दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि जुत्ता प्रहारः मोदीमाथि आरोप
नयाँदिल्लीः दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि रोहतकमा आयोजित एक आमसभामा आइतबार जुत्ता प्रहार गरिएको छ । यद्यपि जुत्ताले केजरीवाललाई लागेन ।
केजरीवालले आफूमाथि जुत्ता प्रहार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गराएको भन्दै आरोप लगाएका छन् । घटनालगत्तै ट्विटमार्फत उनले घटनामा मोदीले आफ्नो लोकप्रियताबाट त्रसित भएर जुत्ता प्रहार गर्न खोजेको दाबी गरे ।
उनले ट्विट गर्दै भने, ‘मैले मोदीजी कायर छन् भनेको थिएँ । उनले आफ्ना चाटुकारमार्फत् जुत्ता हाने । मोदीजी, हामी पनि जुत्ता प्रहार गर्न सक्छौं तर हाम्रो संस्कार र विवेकले यस्तो गर्न दिँदैन ।’
उनले यसको सबै दोष मोदीमाथि लगाए । मोदी असफल भएकाले यस्तो आक्रमण गर्न लगाएको उनको भनाइ छ । आफूमाथि जुत्ता प्रहार गराइयोस् वा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत छापा मारियोस्, यस्ता कुराले आफूलाई कुनै फरक नपर्ने उनको दाबी छ ।
नोटबन्दी घोटाला र सहारा, बिडला घुसखोरीको सबै जानकारी आफूलाई भएको भन्दै त्यसको भण्डाफोर गर्ने दाबी पनि गरे ।
उक्त सभामा प्रधानमन्त्री मोदीका विरुद्ध प्रमाण पेश गर्ने पनि दाबी गरे ।
यद्यपि उनले त्यस्तो कुनै प्रमाण भने पेश गर्न सकेनन् । त्यसका लागि उनले एउटा अनौठो व्यवहार देखाए । कार्यक्रममा प्रतिकात्मक रूपमा एउटा बाकस बनाएर मोदीको तस्बिर राखिएको थियो ।
त्यसमा ‘नरेन्द्र मोदीको तिजोरी’ लेखिएको थियो । त्यो बाकसमाथि केजरीवालले हतौडाले फोरेर खोले र त्यसमा रहेको फाइल खोल्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रष्टाचारविरुद्धको प्रमाण भएको बताए । एजेन्सी