उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

लामो समयदेखि हिमपात नभएको दोलखामा आइतबार हिउँ परेपछि स्थानीय एवं पर्यटन व्यवसायी खुसी भएका छन् । जिल्लाका कालिन्चोक, जिरीको च्योर्दुङडाँडा, सैलुङ, खरीढुंगालगायतका स्थानमा हिउँ परेको र गाउँगाउँमा असिनासहितको पानी परेको जिल्ला प्रहरी कार्यालय दोलखाको जनाएको छ । हिउँ परेसँगै अंग्रेजी नयाँ वर्ष मनाउन दोलखा आएका पर्यटक उत्साहित भएका छन् ।

राजधानीबाट नयाँ वर्ष मनाउन दोलखा आएका विवेक श्रेष्ठ हिउँ पर्दा आफू निकै खुसी भएको बताउँछन् । दोलखा आउँदा एक्कासि हिउँ परेपछि यात्रा रोमान्चक भएको उनको भनाइ छ । चरीकोटमा भेटिएका पर्यटक नारायण ठकुरी पनि हिउँ खेलेर मात्र राजधानी जाने सोचमा छन् । दोलखामा पछिल्लो समय आन्तरिक पर्यटकसमेत नयाँ वर्ष मनाउन उल्लेख्य संख्यामा आउने गरेका छन् ।

पछिल्लो केही वर्षयता अंग्रेजी नयाँ वर्षको अवसरमा दुई-तीन दिनसम्म होटेल बुक हुने गरेको होटेल ह्वाइट हाउसका सञ्चालक किशोर नेपालीको भनाइ छ । राजधानीलगायत बाहिरी जिल्लाबाट समेत दोलखामा नयाँ वर्ष मनाउन पर्यटक आउने गरेको उनले जानकारी दिए ।

यस्तै चरीघ्याङमा रहेको होटेल प्रिन्सका सञ्चालक कुमार बस्नेतले पनि होटेल बुकिङ राम्रो भएको बताए । उनले आफ्नो होटेलमा आन्तरिक पर्यटक बढी आउने गरेको जानकारी दिए । नयाँ वर्षसँगै हिउँ परेपछि धेरै पर्यटक हिउँ खेल्न कालिञ्चो तर्फ लागेको होटेल सञ्चालक बस्नेतको भनाइ छ । यसैबीच कालिञ्चोकको कुरीमा सञ्चालनमा रहेको कालिञ्चोक कन्ट्री भिल्लाका सञ्चालक ग्याल्बो लामाले पर्यटक धेरै मात्रामा कालिञ्चोक आएको जानकारी दिए ।

उनले आफ्नोलगायत धेरैको होटेल भरिभराउ रहेको बताउँदै सबैलाई हिउँ खेल्न निम्तोसमेत दिएका छन् । धेरै समयपछि हिउँ परेको हुँदा पनि पर्यटक बढी नै खुसी भएको लामाको भनाइ छ । यस्तै पर्यटकीय नगरी जिरीमा पनि पर्यटकहरू भरिभराउ रहेको स्थानीय मकर तामाङले जानकारी दिए ।

हिमपातसँगै जनजीवन कष्टकर

हिमपात भएसँगै दोलखाको जनजीवन कष्टकर भएको छ । भूकम्पले घर भत्काएपछि टहरामा बस्दै आएका दोलखाका भूकम्पपीडित हिउँसँगै पानी परेपछि चिसोमा कठ्यांग्रिएका छन । जिल्लाका उच्च भेगमा रहेको स्थानीय प्रभावित भएका हुन् ।

गोरखामा पनि हिउँ

गोरखा: हिमाली तथा उच्च पहाडी भेगका १४ गाविसमा हिमपात भएको छ । शनिबार साँझदेखि हिउँ पर्न थालेको सामागाउँ ९ साम्दोका निमा दोर्जे लामाले जानकारी दिए । उनका अनुसार साम्दोमा आइतबार दिनभर आधा फिट बाक्लो हिउँ परेको उनले बताए । हिउँ पर्न थालेपछि स्थानीयबासी खुसी भएका छन् । 'शनिबार साँझ पाँच बजेदेखि हिउँ पर्न सुरु भएको हो', उनले भने, 'रातभरि पनि पर्‌यो, आइतबार दिनभरि पनि पर्‌यो ।'

हिउँ पर्न थालेपछि स्थानीयवासी घरको धुरीमा जमेको हिउँ फाल्न व्यस्त रहेको उनले बताए । 'हाम्रो गाउँतिर त माटोको छाना हुन्छ । हिउँ जमिरह्यो भने घरभित्र पानी चुहिन्छ । त्यसैले रातभरि हिउँ पर्छ, बिहान उठेदेखि सबैजना हिउँ सोहोर्न व्यस्त छन् ।' आइतबार दिनभरि सामागाउँ, ल्हो र छेकम्पारका गाउँमा हिउँ परेको स्थानीयले बताएका छन् । त्यसभन्दा तलका प्रोक, बिही, चुम्चेत, सिर्दिबास, केरौंजा, उहिया, लाप्राक, गुम्दा, बारपाकका लेक पनि हिउँले भरिएका छन् ।

