने क्षमता राख्छ ।

यो कविता लेखिँदा र छापिँदा, राजा महेन्द्रको निरंकुश महत्त्वाकांक्षा चुलिँदो थियो, र त्यसपछिका ३० वर्ष उनले राष्ट्रवादका नाममा नेपालीको लोकतान्त्रिक स्वतन्त्रताको अपहरण गरेर बिताइदिए । धेरै दशक लामो संघर्षपछि प्राप्त भएको वर्तमान लोकतन्त्रको स्वरूप जगजाहेर छ । त्यतिबेलै भूपीले भनेका थिए: 'अनि एकचोटि माथि पुगेपछि, हामी आफ्नो धर्तीलाई बिर्सन्छौं ।' अहिले हाम्रा क्रान्तिकारी नेताहरूले धर्ती बिर्सिरहेका छन् (धेरै अघिको कुरा होइन, केही अघिमात्र रोल्पा थवाङका जनताले र भर्खरै रोल्पा चुनवाङका जनताले प्रचण्डलाई त्यस्तै भने), 'हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाइदिनुपर्ने' (युरोपेली र भारतीय चलखेलको चर्चा त्यसै चलेको होइन, संविधान संशोधनमा लैनचौरको भूमिका हामीले हेरिराखेकै हो, हाम्रा नेताहरू कसैको गोटी भएकै हो) ।

भूपी शेरचनले नेपालीहरूको स्वाधीनताका आकांक्षाहरूलाई बाँकी विश्वसँग जोडे र माछापुच्छ्रे हिमालको छायाँमा उभिएर मेकोङ्ग किनारको भियतनामी मुक्ति संघर्षलाई सलाम गरे । उनले काका हो चि मिन्हको बुढो र पातलो शरीरलाई आफ्नो गाउँको लेते खोलासँग तुलना गरे ।

यसर्थ कविता छापिएको साढे पाँच दशकभन्दा बढी समयपछि पनि परिदृश्य उही छ । र, स्थिति झन्झन् बिग्रँदैछ ।
यसरी भूपीले हामीलाई धेरै दृष्टान्तयोग्य र अनुपम कविता उपहार दिएर गएका छन् जसले हामीलाई आफ्नो अन्तरात्माको साक्षात्कार गराउँछन्, आफैंमाथि व्यंग्य गर्छन्, आशा र अपेक्षाहरूतर्फ फर्काउँछन् । तिनले हामीलाई हाम्रा निजी र साझा सपनाको मूल्य सम्झाइदिन्छन् । तिनले हामीलाई नेपाली समाजमा फर्किन र त्यसभित्र पसेर कलाकर्मको अभ्यास गर्न प्रेरित गर्छन् । तिनले कलाको वास्तविक अर्थ लगाउन गुरुवत् सहयोग गर्छन् । तिनले हामीलाई हाम्रो नेपाली जीवनको लय समातेर मात्र कविताले जीवन्तता पाउँछ भन्ने शिक्षा दिन्छन् ।

भूपीका कविताभन्दा राम्रा र उत्कृष्ट कविता मैले वा उसले लेखेको छ भन्ने ईष्र्यालु प्राणीहरूका रचना यत्तिका गुणसम्पन्न छन् त ?

कवि भूपी शेरचनलाईभन्दा आफूलाई श्रेष्ठ देखाउन केहीले हल्ला खडा गरेका छन् । सबैभन्दा धारदार हतियार हो अशेष मल्लले 'गरिमा'का लागि लिएको उनको अन्तर्वार्ता । हो, एकपटक उनले आफूलाई दुई 'क' ले बिगारेको बताएका थिए । कवि हुनु र कम्युनिस्ट हुनुले आफू बिग्रेको भन्ने उनको व्यंग्योक्ति र त्यसको मूलभावलाई नबुझेर वा बुझ्न नचाहेर केहीले अन्यथा अर्थ लगाएका छन् । वास्तवमा भूपेन्द्रमान 'भूपी' बनेकै ती दुई 'क'ले हो भन्ने कुरा थाहा नभएर उनले त्यसो भनेका थिएनन् । उनले त्यस अभिव्यक्तिमा आफनो वास्तविक मूल्य र अर्थवत्ताको खोज गरेका थिए । उनले विभिन्न कोणबाट आफ्नो अवमूल्यन गर्ने प्रयास भइरहेको बुझेका थिए ।

यही प्रसंग मैले उनलाई सोधेको थिएँ, 'दाइको भाषा धेरैलाई पचेन क्यारे । यसो किन भन्नुभएको ? ' उनले मतिर हेर्दै फिस्स हाँसेर भनेका थिए, 'हो त, यो दुवै 'क' नभएकाहरू सप्रेका छन्, देख्नुभएकै होला ।' यसबाट उनको भनाईको तात्पर्य बुझ्न सकिन्थ्यो ।

दोस्रो, उनकै सौजन्यमा जलपान गर्ने कन्जुसहरूले उनलाई जँड्याहा बनाउने प्रपञ्चको हिस्सा हो, उनलाई कतिले बाटोबाट उठाएर पारस होटल पुर्‌याइदिएको संस्मरण । तेस्रो, उनले गरेको पछिल्लो विवाह वा अन्य रोमान्सका कुरा । यी दोस्रो वा तेस्रो गुणले सुसम्पन्न मानिसहरू त धेरै छन्, तर भूपीको जस्तो कविता तिनले किन लेख्तैनन् ? यस प्रश्नको उत्तर पहिल्याए भूपी बुझिनेछन् । उनले त्यसै भनेका थिएनन्, 'यो हल्लै हल्लाको देश हो ।'

यो पनि पढ्नुहोस् 

विचलनका माझ भूपी

भूपि शेरचनका तीन कविता

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.