कांग्रेस पैसामा बिक्योः गुरुङ
दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले वीपीको विचार कांग्रेसले बिर्सिएको बताएका छन्। देशमा मेलमिलाप र प्रजातन्त्र पुनःस्थापनका लागि वीपीले अपनाएको नीतिका कारण विदेशी हस्तक्षेपबाट देश मुक्त भएको र प्रजातन्त्र बलियो बनेको बताउँदै उनले पछिल्लो समय पार्टीले बीपीका आदर्श भुलेका कारण समस्या सिर्जना भएको बताए।
नेपाली कांग्रेसनिकट वीपी विचार समाज क्षेत्र नम्बर एकको आयोजनामा तनहुँको डुम्रेमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले वीपीको आदर्शका कारण देशमा आएको प्रजातन्त्र फेरि पनि कमजोर भएको दाबी गरे। गुरुङले पार्टीमा पैसा हुनेहरुका कुरा सुनिने गरेको बताए। ‘महाधिवेशन प्रतिनिधिहरु पनि पैसाले छानिन्छन्,’ उनले भने,‘कांग्रेसीहरु पैसाको पछि हिड्नु वीपीको सिद्धान्तविपरित हो।’
वीपीले विचारका भरमा बललाई पराजित गरेको प्रसंग उल्लेख गर्दै उनले आफुहरु पनि विचारको राजनीतिलाई पार्टीमा पुनः प्रवेश गराउने अभियानमा देश दौडाहामा रहेको बताए।
कार्यक्रममा कांग्रेस नेता गोविन्दराज जोशीले वर्तमान नेतृत्वले स्वार्थका लागि सिद्धान्त र आदर्श त्याग गरेको आरोप लगाए। ‘पार्टीमा बिना पैसा केही नहुने अवस्था आएको छ,’ उनले भने,‘मन्त्री, सांसद वा पदाधिकारी बन्न पैसा खर्च गर्नु बिडम्बना हो।’ उनले वीपी समर्पणविरोधी भएपनि अहिले नेतृत्वले विभिन्न नाममा समर्पण गर्दै आएको दाबी गरे।