भूकम्पपीडितको बिजोग

बनेपाः ढुंखर्क गाविसको नारायणस्थानमा हिमपात भएसँगै टहरामा बस्दै आएका भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ । आइतबार बिहानदेखि परेको पानीसँगै दिउँसोबाट हिउँ परेपछि जनजीवन प्रभावित भएको हो ।

ढुंखर्क गाविस ८ का स्थानीय विनोद तिमल्सिनाले गेलदुङ, नारायणथानलगायतका स्थानमा दुई फिटसम्म परेको बाक्लो हिउँले भूकम्पपीडित समस्यामा परेको गुनासो पोखे । 'छाप्रो र टहराबाट निस्कन सकिएको छैन । लगाएको बाली हिउँले पुरियो', स्थानीय शिक्षक गोविन्द शर्माले भने, 'एक्कासि बढेको चिसोले जनवीवन प्रभावित भएको छ । टहरामा आगो बालेर जीवन निर्बाह गरिरहेका छन् ।'

आसपासका गाविस र नगरका स्थानीय र पर्यटक भने हिउँ खेल्न बेथानचोक नारायणथान आएको स्थानीय अग्नि तिमल्सिनाले जानकारी दिए । ढुंखर्कस्थित नारायणस्थान समुन्द्री सतहबाट ३ हजार २१ मिटरको उचाइमा माहाभारतको लेकमा अवस्थित छ ।

म्याग्दी र मुस्ताङमा हिमपात

बेनीः अत्यधिक चिसोसँगै आइतबार दिउँसो म्याग्दी र मुस्ताङको अधिकाँश भू–भागमा हिउँ परेको छ । हावाहुरीसहितको वर्षापछि मुस्ताङका १२ वटै गाविसमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, घमी, चर्राङ, छोन्हुप र सुर्खाङ गाविससहित मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, कोबाङलगायतका गाविसमा एक फिटसम्म हिउँ जमेको मुस्ताङका सञ्चारकर्मी निरज थकालीले जानकारी दिए ।

उनका अनुसार अत्यधिक चिसोका कारण जोमसोममा सर्वसाधारण समूह बनाएर आगो ताप्न थालेका छन् । हिउँसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई सास्ती भएको छ । चिसोबाट वृद्धवृद्धा र बालबच्चा बढी प्रभावित भएका छन् । हिउँ पर्ने क्रम सुरु भएकाले पर्यटकलाई बस्तीभन्दा टाढा नजान आग्रह गरिएको प्रहरी नायब उपरीक्षक हरिहर योगीले बताए । 'केही दिनदेखि चिसो बढेको थियो ।

उच्च हिमाली भेगमा हिमपात
विदुरः जाडोयामसँगै दुई दिनदेखि पानी परेका कारण नुवाकोट र रसुवाको उच्च भेगमा चिसो बढेको छ । चिसो बढेर हिमपात हुन थालेपछि जनजीवन प्रभावित भएको छ ।

चिसो र हिमपातले भूकम्पपीडित चोक तथा घरभित्र बसेर आगो बालेर न्यानो लिइरहेका छन् । चिसो बढेको कारण नुवाकोट र रसुवाका दुई दर्जनभन्दा बढी पर्यटकीय स्थानमा आइतबार हिमपात भएको छ ।

रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात भएको रसुवाका पर्यटन व्यवसायीले जानकारी दिए । गोसाइकुण्ड पद मार्गमा रहेको चोलाङपाटीदेखि हिमपात भएको छ । लाङटाङ, क्यान्जिङ तथा गणेश हिमाल आसपासको भ्रमणमा पुगेका विदेशी पर्यटक फर्कने क्रममा छन् ।

नुवाकोटको ककनी, सिक्रे, सामरी, भाल्चे, काहुले, घ्याङफेदी, उर्लेनी, चिम्टेश्वर तथा रसुवाको लाङटाङ, गत्लाङ, तथा गोसाइकुण्ड क्षेत्रमा अत्याधिक चिसो बढेको छ ।

नुवाकोटको विदुरको तापक्रम आइतबार बेलुकी ११ डिग्री सेन्टिग्रेडमा झरेको छ । अन्य स्थानमा समेत हिमपातको सम्भावना रहेको स्थानीयवासीले बताए ।

शनिबार बेलुकीदेखि नुवाकोट र छिमेकी जिल्ला रसुवामा निकै चिसो महसुस भएको छ । शनिबार बेलुकीदेखि नुवाकोट र रसुवाका केही भेगमा पानी परिरहेको छ । रसुवाको उच्च भेगमा हिमपात भइरहेको भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.